काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

चुनावी माहोल

देशको विकासका लागि नेतृत्व लिन कांग्रेस तयार

२० माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन्।

नागरिकको अपेक्षाअनुसार पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए। “कांग्रेससँग नागरिकका गुनासा छन्,” उनले भने, “अपेक्षा झन् धेरै छन्। नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौँ।”

आमनिर्वाचन २०८२ का लागि देश विकासको भिजन समेटिएको घोषणापत्र तयार हुँदै गरेको भन्दै उनले यसले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्ग चित्र तय गर्ने बताए।

“नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दै छौँ,” उनले भने,“तपाईं सबैको साथको अपेक्षा गरेका छौं।”

देशैभर कांग्रेस उम्मेदवारहरू चुनावी मैदानमा अघि बढिरहेको भन्दै उनले फेरिएको नीति र नेतृत्व दुवैले नयाँ ऊर्जा दिएको बताए।

महामन्त्री पौडेलले काठमाडौं ५ को सांसदका रूपमा आफूले विगतमा इमानदार भएर क्षेत्र र राष्ट्रको विकास तथा नीति निर्माणमा काम गरेको भन्दै विगतमा आफूले थालेका असल अभ्यासको निरन्तरता दिँदै अझ धेरै काम गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको बताए।