मनिला। दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षाका कारण आएको पहिरोमा परि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन्।
फिलिपिन्स रेड क्रसले दाभाओ डे ओरो प्रान्तको मोन्कायो सहर स्थित प्रभावित क्षेत्रबाट तीन जनाको शव बरामद गरेको बताएको छ।
स्थानिय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जनाएको छ।
शुक्रबार डाभाओ ओरिएन्टलको माटी सहरमा आएको पहिरोले एउटै परिवारका चार जनाको मृत्यु भएको सहरको फायर स्टेसनले सामाजिक सञ्जाल मार्फत जनाएको छ।
निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया सञ्चालनका साथ प्रभावित प्रान्तहरूमा रेडक्रस शाखाहरू उच्च सतर्कतामा रहेको गोर्डनले बताएको छ।
सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग सहरका समुदायहरूमा पानी पसेकाले स्वयंसेवकहरूले प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरेको जनाइएको छ।
अधिकारीहरूले क्षतिको आकलन र प्रभावितहरूको सुरक्षा सुनिश्चितको प्रयास जारी राखेका कारण स्थानीय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यालयहरूसँग अनुगमन र समन्वय जारी रहेको रेड क्रसले जनाएको छ।