प्रतिनिधिसभा निर्वाचन
पुरानाको गढमा नयाँको धावा
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी नेपालको सीमावर्ती जिल्ला झापामा उत्साह चुलिएको छ। झापाका पाँचवटा निर्वाचन क्षेत्रका लागि कूल ९० जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसमा १७ जना स्वतन्त्र उम्मेदवार छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी उम्मेदवारी झापा–५ मा परेको छ। यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित २४ जना चुनावी प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर १ मा सबैभन्दा कम १५ जनाले उम्मेदवारी दिएका छन्। झापा–२ मा १८ जना, झापा–३ मा १७ जना र झापा–४ मा १६ जनाको उम्मेदवारी परेको छ।
जिल्लामा कूल ७ लाख १३ हजार ५३७ मतदाता छन्। तिनमध्ये ५० हजार २२६ जना नयाँ मतदाता हुन्। जिल्लामा जम्मा २८५ मतदान स्थल तोकिएका छन्।
झापा–१ : डाँगीको उपस्थितिले त्रिकोणात्मक प्रतिस्पर्धा
२०७९ सालको निर्वाचनमा ३९ हजार ६२४ मतसहित विजयी भएका नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक चुनाव नलड्ने घोषणा गरेपछि झापा–१ मा नयाँ अनुहारको खोजी स्वाभाविक देखिएको छ। शर्माले एमालेका अग्निप्रसाद खरेललाई पराजित गरेका थिए। खरेलले २५ हजार ३४९ मत पाएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वसांसद निशा डाँगी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अशेष घिमिरे र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट केवलराम राई चुनावी मैदानमा छन्।
यसपटक कांग्रेसले जिल्ला उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ भने एमालेले रामचन्द्र उप्रेतीलाई अघि सारेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वसांसद निशा डाँगी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अशेष घिमिरे र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट केवलराम राई चुनावी मैदानमा छन्।
विघटित प्रतिनिधिसभाकी सबैभन्दा कान्छी समानुपातिक सांसद डाँगीका लागि यो पहिलो प्रत्यक्ष निर्वाचन हो। उनको उपस्थितिले झापा–१ लाई स्पष्ट रूपमा त्रिकोणात्मक प्रतिस्पर्धातर्फ धकेलेको छ।
झापा–१ मा १ लाख ३१ हजार ६७ मतदाता छन्।
झापा–२ : ‘हेभिवेट’ भिडन्त
झापाका पाँच निर्वाचन क्षेत्रमध्ये स्थानीयस्तरमा सबैभन्दा बढी चहलपहल क्षेत्र नम्बर २ मा देखिएको छ। यहाँ विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर प्रत्यक्ष निर्वाचनमा आमनेसामने छन्। घिमिरे एमालेबाट र रानामगर रास्वपाबाट उम्मेदवार बनेकी छन्।
दुवै जना दोस्रोपटक सांसद बन्ने दौडमा भए पनि प्रतिस्पर्धाका कारण अबको संसदमा दुईमध्ये एक मात्र पुग्नेछ।
यो क्षेत्रमा तीन महिला र दुई अधिवक्तासहित ‘हेभिवेट’ उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिने घिमिरेले २०७९ सालको निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर जित निकालेका थिए। उनका निकटतम प्रतिस्पर्धी अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले २६ हजार ४५५ मत पाएका थिए। यसपटक नेपाल राप्रपाबाट पुनः मैदानमा छन्।
यो क्षेत्रमा तीन महिला र दुई अधिवक्तासहित ‘हेभिवेट’ उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाली कांग्रेसबाट पूर्वसांसद सरिता प्रसाईं र नेकपाबाट पूर्वमन्त्री धर्मशीला चापागाईं पनि यही क्षेत्रबाट उम्मेदवार छन्। चापागाईंले २०६४ सालमा यही क्षेत्रबाट निर्वाचन जितेकी थिइन्।
स्वतन्त्र उम्मेदवारका रूपमा चर्चित अधिवक्ता युवराज संग्रौलाको उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ। रास्वपाकी रानामगर र कांग्रेसकी प्रसाईं पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन्।
१ लाख ४७ हजार ५२२ मतदाता रहेको यस क्षेत्रमा १३ हजार ४३१ नयाँ मतदाता थपिएका छन्।
झापा–३ : लिङ्देनलाई गठबन्धनबिना जित निकाल्ने चुनौती
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र मानिने झापा–३ मा यसपटक एमाले–राप्रपा तालमेल टुटेको छ। लिङ्देनविरुद्ध एमालेले हरि राजवंशीलाई उम्मेदवार बनाएको छ। कांग्रेसले राजेन्द्र घिमिरे र नेकपाले डिल्लीराम घिमिरे (हिक्मत) लाई मैदानमा उतारेको छ।
रास्वपाका प्रकाश पाठक पनि दोस्रोपटक प्रतिस्पर्धामा छन्। उनले अघिल्लो निर्वाचनमा तेस्रो स्थानका लागि ३ हजार ४६१ मत पाएका थिए।
२०७९ सालमा लिङ्देन एमालेसँगको गठबन्धनबाट ४० हजार ६६२ मत प्राप्त गरी लगातार दोस्रोपटक निर्वाचित भएका थिए।
एक्लै चुनाव लडेका कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मत पाएका थिए। २०७९ सालमा लिङ्देन एमालेसँगको गठबन्धनबाट ४० हजार ६६२ मत प्राप्त गरी लगातार दोस्रोपटक निर्वाचित भएका थिए।
१ लाख ४० हजार ८५७ मतदाता रहेको यस क्षेत्रमा यसपटक त्रिपक्षीय भिडन्तको आकलन गरिएको छ। यहाँ ९ हजार ४०० नयाँ मतदाता थपिएका छन्।
झापा–४ : एमालेको गढ भत्काउने कसरत
एमालेको ‘लालकिल्ला’ मानिने झापा–४ मा १६ जना उम्मेदवार छन्। यहाँ एमालेका लालप्रसाद साँवा लिम्बू जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। उनलाई कांग्रेसका जिल्ला सभापति देउमान थेबेले लगातार तेस्रोपटक चुनौती दिएका छन्।
२०७९ सालको निर्वाचनमा साँवाले २९ हजार ३१५ मतसहित जित्दा थेबे २२ हजार ४४८ मतमा सीमित भएका थिए। त्यही निर्वाचनमा रास्वपाका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत ल्याउँदै तेस्रो शक्तिका रूपमा उपस्थिति जनाएका थिए। ढकाल यसपटक पनि मैदानमा छन्।
यो क्षेत्रमा १ लाख ३० हजार ७१२ मतदाता छन्।
झापा–५ : परीक्षामा ओली र बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवारी दिन ६ माघमा दमक चोक पुग्दा देखिएको दृश्य। तस्बिर: विवेक गौतम
झापा–५ मा एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता बालेनबीचको प्रतिस्पर्धाले देशभर ध्यान तानेको छ। यो क्षेत्रलाई प्रतिस्पर्धाभन्दा प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ।
२०७९ सालको निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत ल्याएर जित निकालेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ र रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए।
ओली–बालेनको चर्चाबीच अन्य उम्मेदवार ओझेलमा परे पनि नेपाली कांग्रेसले यसपटक मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ।
ओली–बालेनको चर्चाबीच अन्य उम्मेदवार ओझेलमा परे पनि नेपाली कांग्रेसले यसपटक मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ। चारवटा पालिका पर्ने यस क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता छन्। यसपटक ९ हजार ९० नयाँ मतदाता थपिएका छन्।
समग्रमा, झापाका पाँचै निर्वाचन क्षेत्रमा पुराना शक्ति र नयाँ उदयमान दलहरूबीच कडा टक्कर देखिएको छ।