सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश निर्माण कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नहुने बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत धन्कौलमा बुधबार साँझ आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले देशलाई अगाडि बढाउन सबै राजनीतिक दल र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।
‘यदि एक व्यक्तिले देश बनाउन सक्ने भए, इतिहासमै राजामहाराजाले बनाइसक्थे,’ उनले भने, ‘देश सामूहिक सङ्कल्प र सहकार्यबाट मात्र अघि बढ्छ।’ उनले राजनीतिक दलहरूबीच सहमति र सहकार्यको वातावरण बनाउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गरे।
थापाले आफू सहज निर्वाचन क्षेत्र छाडेर सर्लाही आएको स्पष्ट पार्दै मधेशको यथार्थ बुझ्ने र यहाँका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। ‘काठमाडौँ–४ जस्तो बलियो आधार भएको क्षेत्र हुँदाहुँदै पनि म मधेशको पीडा र सम्भावना बुझ्न यहाँ आएको हुँ,’ उनले भने। उनले पार्टीले आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको स्मरण गराउँदै देशभरबाट सहयोग र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री बन्ने अवसर नपाए पनि सर्लाही–४ को विकासका लागि निरन्तर काम गर्ने उनको भनाइ थियो।
‘मलाई नेता वा माननीयका रूपमा होइन, परिवारकै सदस्यका रूपमा लिनुहोस्,’ उनले आग्रह गरे। आगामी पाँच वर्ष सर्लाहीका नागरिकसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सर्लाही र काठमाडौँ दुवै ठाउँमा सेवा कार्यालय सञ्चालन गर्ने योजना सुनाए। ‘आज म मत माग्दैछु, भोलि तपाईंहरू मसँग हक माग्न सक्नुहुन्छ,’ उनले भने।