नयाँदिल्ली। भारत सरकारले नेपाललाई दिने विकास सहायता रकम बढाएको छ। आज (आइतबार) सार्वजनिक गरिएको केन्द्रीय बजेटमा ‘छिमेक पहिलो’ नीतिअन्तर्गत भारतले नेपाललाई उपलब्ध गराउने अनुदान रकम अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँ बढाएको छ।
केन्द्रीय वित्तमन्त्री निर्मला सिथारमणले आइतबार संसद्मा प्रस्तुत गरिएको बजेटमा नेपाललाई दिइने सहयोग रकम ८०० करोड भारतीय रुपैयाँ रहेको उल्लेख छ।
सहयोग वृद्धिले पूर्वाधार, सीमा क्षेत्रमा विकास परियोजना र सामाजिक क्षेत्रमा भारत-नेपाल सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ। भारतको यो निर्णयलाई नेपाल-भारत विकास साझेदारी निरन्तरताको संकेतका रूपमा हेरिएको छ।
भारतले नेपालसहित भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम बढाउँदा बंगलादेश, माल्दिभ्स र म्यानमारको भने घटाएको छ। बंगलादेशको अनुदान आधाले घटाएर ६० करोडमा सीमित गरिएको छ।
नेपालसँगै श्रीलंकालाई पनि भारतले १०० करोड रुपैयाँ थप गर्दै कुल ४०० करोड भारतीय रुपैयाँ छुट्याइएको छ। भारतको विदेश मन्त्रालयको समग्र बजेट अघिल्लो वर्षको तुलनामा केही बढाउँदै यस वर्ष २२‚११८.९७ करोड रुपैयाँ पुगेको छ।