सात सवाल
घरको भित्तामा गर्व गर्नलायक एक नेताको फोटो राख्न मन छ। पुरानाले त्यो अवसर दिएनन्, नयाँले त्यो मौका दिऊन्।
अभिनय, गायन, लेखन र प्रहसनलगायत विधामा सफल हरिवंश आचार्य नेपालकै लोकप्रिय कलाकार हुन्।
हास्यव्यंग्य विधामा विशेष ख्याति कमाए पनि तँ त साह्रै बिग्रिस् नि बद्री, बलिदान, महापुरुष, भुठानलगायत थुप्रै फिल्ममार्फत उनले आफ्नो बहुमुखी अभिनय क्षमता प्रदर्शन गरेका छन्। आचार्य चिना हराएको मान्छे र हरिबहादुर पुस्तकका लेखकसमेत हुन्।
निर्दलीय पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्थादेखि लोकतन्त्र, गणतन्त्र, संघीयता हुँदै जेन-जी आन्दोलनसम्म देखेका आचार्य राजनीतिक आरोह-अवरोहका साक्षी हुन्। निर्वाचनको सँघारमा आचार्यसँग नेपालन्युजले गरेको चुनाव विशेष संवाद:
कलाकारहरूलाई खुब चुनाव लागेको देखिन्छ। तपाईंलाई पनि उम्मेदवार बन्ने प्रस्ताव आएको थियो कि?
मलाई पनि राजनीति गर्ने प्रस्ताव आएको हो। तर, कलाकारिता मेरो परान हो, म यसैमा मात्र बाँच्न सक्छु।
यसअघि सक्रिय राजनीतिमा लागेका कलाकारहरूको असफलताबाट के पाठ सिक्ने?
कलाकारले राजनीति गर्दा देश युक्रेन बन्न पनि सक्छ।

स्थानीय निर्वाचन २०७९ मा मतदान गर्दै हरिवंश आचार्य। तस्बिर : आचार्यको फेसबुक पेज
कलाकार र राजनीतिबीचको सम्बन्ध कस्तो हुन्छ? कस्तो हुनुपर्छ?
हाम्रो हास्यव्यंग्य विधा र राजनीतिमा विपक्षी दलको भूमिका उस्तै उस्तै हो। हामीले सदन बाहिरबाटै अराजकताविरुद्ध आवाज उठाउँदै आएका हौँ। तर, सदनमा भएका विपक्षी दलहरूले अवसरवादी भूमिका मात्रै निर्वाह गरे।
मतपेटिकामा भोट हाल्दै गर्दा के सोच्नुहुन्छ?
हे भगवान्! देश धनी बनाइदिनुस्, नेता धनी नबनाइदिनुस् भनी सोच्छु ।
अहिलेसम्म हालेका मत कत्तिको सदुपयोग भए भन्ने लाग्छ?
मैले गत निर्वाचनमा भोट दिएको नेताले बेइमानी गरेको सुन्नु परेन, तर टाउको कुहिएपछि खुट्टाले के गरोस्?
चुनावमा हरेक पटक नयाँले पुरानाभन्दा हामी राम्रो भन्छन्, जनताले पनि पत्याइदिन्छन्। घरीघरी यस्तो किन हुन्छ?
मेरो घरको भित्तामा गर्व गर्नलायक एक नेताको फोटो राख्न मन छ। पुरानाले त्यो अवसर दिएनन्, नयाँले त्यो मौका दिऊन्, फरक भएर देखाउन्।
हरेक चुनावअघि र चुनावपछिका नेतामा के फरक देख्नुहुन्छ?
चुनावमा नेताहरू मान्छे भएर आउँछन्, जितेपछि बाँदर बन्छन्।