पुस्तक-स्मृति

तपाईंसँग भएको हरेक पुस्तक तपाईं को हो र ती पुस्तक ल्याउने बेला तपाईं कस्तो हुनुहुन्थ्यो भन्ने कथा हो

२ फाल्गुन २०८२
एआईसिर्जित तस्बिर
अ+
अ-

नयाँ वर्षमा घर सफाइ गर्ने संकल्प गरिरहनुभएका तपाईंहरूलाई एउटा चेतावनी। तपाईंलाई मन लागेजति जिनिसहरू मिल्काउनुस्। चाहे रोय रोजर्सको ट्रिगर घोडासँगको तपाईं ६ वर्ष हुँदाको मायावी तस्बिर होस् वा एउटा गीतका लागि तपाईंले भर्मन्टको लिलामीबाट उठाउनुभएको फ्र्यांकलिन पियर्सको हरियो पत्थरको मूर्ति, सिवाय तपाईंका पुराना किताब।

पुराना किताब कहिल्यै नफाल्नुस्। म बुझ्छु, ती किताब फाल्न सकसक लाग्न सक्छ। किनकि, तिनले यति धेरै ठाउँ ओगट्छन् र त्यति नै धुलो जम्मा गर्छन्। यद्यपि, तपाईंसँग भएका हरेक पुस्तक तपाईं को हो र ती पुस्तक ल्याउने बेला तपाईं कस्तो हुनुहुन्थ्यो भन्ने कथा हो, सँगसँगै त्यो किताब पढेपछि तपाईं के बन्नुहुन्छ भन्ने पनि। त्यो पुस्तक तपाईंको वर्तमान अनि विगतको अंश हो। किताबसँग हाम्रो सम्बन्ध सकिन्छ जस्तो लाग्छ, तर तिनले हामीलाई छोड्दैनन्।

किताबहरू घर हुन्। एकपटक भित्र छिरेपछि तपाईं रूपान्तरित हुनुहुन्छ, र तपाईं आफैँ त्यो घर बन्नुहुन्छ। जब म जेन आयरको ढोका खोल्छु, मलाई ठिहीलाग्दो र उदास रोचेस्टरको चर्च व्यवस्थापकको निवासमा प्रवेश गराइन्छ। अन्ततः ऊ पग्लन्छ अनि म घरभित्र सहज महसुस गर्दै बिस्तारै त्यसलाई मन पराउन थाल्छु। तर, अटालीबाट आएको त्यो अट्टहास के हो?

आफू बसेका विभिन्न स्थानहरूझैँ कुनै राम्रो किताब स्मृतिबाट कहिल्यै पनि हटाउन सक्नुहुन्न। मेरा किताबमा म किङ आर्थरको महल र राल्फ एलिसनको बेसमेन्टमा बसेको छु। दुवै उत्तिकै सुन्दर, अद्भुत र विचारको एउटा ब्रह्माण्डै रहस्योद्घाटन गर्ने खालका।

तैपनि ती स्मृति रूखा हुन सक्छन्। मलाई थाहा छ, म मेरा किताबबारे के सोच्छु। तिनीहरू मबारे के सोच्दा हुन्? साह्रै अज्ञानी? अबोध? विभिन्न प्रभावहरूले आफ्नो छाप छोड्न सक्ने एउटा खाली पाना? गलत विचार भएको वा विचारै नभएको व्यक्ति?

किताबसँग हाम्रो सम्बन्ध सकिन्छ जस्तो लाग्छ, तर तिनले हामीलाई छोड्दैनन्।

मेरा किताबले व्यंग्यात्मक आडम्बरमा मसँग बातचित गरेको सुनेर बिताउने कुनै समय पनि थिए। ‘के तिमी आश्चर्यचकित भयौ?’ भ्लादिमिर नोभाकोभ लोलितामार्फत सोध्छन्। ‘घिन लाग्यो? दिमागको अँध्यारो (डरलाग्दो भन्न खोजेको होइन) भूमिगत तलामा असहज महसुस गराइएका छौ? के मैले तिमीलाई तर्साएँ?’

फ्र्यान्केइस्टाइनमार्फत म्यारी सेइली भन्छिन्, ‘अलमलियौ? स्तब्ध, दुःखी र दयालु भयौ? जे भए पनि त्यो कथाको राक्षस को हो? त्यो सिर्जना वा स्रष्टा? यदि ती सबैका बारेमा घोत्लिन पर्याप्त नभए यो कहानी १९ वर्षकी केटीको लेखनी कसरी बन्यो?’

खासमा यदि हामीले किताबलाई सहज मान्यताले अपनायौँ भने हामी किताब पढ्छौँ र किताबले हामीलाई पढ्छन्। गम्भीर भएर सोच्नुअघि मैले ‘द स्ट्रेन्ज केस अफ डक्टर जेकिल एन्ड मिस्टर हाइड’ लाई मनमा उतारचढाव भइराख्ने एक लागुपदार्थ दुर्व्यसनीबारेको कथा ठानेको थिएँ। रोबर्ट लुई स्टिभेन्सन के भन्छन् भने, नशाको अधीनमा कुनै व्यक्ति पूर्ण र अपरिवर्तनीय रूपमा फेरिन सक्छ। पुस्तकले वस्तुतः यस्तो सतही मूल्यांकनबाट आफ्नो प्रजातिबारे केही सिक्न भन्छ। तपाईंले जीवनमा असम्भव ठानेजति सबै सम्भव छन्। जीवन तिमीले कल्पना गरेभन्दा अझै बढी अनौठो र थप खतरनाक छ। यद्यपि, अझ क्षमाशील पनि।

यहाँ मेरो र्‍याकमा २०औँ शताब्दीका स्कटिस कवि, निबन्धकार र अनुवादक एड्विन मुइरको आत्मकथा छ। मुइर सुरुमा मनोचिकित्साको प्रतिरोध गर्छन्, तर मनोचिकित्सकलाई भेटेपछि त्यसको महत्त्व बुझ्छन् र लेख्छन्, ‘म आफूजस्तैको समूहलाई मानव ठान्थेँ। यहाँसम्म कि आफ्नै सरल छायाको सामना गरेपछि म समान चाहना र विचार, उस्तै असफलता र निराशा, आफ्नो र अरूप्रति आत्मसात् नगरिएको घृणा अनि त्यस्तै लाज र शोक भएका सबै नरनारीमध्येको एक रहेछु।’

यदि कोही मुक्तिको खोजीमा छ भने टाढा हेर्नै पर्दैन। मैले मेरा किताबमा वर्षौंअघि कुना मोडेका सयौँमध्ये एकको अंश थियो त्यो। म सोच्छु– ती कुना पल्टाएर राखेका सबै अंश जोड्यो भने कस्तो खालको पुस्तक बन्ला? असंगत वा प्रेरणादायी? के मूल लेखछेउका असीमित टिपोट, चित्र इत्यादि लन्डन टावरवरिपरि बिफइटर गार्डहरू उभिएजस्ता देखिनेछन्? किनारमा लेखिएका ती सबै टिपोटभित्र लुकेका कस्ता गोप्य पुस्तकहरू के लेखेको छु र मैले?

अडिसनका लागि उभिएका कलाकारझैँ चहकिन्छन् नयाँ चम्किला पुस्तक। जसको नियति शीर्षक धमिलिँदै अनि गाता बटारिँदै र कोरिँदै फिक्का हुनु हो।

मैले विश्वविद्यालयको परीक्षाका लागि पढ्दै गर्दा ब्लिक हाउस मसँगै मासाचुसेट्सको इप्सबिचमा रहेको क्रेन बिच गयो। त्यसको ढाडमा अहिले पनि बालुवाका कण महसुस गर्न सकिन्छ। त्यो थोत्रो किताब चाइल्डक्राफ्ट मेरा आमाबाबुको घरबाट आयो। आमाले मलाई त्यो बालपुस्तक पढेर सुनाउनुहुन्थ्यो। कविताका छेउमा मैले चित्रहरू बनाएँ। एउटा लोखर्के, एउटा माछा अनि बुवाको छाते टोपी।

मेरा किताबहरू मेरा गुरु हुन्, र सँगसँगै मभन्दा बढी जान्ने अनि समयको लामो अन्तरालमा मेरो हित चिताउने सँगी पनि। पुरानो मित्रलाई झैँ यिनलाई पनि ढिलोचाँडो त्याग्न चाहन्नँ म।

फिर्ता नआएका किताबका रिक्तताबारे केही भन्नु छैन। हिचकिचाउँदै आगन्तुकलाई सापटी दिएका तर फिर्ता नपाइएका ती किताबले आफ्नो ठाउँ खाली बनाएका छन्। कसैले किताब सापटी नदिन कहिल्यै सिक्न सक्छन्? सापट चाहनेलाई नाइँ भन्नु पक्कै रूखो शिष्टाचार हो। तर, तपाईंका कुनै बेलाका बहुमूल्य वस्तुलाई अँगालेका ती छिद्रहरू हेर्नुहोस्। अपहरणका सिकार भएकाको फिरौती भए हुन्थ्यो। अनातली फ्रान्स लेख्छन् कि उनको पुस्तकालयमा अरूले उनलाई सापटी दिएका किताबहरू मात्र थिए।

हरेकचोटि अरू कसैलाई किताब सिफारिस गर्दा त्यो किताब दूत बन्छ र जानकारी दिँदै मन कसरी फेर्दै जान्छ, त्यो कहिल्यै पत्तै हुँदैन। अनि भर्खर पाएको नयाँ ज्ञानलाई ती मनले कसरी प्रयोग गर्छन् कसलाई थाहा?

हेनरी डेभिड थोरो, अस्कर वाइल्ड, एज्रा पाउन्ड तीनै जनाले जेलमै लेखे वा लेख्न प्रेरित भए। तिनका कृतिलाई आकार दिने विचार नै उनीहरूको सफल हुने उपाय थिए। जेलबाटै पुस्तक लेखेर हिटलरले झन्डै संसार नै ध्वस्त पारेका थिए। अर्को पुस्तकमार्फत नेल्सन मन्डेलाले संसारलाई झन्डै उद्धार गरे।

मेरा किताबहरू मेरा गुरु हुन्, र सँगसँगै मभन्दा बढी जान्ने अनि समयको लामो अन्तरालमा मेरो हित चिताउने सँगी पनि। पुरानो मित्रलाई झैँ यिनलाई पनि ढिलोचाँडो त्याग्न चाहन्नँ म।

मेरो दराजमा आफ्नो मूलढोकाअघि उभिएर सदैव स्वागत गरिरहेका हुन्छन्, झन्डै छिमेकीहरूजस्तै। राति जब मेरो घर अँध्यारो हुन्छ र म निदाएको हुन्छु, के उनीहरू एकअर्कासँग साउती गर्छन्? मेरा कुरा काट्छन्? सदाझैँ के ह्याम्लेटकै बोली अन्तिम हुन्छ?

कविताका पुस्तक। नक्शाका। साहसिक यात्राका। कार्टुनका। फोटोग्राफीका। दर्शन, मनोविज्ञान, हुलाक टिकट संकलनविधि, इतिहास, रहस्य, कलासम्बन्धी पुस्तकहरू। छोटा कथाहरू। अपत्यारिला कथाहरू। भूतका कथा। तत्काल मेरा सबै किताबहरूको शक्तिलाई व्यक्त गर्ने कविताको एउटा अंश सम्झन खोज्दै छु म। त्यो कविताले अहिलेसम्म मैले जे सकेँ, त्योभन्दा अझ जोडदार तवरले किताबलाई सम्हाल्नुपर्ने तर्क गर्छ।

अँ! पाएँ,

थियोडोर रोयथ्केको द फार फिल्डबाट :

एउटै ढुंगाबाट फैलिँदै गएको तरंग
संसारको पानी वरिपरि घुम्दै छ।

(२८ डिसेम्बर २०२५ मा द न्युयोर्क टाइम्समा प्रकाशित ‘बिफोर यु टस द्याट बुक’ शीर्षकको लेख। मूल लेखक रोजर रोजेनब्लाट। रोजेनब्लाटमेकिङ टोस्ट, कायाक मर्निङ, कोल्ड मुन र व्यंग्यात्मक उपन्यास लाफम राइजिङका लेखक हुन्। रोजेनब्लाटको यो लेख  नारायण भण्डारीले अनुवाद  गरेका हुन्।)