काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
अ+
अ-

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ।

केन्द्रले हाल दैनिक १५ लाखको दरले मतपत्र छापिरहेको जनाएको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख मतपत्र आवश्यक रहेकामा बुधबारसम्म एक करोड ५३ लाख मतपत्र छापिसकिएको छ। अब करिब ५० लाख मतपत्र छपाइ गर्न बाँकी रहेको उनले बताए।

यसअघि दैनिक १३ लाख मतपत्र छापिँदै आएकोमा कामको गति बढाएर १५ लाख पुर्‍याइएको छ। शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको र अधिकतम शनिबारसम्ममा कार्य सकिने उनले जानकारी दिए।

उम्मेदवार संख्या धेरै भएका जिल्लामा ठूलो आकारका तथा कम उम्मेदवार भएका जिल्लामा सानो आकारका मतपत्र छाप्नुपर्ने भएकाले केही ढिलाइ भएको केन्द्रले स्पष्ट पारेको छ।

यसअघि केन्द्रले १० लाख नमूना मतपत्र छापेर निर्वाचन आयोगमार्फत विभिन्न स्थानमा पठाइसकेको छ। त्यस्तै समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापी प्याकिङ सम्पन्न गरिसकिएको छ।
बिहीबारदेखि छापिएका मतपत्रहरू जिल्लामा पठाउन सुरु गरिनेछ। दुर्गम जिल्लामा प्राथमिकताका साथ वितरण गरिने र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ।