२४ माघ २०८२
अ+
अ-

बाँके। लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई-ड्राइभ नेपाल’ले नेपालगन्जमा औपचारिक रूपमा आफ्नो सेवा आरम्भ गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले शनिबार यो सेवाको आरम्भ गरे। सेवा बाँके र बर्दियामा सुरु भएको हो।

यस अवसरमा नगरप्रमुख विष्टले भने‚ “प्रविधिमैत्री यस्ता सेवाले सहरको यातायात सेवालाई सहज बनाउनुका साथै नागरिकलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास छ।” नेपालगन्जमा सुरु गरिएको विद्युतीय ट्याक्सी सेवाले आफ्नै देशमा काम गर्ने वातावरण सिर्जना गरेको उनले बताए।

अठार महिनाअघि बुटवल-भैरहवा क्षेत्रबाट सुरु गरिएको ई-ड्राइभ सेवा अब बाँकेको प्रमुख सहर नेपालगन्जमा विस्तार गरिएको ई-ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए। उनका अनुसार शनिबारदेखि बाँके र बर्दियामा एकसाथ ई-ड्राइभ नेपालको सेवा विस्तार भएको छ।

निर्देशक भण्डारीले भने‚ “समयअनुसार सेवा प्रणाली प्रविधियुक्त डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित‚ सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा सेवा सञ्चालनमा ल्याएका हौँ।”

कार्यक्रममा ई-ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरु गरिएको बताए। उनले भने‚ “युवालाई विदेश जान बाध्य पार्नुको सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो। आगामी दिनमा ई-ड्राइभ सेवालाई देशभर विस्तार गर्ने योजना बनाएका छौँ।”

हाल ई-ड्राइभ लुम्बिनीले सात करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। हाल रूपन्देहीमा ११० ट्याक्सी तथा पाँच सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई-ड्राइभले नेपालगन्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको ई-ड्राइभ लुम्बिनीका निर्देशक भण्डारीले बताए।