पत्रकारिता
मलाई सक्रिय पत्रकारितामा फर्कन मन नलागेको होइन। तर, हरेक पटक मिडिया हाउसको ढोकामा पुगेर रोकिन्छु, भित्रबाट भनिरहेझैँ लाग्छ– सनसनीकारिता, पीआरकारिता, पार्टीकारिता, अपडेटकारिता गर्नु छ भने आऊ, नत्र ‘नो इन्ट्री’।
ल्यापटपमा लामो समयदेखि बेवास्ता गरिएको एउटा फाइल छ। त्यो न ब्रेकिङ न्युज हो, न अधुरो फिचर स्टोरीको ड्राफ्ट। त्यो हो मेरो पत्रकारिता यात्राको कागजी इतिहास अर्थात् सीभी।
केही दिनयता भर्चुअल दुनियाँमा ‘२०२६ इज द न्यु २०१६’ ट्रेन्ड चर्चामा छ। जहाँ मानिस आफ्ना दशकअघिका फोटो, भिडिओ र त्यससँग गाँसिएका सम्झना ‘सेयर’ गरिरहेका छन्। सम्बन्धका उतारचढाव, मानसिक स्वास्थ्य, आर्थिक संघर्ष र सपनाबारे खुलेर कुरा गरिरहेका छन्।
मलाई भने आफ्ना अनुभूति केही फोटो र क्याप्सनमा मात्रै सीमित गर्न मन लागेन। त्यसबारे लेख्ने निर्णय गरेँ। र, बगेको समयको लय समात्न ल्यापटप लिएर बसेँ। आँखा अनायासै उही सीभीको फाइलमा अडिए। मभित्रका खालीपन र खल्लोपन एक एक गरी खुल्दै गयो।
न उपलब्धिका चाङ, न गर्व गर्न सकिने आधार। थियो त केवल, पत्रकारिता क्षेत्रमा बिताएको एक दशक। र, थिए, मैले काम गरेका म्यागेजिन, पत्रपत्रिका र अनलाइनका नामहरू–
नुवागी मासिक
शुक्रबार साप्ताहिक
परिवार मासिक
अन्नपूर्ण ‘सम्पूर्ण साप्ताहिक’
इकागज अनलाइन
जतिबेला डेडलाइनसँगै बज्ने फोनको घन्टी थियो। समाचारका लागि हतारिँदै कुद्ने म। जाग्राम बसेर लेखिएका समाचार हुन्थे। बाइलाइनको बेग्लै उत्साह थियो। तर, ती सबै इतिहास भइसकेका छन्। यस्तो इतिहास, जसले आफैँलाई उपहास गरिरहेजस्तो लागिरहेछ। जीवित छन् त केवल सीभीमा।
कोठा सुनसान छ। बाहिर अँध्यारो छ। मभित्र अर्को अँध्यारोले डेरा जमाएको छ। म आफू हिँडिआएका तिनै पाइलाको मलामी भएको महसुस गरिरहेकी छु। आज न ती कागज, न त्यो इकागज, कुनै पनि अस्तित्ववान् छैनन्। हिँड्दै छ, पाइला मेट्दै छ भनेझैँ मैले त पानीको यात्रा पो गरेर आएछु।
म आफूले लेखेका समाचार खोल्न खोल्छु। नतिजा हात पर्छ, ‘पेज नट फाउन्ड।’ सीभीको फाइलले पनि गिज्याइरहेझैँ लाग्छ, ‘करिअर नट फाउन्ड।’ टाइम ट्राभल गर्दै म पुग्छु, सन् २०१५ तिर।
भक्तपुर बस्थेँ। बिहान ख्वप कलेजमा पत्रकारिता विषयमा बीए पढ्थेँ। दिउँसो एक निजी कार्यालयको कर्मचारी थिएँँ। एक दिन सहपाठी अनिताले भनी, ‘ओई, त्याँ भ्याकेन्सी रै’छ, जाने हो?’
हामी दुवै ‘के होला, कसो होला’ भन्दै सल्लाघारी पुग्यौँ। नुवागी मासिकको कार्यालय। सम्पादक मतिना त्वानाबासु। औपचारिक कुराकानी केही बेरमै अनौपचारिकमा बदलिइहाल्यो।
पत्रकारिताप्रतिको रुचिले पाइरहेकोभन्दा आधा तलबमा काम गर्न म राजी भएँ। तर, न कम्प्युटर थियो, न नेपाली टाइपिङ सीप।
शिक्षा विषयमा रिपोर्टिङ गर्न थालेँ। शिक्षासँग सम्बन्धित प्रायः कार्यालयहरू भक्तपुरमै थिए। म भक्तपुरको भ्यागुतो थिएँ। काठमाडौँ जानुपरे सातो जाने। पछि पत्रकारितामा मास्टर्स गर्न काठमाडौँ नगई भएन। आरआर कलेजमा धेरैजसो साथी पत्रकारिता क्षेत्रकै थिए, तर नुवागी उनीहरूका लागि नौलो थियो। सोचेँ– पत्रकारिता क्षेत्रकै साथीहरूले नाम सुनेका रहेनछन्। मेरा रिपोर्टिङ कसले पढे होलान्?
एक झोला नुवागी बोकेर म सुन्धारास्थित जेडीए कम्प्लेक्स लागेँ। शुक्रबार साप्ताहिकका सम्पादक राजन नेपाललाई भेट्न। झोलाबाट म्यागजिन निकालेर मैले आफ्नो परिचय दिएँ।
कोभिड महामारीपछि मैले काम गरेका यी सबै पत्रपत्रिका बन्द भए। म नयाँ खुल्न लागेका इकागज अनलाइन पुगेँ– डिजिटल मिडियाको स्वाद चाख्न।
उहाँले काममा बोलाउनुभयो। संसार जितेजस्तो लाग्यो।
तर, बिस्तारै ट्याब्लोइड पत्रिकाको ट्याबु बुझ्दै गएँ। पत्रकारिता कम, सेलिब्रेटिकारिता ज्यादा। कलाकारलाई कुन रङ मन पर्छ? कुन गाडी मन पर्छ? कुन मौसम मन पर्छ? यस्तै यस्तै। केही राम्रा स्टोरी नगरेको होइन। तर, अहिले ती अधुरा र अपुरा लाग्छन्।
शुक्रबारपछि परिवार म्यागेजिन हुँदै अन्नपूर्ण सम्पूर्ण साप्ताहिकसम्म काम गरियो। नाम फरक, तर उही आकारप्रकार, शैली र स्वाद। उही सम्पादक, उही सहकर्मी।
कोभिड महामारीपछि मैले काम गरेका यी सबै पत्रपत्रिका बन्द भए। म नयाँ खुल्न लागेका इकागज अनलाइन पुगेँ– डिजिटल मिडियाको स्वाद चाख्न।
त्यहाँ म ‘सफ्ट’ भनिने महिला, बालबालिका र स्वास्थ्य बिटमा लेख्थेँ। त्यसबेला म सोच्थेँ, ‘महिलामाथि हुने हिंसा र बालबालिकामाथिको शोषण’ कसरी ‘हार्ड बिट’ होइन होला त?
त्यतिन्जेल मैले स्नातकोत्तर सकिसकेकी थिएँ। आफूले पढेकै कलेज ख्वपमा मास्टरी पनि गर्दै थिएँ। सुरुमा त उत्साही नै थिएँ। तर, बिस्तारै आफूमा ‘आउटडेटेड प्रोफेसर’ को पारा आएजस्तो लाग्यो।
अब के त भन्ने सोच्दै थिएँ। मल्टिमिडिया जर्नालिज्ममा पोस्टग्र्याजुयट गर्न भारतको एसियन कलेज अफ जर्नालिज्म (एसीजे) तिर गएँ।
एसीजे जहाँ द क्याराभान म्यागेजिनका लामा लामा स्टोरीमा घोत्लिनुपर्ने। आवाजविहीनका आवाज बोकेका फिल्म र डकुमेन्ट्री हेर्न-बुझ्न पाइने। कक्षाकोठा कम, फिल्ड ज्यादा रोज्नुपर्ने।
सुकुमवासी, दलित, लैंगिक-यौनिक अल्पसंख्यकबारे रिपोर्टिङ गर्छु भने हामीलाई उल्टै सोधिन्थ्यो, ‘तिम्रो जीवनसँग यो विषय कत्तिको निकट छ? तिमी कत्तिको संवेदनशील छौ? समानुभूति राख्न सक्छौ?’
मेरा लागि यी प्रश्न नितान्त नौला थिए। मैले त यसरी कहिल्यै सोचिनँ?
बिस्तारै बुझेँ, रिपोर्टिङको योग्यता लेखनसीपमा मात्र नहुँदो रहेछ। कुन बिन्दु र कोणबाट हेर्ने भन्ने पनि सोच्नुपर्दा रहेछ। आफूभित्र संवेदनशील र समानुभूतिको मात्रा कति छ, नियाल्नुपर्दो रहेछ।
माइतीघर मण्डलमा आन्दोलन-अनशन हुँदा नागरिक आवाज बलियो हुँदै छ भन्ने कि सडक जाम भयो, फोहोर भयो भनेर लेख्ने? यस्ता प्रश्नमा घोत्लिन मैले त्यही सिकेँ।
उदाहरणका लागि, सडकछेउ-खोलाछेउ बस्नेहरूलाई शासकले लछारपछार पारेको घटनालाई कसरी हेर्ने? सहर सफा हुँदै छ भनेर लेख्ने कि मानवता मर्दै छ भनेर? बलात्कारजस्तो जघन्य अपराधमा बलात्कार अमेरिकामा पनि हुन्छ, पुँजीवादको दोष हो भनेर गृहमन्त्रीले भनेको कुरा जस्ताको तस्तै सार्ने कि फिल्डमा पुगेर बलात्कृत र परिवारको संवेदना महसुस गरेर लेख्ने? माइतीघर मण्डलमा आन्दोलन-अनशन हुँदा नागरिक आवाज बलियो हुँदै छ भन्ने कि सडक जाम भयो, फोहोर भयो भनेर लेख्ने? यस्ता प्रश्नमा घोत्लिन मैले त्यही सिकेँ।
एक दशकको पत्रकारिता अभ्यासमा मैले ‘इन्भर्टेड पिरामिड’ शैलीमा समाचार लेख्न जानेँ। पढ्दा पाँच ‘फाइभ डब्लू’ रट्टा मार्न सिकेँ। तर, समाचारको केन्द्रमा को हुनुपर्छ– सधैँ बोलिरहने व्यक्ति कि बोल्न नपाउनेहरू? समाचार केको विषयमा हुनुपर्छ– सनसनीपूर्ण घटना कि दशकौँदेखि चलिआएको संरचनात्मक अन्याय? समाचार कहिले लेखिनुपर्छ– सत्तालाई सहज हुने बेला कि पीडितको आवाज सुनाउने समयमा? कहाँको समाचार सबैभन्दा महत्त्वपूर्ण हुन्छ– राजधानीका पत्रकार सम्मेलन कि किनाराका बस्तीहरू? समाचार किन लेखिनुपर्छ– प्रेस विज्ञप्तिमार्फत आउने सूचना दिन कि प्रश्न उठाउन?
संविधानदेखि राष्ट्रगानसम्म नेपाल बहुसांस्कृतिक मुलुक हो। तर, जात, लिंग, वर्ग, क्षेत्र, भाषा आदिको असमानता र विभेद न पाठ्यक्रममा पढियो/पढाइयो, न समाचारमै खासै लेखियो/पढियो। दोष कक्षाकोठा र समाचारकक्षको मात्रै थिएन। यसअघि सावित्रीबाई फुले, जवाहरलाल नेहरू, भीमराव अम्बेडकर, उर्वशी बुटालिया, पी. साइनाथ, अरुन्धती रोयहरूलाई गहिरिएर नपढ्नु मेरो आफ्नै पनि कमजोरी थियो। मैले यी नामहरू लिइरहँदा अर्काे प्रश्न पनि आउँछ, हामी आफ्नै देशमा आफ्नो गच्छेमा यस्तो कर्म गरिरहेकालाई चाहिँ कति स्थान दिन्छौँ, कति ध्यान दिएर सुन्छौँ?
एकातिर मेरो १० वर्षको पत्रकारिता अनुभव, अर्काेतिर १० महिने एसीजे बसाइँ।
एसीजेबाट फर्किंदा मसँग पत्रकारितालाई बुझ्ने थोरैतिनो दृष्टि थियो। अक्षरलाई दृश्यमा उतार्न सक्ने सीप थियो। केही उत्साह र आँट थियो। फर्केर यस्तो पत्रकारिता गर्छु भन्ने सानोतिनो योजना पनि थियो।
तर, जब काठमाडौँ टेकेँ। मेरो रहरको भुइँ बिस्तारै भास्सिँदै गयो।
प्रश्न गर्नेहरू अमुक नेता-व्यापारीको तर्फबाट जवाफ लेखिरहेको पाएँ। कोही तलब नपाएर मुद्दा लडिरहेको देखेँ।
मैले मिडिया हाउसहरू पत्रकारिताको मूल्यभन्दा बजारको दबाबसँग डराएको पाएँ। समाचारको बाढीमा रिपोर्टिङभन्दा रिल्स बढी तैरिइरहेको देखेँ। गसिप र सनसनीको दुबो वनमारा भइसकेछन्। न्युजरुमहरू क्लिकबेटकेन्द्रित भएछन्। मूलधारका सम्पादकहरू कोही युट्युबतिर, कोही सरकारी कुर्सीतिर छरिएको देखेँ। राम्रो पत्रकारिता गरिरहनेहरू प्रेस विज्ञप्ति लेख्न, सोसल मिडिया ह्यान्डलिङ गर्नतिर नियुक्त भएछन्। प्रश्न गर्नेहरू अमुक नेता-व्यापारीको तर्फबाट जवाफ लेखिरहेको पाएँ। कोही तलब नपाएर मुद्दा लडिरहेको देखेँ। कोही लोकसेवा लडेर सरकारी मिडियाको जागिरे बनेछन्। कोही विदेश त कोही गाउँ फर्केछन्। कोही सुत्केरी बिदासमेत नपाएर बिदा भएछन्।
म पनि आफ्नो रहरबाट क्रमशः बिदा हुन थालेँ।
अहिले म सूचना विभागको प्रेस कार्ड बोक्दिनँ। समाचार लेख्दिनँ। कुनै पनि मिडिया हाउसको कर्मचारी सूचीमा छैन। यसबीच मलाई सक्रिय पत्रकारितामा फर्कन मन नलागेको होइन। तर, मिडिया हाउसको ढोकामा पुगेर रोकिन्छु, भित्रबाट भनिरहेझैँ लाग्छ– सनसनीकारिता, पीआरकारिता, पार्टीकारिता, अपडेटकारिता गर्नु छ भने आऊ, नत्र ‘नो इन्ट्री’। तलब चाहिँदैन भने आऊ, नत्र ‘नो इन्ट्री’।
प्रश्नहरूको अँध्यारो जंगलमा हराउँदा हराउँदै उज्यालै पो हुनै लागेछ। बिहान फेरि कक्षामा उभिनु नै छ। भोलि म ‘समाचार कसरी लेख्ने?’ पढाउँछु कि ‘प्रश्नलाई कसरी बलियो बनाउने?’