व्यक्तिवृत्त

गत विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध एक रनको हारलाई बिर्सिएर पुनः उत्कृष्ट प्रदर्शन गर्ने मौका

२४ माघ २०८२
दक्षिण अफ्रिकासँग विश्वकपमा पराजित भएपछि गुल्सनलाई सान्त्वना दिँदै सोमपाल कामी (जर्सी नम्बर १०)। तस्बिर : आईसीसी
अ+
अ-

गत विश्वकपमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जितको नजिक थियो, नेपाल। त्यतिबेला नेपाललाई जितका लागि अन्तिम बलमा दुई रन आवश्यक थियो। एक रन मात्र चोरे सुपर ओभरमा प्रवेश गर्ने मौका रहेको अवस्थामा ‘स्ट्राइक इन्ड’ मा रहेका १८ वर्षीय गुलसनकुमार झाको दिमागमा एउटै कुरा खेलिरहेको थियो – ब्याटमा बल लागोस् कि नलागोस् रनका लागि दौडिहाल्ने।

समूह चरणको यस खेलमा दक्षिण अफ्रिकाबाट अन्तिम बल फ्याँकिरहेका थिए, तीब्र गतिका बलर ओट्नियल बार्टम्यान। बलिङ रन–अपमा उभिँदा उनले गुलसनकुमारलाई एकटकले हेरे। यसपछि अन्तिम बल बाउन्स फ्याँके। जुन गुलसनको ‘रेन्ज’ मा परेन। सिधै अफ्रिकी विकेटकिपर क्वान्टन डि’कोकको ग्लोब्समा पुग्यो।

यतिबेला गुलसनले पछाडि फर्किएर हेर्ने आवश्यकता बोध गरेनन्। किनभने उनलाई प्रस्ट थाहा थियो – एक रनले खेलको पासा पल्टिन सक्छ। उनी नन–स्ट्राइकर इन्डतर्फ दौडिए। तर, अफ्रिकी विकेटकिपरले आफू नजिकैको स्टम्पमा नहानेर गुलसन दौडिएकै नन–स्टाइकर इन्डमा बल फ्याँके। त्यो बल उनीसँगै ठोक्किएर स्टम्प नजिकै उभिएका हेनरिख क्लासेनको हातमा पुग्यो। यसपछि जे भयो– त्यो घटनालाई गुलसनले अहिलेसम्म भुल्न सकेका छैनन्। उनी रन पूरा गर्ने चक्करमा ‘मिली सेकेन्ड’ ले चुके। रन आउटको त्यो घटना सम्झँदा अहिले पनि भन्ने गर्छन्, “जित्नैपर्ने खेल थियो। म विश्वस्त पनि थिएँ। हातमै आइसकेको खेल गुम्यो। अब यस्तो मौका जुर्ला नजुर्ला।”

सन् २०२२ को विश्वकपका लागि गुलसनको छनोट त्यत्तिकै भएको थिएन। नेपाललाई एक दशकपछि विश्वकप पुर्‍याउने यात्रामा गुलसनले देखाएको प्रदर्शनबाट मुख्य प्रशिक्षक मोन्टी देसाई निकै प्रभावित थिए। आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्ध सेमिफाइनलमा गुलसन तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका थिए। स्कोरबोर्डमा देखिएको २२ रन त्यति ठूलो त होइन। तर, उनको त्यही प्रदर्शनले नेपाललाई लामो समयपछि शीर्षक्रममा स्थिरता दिलाएको थियो। यसपछि आसिफ शेखले ६४ रनको महत्त्वपूर्ण योगदान गरे। कप्तान रोहितकुमार पौडेलले पनि अविजित ४३ रन बनाए। यो खेलमा यूएईलाई आठ विकेटले पराजित गरेको नेपाल सन् २०१४ पछि दोस्रोपल्ट विश्वकपका लागि छनोट भयो।

क्यानडाविरुद्ध ब्याटिङ गर्दै गुलसनकुमार झा । तस्बिर : क्यान

प्रतियोगिताको फाइनलमा गुलसनले आफू महत्त्वपूर्ण खेलका लागि जन्मिएको प्रमाण दिए। ओमानविरुद्ध उनले २५ बलमै ५ चौका र ४ छक्काको मद्दतले ५४ रनको विस्फोटक अर्धशतकीय इनिङ खेले। बलिङतर्फ पनि एक विकेट झारे। यद्यपि, त्यो खेल सुपर ओभरमा पुग्यो र दुर्भाग्यवश नेपाल उपाधिबाट वञ्चित भयो। तर, गुलसनको लय, आत्मविश्वास र सिक्ने क्षमताबाट देसाई निकै प्रभावित भए। त्यसैले उनले टी–२० विश्वकपभन्दा पाँच महिनाअगाडि गुलसनलाई ५० ओभरको यू–१९ विश्वकप खेलेर अनुभव बटुल्ने अवसर प्रदान गरे।

यू–१९ विश्वकपमा लगातारको हारपछि उनी निकै दुविधामा थिए। तर, कप्तान रोहित र प्रशिक्षक देसाईले टी–२० विश्वकपमा उनको स्थानको सुनिश्चितता गरेपछि एक्कासि जुर्मुराए।

दक्षिण अफ्रिकामा भएको त्यो विश्वकपभन्दा अगाडि स्कटल्यान्डविरुद्ध वार्मअप खेलमा गुलसनले ११५ बलमा ११४ रनको सानदार शतक बनाए। त्यो इनिङले उनलाई दुवै भर्सनको खेलमा प्रभाव जमाउन सक्ने खेलाडीका रूपमा स्थापित गरायो। तर, उनले प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेनन्। बङ्लादेश, भारत, पाकिस्तान, आयरल्यान्ड र न्युजिल्यान्डजस्ता बलिया टोलीविरुद्ध गुलसनले कूल २५ रन मात्र बनाए। बलिङतर्फ ६ विकेट मात्र लिए।

यू–१९ विश्वकपमा लगातारको हारपछि उनी निकै दुविधामा थिए। तर, कप्तान रोहित र प्रशिक्षक देसाईले टी–२० विश्वकपमा उनको स्थानको सुनिश्चितता गरेपछि एक्कासि जुर्मुराए।

एक रनको त्यो हार

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएका १२ खेलमध्ये उनले ११ खेलमा नेपाललाई जिताउन कुनै न कुनै ठाउँबाट योगदान गरे। तर, विश्वकपमा खासै जम्न सकेनन्। यसमाथि दक्षिण अफ्रिकाविरुद्धको हार गुलसनका लागि झनै पीडादायी बन्यो। त्यो नेपालले हार्नुपर्ने खेल नै थिएन। दीपेन्द्रसिंह ऐरीले तीन विकेट र पार्ट–टाइम बलर कुशल भूर्तेलले चार विकेट लिइसकेको अवस्थामा नेपालले ११५ रनको झिनो योगफलमा रोकेको थियो, दक्षिण अफ्रिकालाई।

ब्याटिङतर्फ पनि नेपालले राम्रो सुरुआत गरेको थियो। अनिलकुमार साहले २७, कुशल भूर्तेलले १३ र आरिफ शेखले ४२ रन बनाउँदै नेपाललाई जितको नजिक पुर्‍याइसकेका थिए। ३० बल बाँकी हुँदा नेपाललाई जितका लागि २५ रन आवश्यक थियो भने हातमा सात विकेट बाँकी।

तर, तबरेज शम्सीको एउटै ओभरले खेलको दिशा मोडियो। १८औँ ओभरको तेस्रो बलमा ६ रनमा खेलिरहेका दीपेन्द्रसिंह ऐरी डी’ ककबाट क्याच आउट भए। ओभरको अन्तिम बलमा आरिफ शेख ४२ रनमा बोल्ड भए। जमेका यी दुई ब्याट्सम्यानको बहिर्गमनपछि खेल जिताउने जिम्मेवारी अचानक गुलसन र कुशल मल्लको काँधमा आयो।

यु–१९ विश्वकपमा भारतविरुद्ध विकेट लिएपछि ‘सेलिब्रेसन’ गर्दै गुलसन। तस्बिर : आईसीसी

कुशल पनि एनरिख नोर्ट्जेको बलमा १ रनमै बोल्ड भए। तल्लो क्रममा आएका सोमपाल कामीले नेपाललाई खेलमा फर्काउने प्रयास नगरेका होइनन्। १९औँ ओभरमा उनले नोर्ट्जेको स्लो बललाई करिब १०० मिटरभन्दा बाहिर पठाउँदै स्टेडियम कटाए। अर्को बलमा दुई रन जोडे।

नेपाललाई जितका लागि अन्तिम ओभरमा सात रन आवश्यक थियो। स्ट्राइक इन्डमा उभिएका थिए, उनै गुलसन। उनले बार्टम्यानको पहिलो बललाई कट गर्न खोज्दा ब्याटमा सम्पर्क नै गराउन सकेनन्। दोस्रो योर्कर बलमा कुनै प्रतिक्रिया दिन सकेनन्। तेस्रो वाइड योर्करलाई कभरमाथि प्रहार गर्दै चौका जोड्दा नेपाल इतिहास बनाउने मोडमा उभियो। नेपाललाई अन्तिम तीन बलमा चार रन आवश्यक थियो।

चौथो बलमा गुलसनले कभरको बायाँतिर बल पठाउँदै दुई रन जोडे। पाँचौँ बल भने छुनै सकेनन्। अन्तिम सटपिच बाउन्समा पुल गर्न नसक्दा बल सिधै विकेटकिपर डि’ ककतर्फ गयो। यसपछि जे भयो, त्यो माथि वर्णन भइसकेको छ।

श्रीलंकामा ब्याटिङ अभ्यासका क्रममा। तस्बिर : क्यान

इतिहास रच्न एक रनले चुक्दा गुलसन भुइँमा थचुक्क बसे। आँसु थाम्न सकेनन्। अर्को इन्डबाट सोमपाल उनलाई सम्हाल्न आए। त्यो क्षण सम्झिँदा गुलसन भन्ने गर्छन्, “त्यो बेला ड्राइभ हान्ने कि के गर्ने ? सोच्नै सकिनँ। एकदमै गाह्रो अवस्था थियो। सायद दिन नराम्रो थियो।”

तर, मैदान बाहिर गुलसनका प्रशंसकले प्रश्न उठाए– रन लिँदा बीचमा किन उभिएको? उनीमाथि गालीको वर्षा भयो। होटलको कोठा पुगेपछि उनले मोबाइल खोलेर हेर्ने आँट गर्न सकेनन्।

नेपाल पहिलो पटक यति ठूलो टोलीसँग जितनजिक पुगेर हार्‍यो। त्यो खेलले नेपाली टोलीमा अनुभवको कमी भएको स्पष्ट संकेत गर्‍यो। ठूलो खेलमा ठूला राष्ट्रका खेलाडीले एकै ओभरमा १८–२० रन बनाएर उपाधि जिताएका थुप्रै उदाहरण छन्। तर, अधिकांश समय एसोसिएट राष्ट्रसँग खेल्दै आएको नेपालले त्यति ठूलो दबाब थेग्नै सकेन।

टोलीले यही भन्दै चित्त बुझायो। तर, मैदान बाहिर गुलसनका प्रशंसकले प्रश्न उठाए– रन लिँदा बीचमा किन उभिएको? उनीमाथि गालीको वर्षा भयो। होटलको कोठा पुगेपछि उनले मोबाइल खोलेर हेर्ने आँट गर्न सकेनन्।

धन्न बुबाले सम्झाए। जित–हार खेलको हिस्सा हो भन्दै ढाड्स दिए। त्यही शब्दले गुलसनलाई फेरि मैदानमा उभ्याएको छ। अहिले गुलसन पूर्ण रूपमा फेरिएका छन्। तर, उनलाई त्यो हार भुल्न निकै गाह्रो भइरहेको छ।

यसपालिको विश्वकपअन्तर्गत समूह चरणको खेलमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध खेल्नुपर्ने छैन। अफ्रिकासँग पुरानो बदला लिन नेपालले जसरी पनि सुपर–८ मा स्थान बनाउन आवश्यक छ। त्यसका लागि नेपालले दुईपल्टको विश्वविजेता टिमहरू इङ्ल्यान्ड र वेस्ट इन्डिज, एसोसिएट राष्ट्र स्कटल्यान्ड र इटालीलाई समूह चरणको खेलमा हराउनुपर्नेछ।

एमसीए इलावेनविरुद्धको खेलमा । तस्बिर : क्यान

“बितिसकेको कुरालाई इतिहास भन्छन्। म त्यो कुरालाई सम्झिन चाहन्नँ। तर, यति मात्र भन्न सक्छु टी–२० क्रिकेटमा ठूलो र सानो कुनै टिम हुँदैन। गत विश्वकपमा सानो गल्ती भयो, यो पालि नहोला,” मुम्बई जानुअघि उनले भनेका छन्।

यसपालि गुलसनलाई ठूलो प्रतियोगिताका लागि आफू उपयुक्त खेलाडी भएको प्रमाणित गर्ने पुनः मौका जुरेको छ। टी–२० विश्वकपका खेलहरू शनिबारदेखि भारतको मुम्बईमा सुरु हुँदैछन्। यसका लागि नेपाल गत साता नै मुम्बई पुगेको छ भने राष्ट्रिय टोलीले वार्म–अप खेलमा यूएई र क्यानडालाई पराजित गरिसकेको छ। शुभकामना, गुलसनलाई! शुभकामना, टिम नेपाललाई!!