इस्लामावाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सुरक्षा चेक पेष्टमा भएको आतंकवादी आक्रमणमा कम्तीमा ११ जना सुरक्षाकर्मी र १२ जना आतंकवादीको मृत्यु भएको सेनाले मंगलबार जनाएको छ।
आतंककारीहरूले बाजौर जिल्लामा सुरक्षा बल र कानून प्रवर्तन एजेन्सीहरूको संयुक्त चेकपोष्टमा आक्रमण गर्ने प्रयास गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्ति मार्फत जनाएको छ।
आक्रमणकारीहरूले चेकपोस्टको सुरक्षा उल्लंघन गर्ने प्रयास गरेता पनि सुरक्षाकर्मीहरूले द्रुत र प्रभावकारी रूपमा गरेको जवाफी कारवाहिमा १२ जना आतंककारीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। आक्रमण पछि विस्फोटक पदार्थले भरिएको गाडी चेकपोस्टको पर्खालमा ठोक्किएर शक्तिशाली विस्फोट हुँदा चेकपोष्टको केही भाग क्षेतिग्रस्त भएको आइएसपिआरले जनाएको छ।
विष्फोटको कारण ११ जना सुरक्षाकर्मीको मृत्यु भएको जनाउँदै नजिकैको आवासीय भवनहरू पनि क्षतिग्रस्त हुँदा एक जना महिलाको मृत्यु हुनुका साथै अन्य सात जना सर्वसाधारण घाइते भएको जनाइएको छ। सुरक्षा बलले बाँकी आतंककारीहरूलाई नष्ट गर्ने अभियान सुरु गरेको आइएसपिआरले जनाएको छ।