काठमाडौँ। धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौँ प्रवेश गरेको छ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ताले काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन्।
अभियानमा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार वरुण अमात्यसँगै स्थानीय बासिन्दाको पनि सक्रिय सहभागिता छ। अमात्यका अनुसार पार्टीको श्रम संस्कृति र नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान सञ्चालन गरिएको हो। पार्टीले यस अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिएको छ।
काठमाडौँ क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको बताउँदै उनले हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको जानकारी दिए। यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध समाजका लागि गरिएको र निरन्तर चलिरहने उनले बताए।
पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि आगामी दिनमा सरसफाइ अभियानमा जोड्ने प्रयास भइरहेको अमात्यले जानकारी दिए। साथै आगामी निर्वाचनका लागि हर्कले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीबाट चुनाव लड्न लागेका हुन्।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
