काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन्।
नेपाल शेर्पा सङ्घद्वारा २ हजार १५३औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा मंगलबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको भूमिकाबारे बताएका हुन्।
“नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो”, राष्ट्रपति पौडेलले भने।
हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र नेपालीको शान, गौरव तथा प्रतिष्ठा बढाउन यस समुदायको महत्वपूर्ण योगदान रहेको बताए। “वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व हो”, राष्ट्रपति पौडेलले भने।
यसप्रकारका चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएका उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो मौलिक नेपाली पहिचानलाई अण्क्षुण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु हाम्रो साझा दायित्व भएको बताए।
सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने राष्ट्रपति पौडेलको भनाइ थियो। “यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गते लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आव्हान गर्दछु”, उनले भने।