महेन्द्रनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था मजबुद बनाउन सुरक्षा निकायका उच्च तहबाट सुदूरपश्चिम प्रदेशमा अनुगमन थालिएको छ।
निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उच्च तहको नेतृत्व सुदूरपश्चिम पुगेको छ। सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक वंशिराज दाहाल आसन्न निर्वाचन लक्षित अनुगमनका लागि आज सुदूरपश्चिम आइपुगेका छन्।
उनी सुदूरपश्चिमका जिल्लाहरुमा पुगेर निर्वाचन सुरक्षाका विषयमा अनुगमन गर्नेछन्। सशस्त्र प्रहरी बल नंं ७ वैद्यनाथ वाहिनीले दिएको जानकारीअनुसार सङ्गठनको केन्द्रीय तहबाट निर्वाचन लक्षित अनुगमनका लागि अतिरिक्त महानिरीक्षक दाहाल यहाँ आइपुगेका हुन्।
निर्वाचन लक्षित सुरक्षा अवस्था बुझ्न दाहाल आजै डोटी जाने कार्यक्रम रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न यसअघि सशस्त्र प्रहरीले सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन बेससमेत स्थापना गरिसकेको छभने सुदूरपश्चिममा निर्वाचनका बेला पाँच हजार १०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन हुनेछन्।
त्यसैगरी एक साताअघि नै यहाँ नेपाल प्रहरीबाट पनि अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठ सुदूरपश्चिम आएर जिल्लागत रुपमा अनुगमन गरिरहेका छन्।
अतिरिक्त महानिरीक्षक श्रेष्ठले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी एइकाइमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशनात्मक सम्बोधन समेत गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। सुदूरपश्चिमका नौवटै जिल्लामा नेपाल प्रहरीले निर्वाचनका बेला सात हजारभन्दा बढी परिचालनको तयारी गरेको छभने हजारौँको सङ्ख्यामा यहाँ निर्वाचन प्रहरीसमेत परिचालन हुनेछ।
त्यसैगरी नेपाली सेनाले पनि सुदूरपश्चिमका सबै जिल्लामा निर्वाचन केन्द्रित सुरक्षा गस्ती थालिसकेको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायको भूमिका अत्यन्तै संवेदनशील हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उच्चपदस्थ अधिकारी प्रदेशमा खटाएको छ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर सुरक्षा व्यवस्था, तयारी तथा चुनौतीबारे स्थलगत रूपमा समीक्षा गर्दै निर्देशन दिने कार्यतालिका सुरक्षा निकायका अधिकारीहरुको रहेको छ। सुरक्षा निकायले यसअघि नै निर्वाचन सुरक्षा योजना बनाएर सबै जिल्लामा आफूलाई तयारी अवस्थामा राखेको छ। यहाँ सुरक्षाका दृष्टिकोणले मतदानस्थल सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागका राखिएको छ। एक हजार १७६ मतदानस्थल रहेको सुदूरपश्चिममा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थल छन्।