इटहरी। कोसी प्रदेशमा जलवायु परिवर्तन‚ वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्यसहित कोसी प्रदेशस्तरीय जलवायु कार्य र न्याय सञ्जाल गठन गरिएको छ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को समन्वयमा गठन भएको यस सञ्जालले प्रदेशभर क्रियाशील विभिन्न सामाजिक संघ-संस्थाहरू‚ अभियन्ता तथा सरोकारवालाहरूलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य लिएको छ।
जलवायु परिवर्तनका असरहरू‚ बढ्दो प्रदूषण‚ अव्यवस्थित फोहोर व्यवस्थापन‚ स्वच्छ हावाको अभाव तथा वातावरणीय अन्यायका विषयहरूलाई प्राथमिकतामा राख्दै सञ्जालले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी पहल गर्ने जनाइएको छ। यस सञ्जालको मुख्य उद्देश्य वातावरणीय संरक्षण‚ दिगो फोहोर व्यवस्थापन‚ स्वच्छ हावा प्रवर्द्धन र जलवायु न्यायका मुद्दामा वकालत गर्नुका साथै‚ जलवायु कार्य र न्यायसँग मेल खाने गतिविधिहरूलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म प्रवर्द्धन गर्नु हो।
सञ्जालले आफ्ना सदस्य संस्थाहरूको मूल कार्यक्षेत्र जेसुकै भए पनि‚ उनीहरूका गतिविधिहरूमा वातावरणीय सचेतना र जलवायु जिम्मेवारीलाई समाहित गर्ने दिशामा काम गर्नेछ। यसले विभिन्न क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय बढाउने‚ साझा अभियानहरू सञ्चालन गर्ने तथा समुदायस्तरमा जलवायु सचेतना विस्तार गर्ने अपेक्षा गरिएको छ।
बैठकमार्फत सञ्जालको प्रदेशस्तरीय समिति समेत गठन गरिएको छ। समितिको संयोजकमा लखनलाल साह चयन भएका छन्। समितिका सदस्यमा चन्द्रमणि गुरागाईं‚ किरण घिमिरे‚ रक्षा सिंह‚ लोकबहादुर विष्ट‚ इन्द्रमाया विश्वकर्मा‚ सुजाताकुमारी देव‚ अनिता खतिवडा‚ जामुना कोइराला सिग्देल‚ मालती विश्वकर्मा तथा सुमन कार्की छन्। विविध पृष्ठभूमिका व्यक्तिको सहभागिताले सञ्जाललाई समावेशी र बलियो बनाउने विश्वास गरिएको छ।
सञ्जाल गठनको बैठक क्लिन अप नेपालका कार्यकारी निर्देशक रवीन्द्र लामिछानेले सहजीकरण गरेका थिए। उनले जलवायु संकटको वर्तमान सन्दर्भमा यस्ता सञ्जालहरूको आवश्यकता झन् बढ्दै गएको उल्लेख गरे।