काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले इतिहासको सही सम्मानसँगै र वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृढ हुने बताएका छन्।

आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका दाहालले भूमे २, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्।

उनले १ फागुन केवल गौरवमय अतीतको स्मरण मात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गरे। उनले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मसाल यही दिन प्रज्वलित गरेको बताए।

सम्बोधनका क्रममा उनले जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांग र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरे।

२५२ सहिद परिवारलाई नेकपाको सम्मान

उनले चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी) को बैठकको निर्णयबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको चर्चा गर्दै रुकुमको ऐतिहासिक भूमिकालाई स्मरण गरे। वर्तमान राजनीतिक परिस्थितिबारे उनले देश जटिल अवस्थाबाट निर्वाचनको संघारतर्फ अघि बढिरहेको बताए।

उनले पञ्चायती व्यवस्थाविरुद्ध रुकुमका जनताको संघर्ष स्मरण गरे। इतिहासलाई वर्तमानसँग जोडेर मात्रै सुदृढ भविष्य निर्माण गर्न सकिने उनले उल्लेख गरे। उनले जनयुद्धका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायका पक्षमा एकताबद्ध हुन आह्वानसमेत गरे।

कार्यक्रममा दाहाल र नेतृ पम्फा भुसालले सहिद, बेपत्ता परिवार तथा घाइतेलाई सम्मान गरेका थिए।

यो पनि…

‘संघर्ष जारी छ‚ अब युद्ध उत्पादनका लागि हुन्छ’