काठमाडौँ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै इनरोलमेन्ट र राहदानी वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटरमा समस्या आएकोले अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको जनाएको छ ।
सेवाग्राहीको विवरण भेरिफिकेशन गर्ने कम्प्युटरमा समस्या देखिएको र राहदानी विभागबाट उक्त कम्प्युटर मर्मत भई नआएसम्म सेवा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताए।
सुरक्षाका कारण राहदानी विभागबाट प्राप्त आधिकारिक कम्प्युटरमार्फत मात्र सेवा दिन सकिने भएकाले वैकल्पिक व्यवस्था गर्न सम्भव नभएको कार्यालयले स्पष्ट पारेको छ । सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै राहदानी सेवा यथाशीघ्र सुचारु गराउन पहल भइरहेको प्रशासनले जनाएको छ ।