काठमाडौँ। ‘अन्तर-विधा’ मार्फत रिमा केसीको कविता संग्रह वगावतनामामाथि विमर्श गरिएको छ।
यसमा प्रेम र विद्रोहका बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषय छन्। यहाँ चिया मजदुरजस्ता अगोचर दुःखीजनका उहापोह समेटिएका छन्। हार्दिक प्रेमको अपरिमित आह्वान। विद्रोहको दुन्दुभि। सामाजिक विभेदका अनेक कुव्यवस्थाविरुद्धका ललकार। अन्य नरमकरम भावको प्रकटीकरण। अध्ययन, अवलोकन, अनुभूति र अनुशीलनका तहगत माध्यमबाट खारिएर अन्तस्करणबाट कविता जन्माएकी छन् उनले। यस अर्थमा हाम्रा समाजका अनेक परिघटनाका साक्षी कविताझैँ लाग्छन्। साथै विद्यमान निकृष्टताविरुद्धको सम्झौताहीन प्रहार पनि हो यो संग्रह।
संग्रहबारे अभियन्ता तथा लेखक राधा पौडेलले भनिन्‚ “हामीलाई कहिले हिंसात्मक बलात्कार गर्छन्, कहिले भावननात्मक बलात्कार गर्छन्। राजनीतिक घोषणापत्रसमेत महिलाका विषयमा मौन रहेको योबेला यी कविताले छुटेका यस्तै विषयलाई समेटेको छ।” यी कविताले छद्म चरित्रका मान्छे र प्रवृत्तिको प्रतिवाद गरेका छन्। कविताले समाजमा रहेका विभेद, क्रूरताको विरोध मात्र गर्दैनन्, विभेदरहित समाजको लागि अपिल पनि गर्छन्।
त्रिविमा प्राध्यापनरत हेम भण्डारीको हेराइमा यी कविताले परम्परागत लेखन मान्यतालाई भत्काएर प्रतिरोधलाई कविताको नयाँ शैली र सौन्दर्यका रुपमा स्थापित गरेका छन्। परम्परागत व्याकरण नै भत्काइदिएका छन् यी कविताले। दोहोरो चरित्रमा बाँचेका, विषाक्त पितृसत्ता तथा सामाजिक विभेदका वाहकलाई कविताबाटै चुनौती दिएकी छन् कवि रिमाले। उनको अभिव्यक्ति साधारण छ तर व्यंग र कटाक्ष मिश्रित यी कविता बडो असरदार छन्। वगावतनामा शीर्षकको सार्थकता राम्ररी झल्कन्छ।

संग्रहका कविताबारे कवि लक्ष्मी रुम्वाले थपिन्, “यी कविताले तल्लो तहमा रहेका तथा वर्गीय उत्पीडनको पिँधमा रहेकाप्रति देखाएको समभाव कम अत्यन्तै गाढा छ। बारम्बार पढ्दा पनि कम हुँदैन।” सामाजिक घटनाको सूक्ष्म अवलोकनमा आफ्नै अनुभूति मिसाएर लेख्छिन् कवि रिमा। आक्रोश त पोखिएका छन् यहाँ तर अतिरञ्जित लाग्दैन। लोभलाग्दो लाग्छ उनको साधारण शब्द चयन तर सशक्त अभिव्यक्ति।
कार्यक्रममा सहजीकरण गर्दै गणेश खनियाले वक्तात्रयसँग संक्षिप्त प्रश्न राखेका थिए। बीचबीचमा दर्शकदीर्घाबाट कवि रिमा तथा तीन वक्तालाई प्रश्न पनि सोधिएका थिए। कार्यक्रमको अन्त्यमा कवि रिमाले आफ्नो पहिलो कृति यात्रामा अक्षरबाट एउटा कवितासमेत वाचन गरेकी थिइन्।