सेयरबजार
सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ। आज (मंगलबार) पनि नेप्से २०.७५ अंकले घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.७७ प्रतिशतले घट्दै २६४२.१५ विन्दुमा अडिएको छ। नेप्से सोमबार ८.१६ अंकले घटेको थियो। आइतबार शिवरात्रिको बिदाका कारण नेप्से बन्द थियो।
मंगलबार सेन्सिटिभ इन्डेक्स पनि २.९९ अंकले घटेर ४५२.६७ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.६५ प्रतिशतले घटेको हो। नेप्सेमा मंगलबार ३५४ कम्पनीको ८३ हजार ७५ पटकको कारोबारमा दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच भए। जसमा मंगलबार आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँबराबरको कारोबार भयो। सोमबार भने सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० रुपैयाँबराबरको कारोबार भएको थियो।
नेप्सेमा सोमबार १३ समूहको कारोबार भएकामा दुई समूहको सूचक मात्र बढे। बाँकी ११ समूहका सूचक राताम्मे भए।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.४५‚ विकास बैंक १.१८‚ फाइनान्स समूहको सूचक २.११‚ होटेल तथा पर्यटन १.१९‚ जलविद्युत् १.६३‚ लगानी ०.४८‚ जीवन बिमा ०.७८‚ उत्पादन तथा प्रशोधन ०.७३ तथा लघुवित्त ०.५० प्रतिशतले घटे।

यसैगरी म्युचुअल फन्ड ०.४८ प्रतिशतले बढ्दा निर्जीवन बिमा ०.७५ तथा अन्य समूह ०.५८ प्रतिशतले घटे । व्यापार समूहको सूचक भने ०.२२ प्रतिशतले उकालो लाग्यो।
नेप्सेमा मंगलबार ४२ कम्पनीको मूल्य बढ्दा २१४ कम्पनीको घट्यो। ६ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा मंगलबार साल्पा विकास बैंक लिमिटेडमा पोजेटिभ सर्किट लाग्दा सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो। साल्पाको अन्तिम कारोबारमूल्य ३६३ रुपैयाँ रहँदा सुपरमाईको अन्तिम कारोबार मूल्य ७३१ रुपैयाँ रह्यो।
मंगलबार सबैभन्दा धेरै कारोबार हुनेमा रिडी पावर कम्पनी लिमिटेड रह्यो। यसको ५३ करोड ३६ लाख १४ हजार ८४२ रुपैयाँको कारोबार भएको छ। रिडीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ कायम रह्यो।