पर्वत। पर्वत जिल्लामा पछिल्लो आठ वर्षमा २१ मोटरेबल पुल निर्माण भएका छन्। जिल्लाका विभिन्न स्थानमा ती मोटरेबल पुल बनेका हुन्।
सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन्। जिल्लामा कुल २१० किमि ग्रामीण सडक कालोपत्र भएको जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई, कालीगण्डकी करिडोरमा तीन गरी ग्रामीण सडकसहित कुल २१ मोटरेबल पुलको निर्माण भएका छन्।
संसदीय निर्वाचनसँगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा विकासमा समीक्षामा भौतिक पूर्वाधार तर्फ पर्वत जिल्लामा उल्लेखनीय प्रगति भएको देखिन्छ। मुख्य गरी कालीगण्डकी नदी र मोदीखोला पर्वत जिल्लाका दुई ठूला नदी रहेका छन्। ती नदीहरूमा लामा पुल निर्माण भएका छन् भने ग्रामीण क्षेत्रमा रहेका साना खोलामा छोटा पुल निर्माण भएका छन्। निर्माण सम्पन्न भएका पुलमा सडक सञ्चालन नियमित रूपमा भइरहेको छ।
ती पुलमा मोदीवेणीस्थित मोदी खोला, भुकताङलेको झिलिबराङमा भुरुङदीखोला, तिलाहारको रतीखोला, दुर्लुङ र बाजुङ जोड्ने आम्बोटखोला, जहरे-दोबिल्ला, पकुवा आर्थर जोड्ने जहरेखोला गँगटे पुल छन्।
यसैगरी, नयाँपुल, सेराबेँसी, दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने मर्दी खोला, सेतीखोला, रिठेखोला, गेडीखोला, फलेवास नगरापलिकाको चिर्दीखोला मोटरेबल पुल रहेका छन्।
यही अवधिमा बनेको सिब्दीखोला, पैयुँ ६ सरौखोलास्थित छत्तिसेघाट, फलेवास-जैमिनिघाट, कालीगण्डकी, देविस्थान-कुर्घा जोड्ने लमायखोला, महाशिला वडा नं १ र पैयुँ-६ जोड्ने अगुवाखोला, रानीपानी–इमिचौरदेखि गुल्मीपूर्तिघाट जोड्ने कालीगण्डकीे, मोदी १ स्थित भुकदेखि कास्की अन्नपूर्ण गाउँपालिका जोड्ने भुरुङदीखोला पुल, मध्यपहाडी राजमार्गअन्तर्गत तमादीखोला र बगरफाँट- बेनी जोड्ने कालीगण्डकी नदीमा ट्रस्ट ब्रिजनिर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
यसैगरी, जिल्लामा अझै आधा दर्जन मोटरेबल पुलको माग भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। ती पुलको डिपीआर तयार भए पनि बजेटको भने सुनिश्चित भइसकेको छैन। मोदीखोलामा गाडतारा-आम्बोट तथा झाप्रे बगरमा मोटरेबल पुलको सम्भाव्यता अध्ययन सकिएको छ भने कल्लेरीघाट तथा बगरफाँटमा गरी दुई स्थानमा कालीगण्डकी नदीमा मोटरेबल पुलको निर्माण कार्यका लागि योजना सुनिश्चत हुन बाँकी छ।
कतिपय पुल संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय र कतिपय गण्डकी प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो। यी बाहेक मल्याङ्दीखोला र पराधिस्थित मोदीखोलामा दुई पुल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए।