प्रेरणा

एक दशकयता कृषि तथा गैरकृषिमा आधारित व्यापार र उद्यम-व्यवसायमा महिला वर्चस्व

९ फाल्गुन २०८२
धागो कात्दै चितवन पदमपुरकी ८१ वर्षीया ठूलीमाया प्रजा। तस्बिर : सुरज रत्न शाक्य
अ+
अ-

दुईतले घरको भुइँतला ‘प्यासेज’ मा लहरै बसेका चार किशोरी गलैँचा बुन्ने मेलोमा छन्। एक जनाको तान मेसिनमा धागो उन्दाउन्दै बिग्रियो, गलैँचाको बुट्टा तलमाथि सर्‍यो। सुरुमा आफैले मिलाउन खोजिन्, नसकेपछि प्रशिक्षक बुद्धिमाया घलेलाई गुहारिन्। ‘प्यासेज’ सँगैको ‘गिफ्ट’ पसलमा सामान मिलाउँदै गरेकी बुद्धिमाया तुरुन्तै किशोरीछेउ आइन्। बिग्रिएको भाग मिलाउँदै सुस्तरी भनिन्, “यसैगरी बिगार्दै, सिक्दै गइन्छ, अत्तालिनु हुँदैन।” किशोरीले ध्यानपूर्वक हेरिन्। गत २६ असोज दिउँसो बुद्धिमायाको बी.एम. हस्तकला प्रशिक्षण उद्योग पुग्दा सिकारु किशोरीहरू बेलाबखत यसरी नै झुक्किन्थे। बुद्धिमाया झर्को नमानी सिकाउँथिन्।

बी.एम. उद्योग चितवनको कालिका नगरपालिका-२ पदमपुर गाउँमा पर्छ, जहाँ गृहिणी महिला र किशोरीहरूले चर्खामा ऊन कात्न, तान मेसिनमा गलैँचा तथा ढाका बुन्न र चुरापोते लगायत ‘गिफ्ट आइटम’ बनाउन सिक्छन्। उनीहरूले सीप सिकेबापत पैसा लाग्दैन। बरु यहीँबाट पैसा कमाउने बाटो खुल्छ।

चितवनको पदमपुरस्थित कारखानामा गलैंचा बुन्दै स्थानीय महिला। तस्बिरः सुरज रत्न शाक्य

३८ वर्षीया बुद्धिमाया कुशल प्रशिक्षक मात्रै होइनन्, सफल उद्यमीसमेत हुन्। उनले गलैँचा, चकटी, ढाकाका तयारी सामग्री चीन, भारत र जापानलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्छिन्। उद्योगको उत्पादन र स्थानीयका तयारी सामान संकलन गरेर एकमुस्ट बेच्छिन्। तयारी सामान उत्पादकलाई ज्याला तिर्छिन्। ज्यालाबापतको कमाइ पदमपुरवासी गृहिणी, महिला, विपन्नका लागि आयआर्जनको बाटो बनेको छ।

पदमपुरमा मात्रै ४२२ जना जनजाति, ४० जना दलित, ५२ जना चेपाङ, ६० जना एकल महिला, १४ जना खस-आर्य र १२ जना अपांगता भएका गरी ६०० स्थानीय महिलाले आयआर्जनमा जोडिने अवसर पाएका छन्। उद्योगमा खटिने नियमित कर्मचारी १४ जना छन्, जसमा तीन पुरुष र बाँकी महिला छन्।

पहिले सिकारु, अहिले उद्यमी

बुद्धिमायाको सीप र काम देशभर फैलिएको छ, विदेशमा निर्यात हुन्छ। यसमा उनको दुई दशक लामो अथक परिश्रम र पसिना गाँसिएको छ। यो जान्न २०६२ सालमा फर्किनुपर्छ, जतिखेर पदमपुर नयाँ बस्ती थियो; राप्ती किनारस्थित २०० वर्ष पुरानो थातथलोबाट १५ किलोमिटर उत्तरमा पर्ने साबिक जुटपानी गाविसनेर सारिएको।

बुद्धिमाया घले। तस्बिरः सुरज रत्न शाक्य

बुद्धिमाया नयाँ बस्तीका बालबच्चा पढ्ने विद्यालय निर्माणका लागि चाहिने निर्माण सामग्री ओसार्थिन्। जसै जंगल फँडानी गरेर भर्खरै बस्ती बसाइएको पदमपुरका करिब दुई हजार घरपरिवार जीविका चलाउन केही न केही ज्यालादारी गर्थे। जो सुरक्षित बसोबासका खातिर पुर्ख्यौली थलोको उर्वरभूमि माया मार्न विवश भए। बर्सेनि नदी कटानले खेती नष्ट गर्ने, बर्खामास भेलबाढी बढ्दा अर्को गाउँ जान खोला तर्न नसकिने, राप्तीपारि उपचार गर्न जान नसकिने, चितवन राष्ट्रिय निकुञ्ज (तत्कालीन शाही चितवन राष्ट्रिय निकुञ्ज)मा जंगली जनावरको संख्या बढेकाले साँझपख अर्को गाउँ जानै डराउनुपर्ने, दुःख हैरानी बढेपछि पुर्ख्यौली थलो छोड्न बाध्य भए।

२०६२ सालतिरको कुरा हो। बालुवा ओसार्दै थिइन्। गाउँकै विद्यालयनजिक आमा, भाउजु, दिदी उमेरका महिलाले ऊन बाटेको देखिन्। उनलाई पनि सिक्ने रहर पलायो। त्यतिबेला पदमपुरका गृहिणी महिलाको सीपविकास, आयआर्जन र सशक्तीकरणका लागि सरकारका तर्फबाट राष्ट्रिय प्रकृति संरक्षण कोष र दातृनिकायका तर्फबाट संयुक्त राष्ट्रसंघीय विकास कोष (यूएनडीपी)ले बाघ गैँडा संरक्षण परियोजना (टीआरसीपी) अन्तर्गत ऊन बाट्ने कार्यक्रम सञ्चालन गरेका थिए। सोही परियोजनामार्फत गृहिणीहरूले ऊन बाट्ने तालिम लिँदै थिए। सरकारले २०५२ सालमा ‘पदमपुर गाउँ विकास समिति स्थानान्तरण समिति’ गठन गरेर स्थानान्तरण गरेको नयाँ बस्तीको जीविकोपार्जन उत्थानका लागि साउन २०५८ देखि वैशाख २०६३ सम्म (जुलाई २००१ देखि अप्रिल २००६) टीआरसीपी परियोजना लागु गरिएको थियो। यसबाट ऊन बाट्ने, च्याउ खेती, मौरीपालन, भुसे चुलो निर्माण, साबुन बनाउने, अगरबत्ती बनाउनेलगायत सीपमूलक तालिम र आयआर्जनको अवसर उपलब्ध गराइएको थियो। जसमध्ये ऊनको काम, च्याउ खेती र मौरीपालन व्यावसायिक रूपमा फस्टाएका छन्।

ऊन, धागो कात्ने तालिम।तस्बिर : बुद्धिमाया घलेको फेसबुक

२०६२ सालमा ऊनसम्बन्धी तालिम लिने पहिलो ब्याचकी विनमाया गुरुङसँग अनुरोध गरेर बुद्धिमायाले पनि सिक्न पाइन्। त्यही सीपले आज बुद्धिमायालाई सफल उद्यमीको परिचय दिएको छ। “मैले के काम गरिनँ? पत्रिका पो बाँडिनँ कि, लेबर काम गरिनँ कि, होटलमा पनि काम गरेँ। जसो गरे पनि नहुने भएपछि विदेश जान खोजेँ,” उनी विगत सुनाउँछिन्।

सुरुमा ऊन काटेर ज्याला बुझ्थिन्, जसरी आज अरूलाई ज्याला दिन्छिन्। राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७२ सालमा ‘हरियो वन कार्यक्रम’ मार्फत तालिम, ऊन, चर्खा र तान मेसिन थपिदिएपछि समूहको नेतृत्व लिइन्। यसले थप क्षमता र व्यक्तित्व विकासमा सघायो।

सरकार, दातृनिकाय तथा संघसंस्थाको सहयोगले सुरु भएका सीपमूलक गतिविधिले विशेषगरी महिलाको जीवनस्तर सुधार्न टेवा पुर्‍याएका छन्। महिलाहरूको कृषि र गैरकृषि दुवै क्षेत्रमा संलग्नता बढिरहेको छ।

२०७३ सालमा नौ दिदीबहिनी मिलेर तीन लाख लगानी जुटाएर बी.एम. अर्थात् ‘विकास महिलाको’ नामको समूहबाट ऊनको काम विस्तार गरे। २०७५ सालमा प्रशिक्षण उद्योगका रूपमा दर्ता गरे। समूहमा उद्योग राम्ररी नचलेपछि बुद्धिमाया एक्लैले जिम्मा लिइन्। सिलाइकटाइ सिकिन्। उद्योग विस्तार गरिन्। उद्यम फस्टाएपछि घरव्यवहार चलाउन सहज भयो। वैदेशिक रोजगारमा गएका श्रीमान्‌लाई घरै बोलाइन्। अचेल उनी उद्योग सञ्चालनका लागि चाहिने कच्चापदार्थको व्यवस्थापन र बजारीकरण सम्हाल्छिन्। श्रीमान् छोराछोरी रेखदेख गर्न र उद्योग सञ्चालनमा सघाउँछन्। तैपनि, माग धान्न धौधौ पर्छ। “यति धेरै खटेर पनि बजारमा गलैँचाको ‘अर्डर’ अनुसारको माग पूरा गर्न सकिरहेकी छैन,” उनी भन्छिन्।

गलैचा बुन्न तयार गरिएको धागो। तस्बिरः सुरज रत्न शाक्य

रोजगारीको अवसर

उनी कच्चा ऊन चीनबाट आयात गर्छिन् र गाउँका महिलालाई बाट्न दिन्छिन्। धागो तयार भएपछि रंग्याउन काठमाडौँ पठाउँछिन्। रंग्याएको धागो फेरि गाउँमै ल्याएर चकटी र गलैँचालगायत सामान बनाउन गाउँमै बाँड्छिन्। चर्खा र तान मेसिन निःशुल्क घरैमा व्यवस्था गरिदिन्छिन्। स्थानीयहरू ढाका र गिफ्ट आइटमहरू पनि उत्पादन गरेर उनलाई बुझाउँछन्। बुद्धिमायाले ऊन, चर्खा जोहो गर्ने र बजारीकरण गर्ने भएपछि पदमपुरवासी घरैमा बसेर कमाइ गर्न पाएकामा दंग छन्।

८१ वर्षीया ठूलीमाया प्रजा भन्छिन्, “बुद्धिमायाको फ्याक्ट्रीले गर्दा हामीले कोरोना लाग्दा पनि हात खाली भएर बस्नुपरेन।” विनमाया र ठूलीमाया लगायतले ऊन बाटेरै मासिक ६ हजारदेखि १६ हजार रुपैयाँ पारिश्रमिक बुझ्छन्।

अल्लोको कपडा बुन्दै बाग्लुङकी भिमा रोका। तस्बिरः सुरज रत्न शाक्य

ऊनको कामबाट आयआर्जन गर्न पाएपछि विशेषगरी महिलालाई वनजंगलप्रतिको निर्भरता घटेको छ। “रक्सी पारेर बेच्ने,  गाईबस्तु पालेर नुनतेल किन्ने खर्च जुटाउथ्यौँ, त्यसका लागि जंगल धाइरहनुपर्थ्यो, जंगली जनावरको डर हुन्थ्यो,” ७२ वर्षकी विनमाया भन्छिन्, “ऊनको कामले धेरै हलुका भएको छ, यो उमेरमा खाली बस्नुपरेको छैन।”

बचत गर्ने बानी

पदमपुरका महिला कमाइको केही अंश सहकारीमा बचत गर्छन्। “दुःखबिमार, आपत्‌विपत्‌मा सरसापट, ऋणपान गर्न सजिलो भएको छ,” बुद्धिमाया भन्छिन्। यूएनडीपीले सरकार र सरोकारवाला संघसंस्थासँग समन्वय गरेर पदमपुरलगायत देशभर सीप विकासमूलक तालिम र उद्यम स्थापनामा सहायता प्रवाह गरेर सन् २०१८ देखि २०२२ सम्मको पाँच वर्षमा मात्रै ८० हजार लघु उद्यमी उत्पादन गरेको छ। तीमध्ये ८२ प्रतिशत महिला छन्। महिलामा पनि ७२ प्रतिशत युवती र किशोरीहरू छन्।

उद्यमी बन्ने लहर

‘चुलाचौकामा मात्रै सीमित हुनुपर्छ’ भन्ने पुरातन मान्यतालाई चुनौती दिँदै महिलाहरू व्यापार, उद्यम, व्यवसाय र आयआर्जनमा संलग्न हुने क्रम देशैभरि बढेको छ। सरकार, दातृनिकाय तथा संघसंस्थाको सहयोगले सुरु भएका सीपमूलक गतिविधिले विशेषगरी महिलाको जीवनस्तर सुधार्न टेवा पुर्‍याएका छन्। महिलाहरूको कृषि र गैरकृषि दुवै क्षेत्रमा संलग्नता बढिरहेको छ।

कात्तिक-पुस २०७० सम्म भीमालगायत गाउँका महिलाले लघुउद्यम विकास कार्यक्रमबाट मेसिनमा अल्लो धागोको कपडा बुन्न सिकेका थिए। १२ महिलाको सोनाम समूहले कपडा बुन्ने कामलाई १२ वर्षदेखि निरन्तरता दिँदै आएको छ।

६ वर्षअघि मात्रै बागलुङको ताराखोला गाउँपालिकामा ‘ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रममार्फत ३८० किलोवाटको लघु जलविद्युत् आयोजना निर्माण गरिएपछि महिलालाई आयआर्जन गर्न सहज भएको छ। महिलाले समूहमा मिलेर अल्लोबाट धागो निकाल्ने, त्यही धागोको कपडा बुनेर कोट, इस्टकोट, झोलाजस्ता तयारी सामग्री उत्पादन गर्ने, स्थानीय आलुको चिप्स, साबुन बनाउनेजस्ता उद्यम गर्छन्।

बत्ती भएपछि गाउँमा अल्लो पेलेर धागो बनाउन सजिलो भएको ताराखोला गाउँपालिका-५ स्थित सोनाम अल्लो कपडा बुनाइ समूहकी ३५ वर्षीया भीमा रोका बताउँछिन्। “बिहान-दिउँसो मेलापात भ्याएर राति बत्तीको उज्यालो पारेर बुन्न सजिलो भएको छ,” उनी भन्छिन्। कात्तिक-पुस २०७० सम्म भीमालगायत गाउँका महिलाले लघुउद्यम विकास कार्यक्रमबाट मेसिनमा अल्लो धागोको कपडा बुन्न सिकेका थिए। १२ महिलाको सोनाम समूहले कपडा बुन्ने कामलाई १२ वर्षदेखि निरन्तरता दिँदै आएको छ। बागलुङ, म्याग्दी र पर्वत जिल्लामा प्रशस्तै अल्लो पाइन्छ। बज्यै-आमा पुस्ताले हाते तानमा बुनेको अल्लोको लुगा ओढ्ने-ओछ्याउने चलन थियो। नयाँ पुस्ताले पनि हाते तान चलाउन सिक्यो। मेसिन तानमा बुन्ने तालिम र मेसिन पाएपछि घरैमा बसेर आयआर्जन गर्ने अवसर मिलेको ४६ वर्षीया भीमकली रोका बताउँछिन्।

बाग्लुङकी भिमा रोका। तस्बिरः सुरज रत्न शाक्य

उद्यम व्यवसायमा बिस्तारै महिलाको वर्चस्व बढ्न थालेको नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनाको विश्लेषण छ। उनी भन्छिन्, “पहिले पहिले नेपालको उद्यम-व्यवसायमा पुरुषको हस्तक्षेप थियो, तर अहिले सहरबजारदेखि गाउँसम्मै कृषि र हस्तकलादेखि प्रविधि र उद्यमसम्म महिलाहरूको संलग्नता उत्साहजनक छ।”

२०७८ सालको जनगणनाअनुसार कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषिबाहेकका साना घरेलु व्यवसाय सञ्चालन गर्ने कुल ६ लाख २७ हजार ८८७ घरपरिवारमध्ये मुख्य रूपमा महिलाले सञ्चालन गरेका घरेलु व्यवसाय ४५ प्रतिशत छन्। आर्थिक रूपले सक्रिय जनसंख्या (१० वर्ष वा सोभन्दा बढी उमेरका) मध्ये कृषि, वन र माछापालनलाई मुख्य पेसाका रूपमा अपनाउने महिलाको संख्या पुरुषभन्दा बढी छ। साथै, कृषि, वन र माछापालनमा आधारित औद्योगिक क्षेत्रमा पनि महिलाकै वर्चस्व छ।

महिला उद्यमीलाई प्रोत्साहन

राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थामार्फत महिलालाई सहुलियत कर्जा उपलब्ध गराउने नीति लागु गरेकाले आयआर्जनमा उत्प्रेरित गरेको डेपुटी गभर्नर ढुंगाना बताउँछिन्। “उद्यम व्यवसायका लागि ऋण लिनेमा ९८ प्रतिशत महिला नै छन्, धेरैले सदुपयोग गरेका पनि छन्,” उनी थप्छिन्, “त्यस्तै, लैंगिक उत्तरदायी बजेट छुट्याउने, महिला उत्थानमा लगानी गर्नेजस्ता अरू सरकारी प्रयास भएका छन्।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यले उद्यमशीलता र सीपमूलक तालिम लिएर उद्यमी बन्न चाहनेलाई प्रोत्साहन गर्न र उद्यमशीलता प्रवर्द्धनका लागि प्रविधि सहयोग गर्छ।

महिला सशक्तीकरणका लागि आर्थिक, सामाजिक र राजनीतिक प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्न सरकारले आव २०६४/६५ यता लैंगिक उत्तरदायी बजेट विनियोजन गर्दै आएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आव २०८२/८३ मा महिलालाई ५० प्रतिशत वा सोभन्दा बढी प्रत्यक्ष लाभ पुग्ने गरी देशको कुल बजेटको ४४.२८ प्रतिशत बजेट लैंगिक उत्तरदायी शीर्षकमा विनियोजन गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यले उद्यमशीलता र सीपमूलक तालिम लिएर उद्यमी बन्न चाहनेलाई प्रोत्साहन गर्न र उद्यमशीलता प्रवर्द्धनका लागि प्रविधि सहयोग गर्छ। यसमा प्रतिमहिला उद्यमीले कम्तीमा दुई लाख र एक महिला उद्यमी समूहले तीनदेखि पाँच लाखसम्मको उपयुक्त प्रविधि सहयोगबापतको रकम पाउँछन्।

यसैगरी, स्थानीय तहले महिलालाई आयआर्जनमा सघाउन वित्तीय साक्षरता गराउने, बीउ पुँजी र अनुदान उपलब्ध गराउनेजस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल नगरपालिका संघका महासचिव नरूलाल चौधरी बताउँछन्।

घरव्यवसाय हाँक्ने अवसर

नेपालमा सामाजिक तथा आर्थिक विकासको माध्यमका रूपमा महिला उद्यमशीलताको अवधारणा लोकप्रिय हुँदै गएको दुई वर्षअघि जर्नल अफ टुरिज्म एन्ड एड्भेन्चर मा प्रकाशित ‘नेपालमा महिला र उद्यमशीलता’ विषयक अध्ययनपत्रले प्रकाश पारेको छ। आफू र परिवारको जीवनस्तर सुधार्न महिलाले उद्यम-व्यवसाय गर्ने चलन बढ्दै गएको छ।

राष्ट्रिय महिला आयोगले गत वर्ष प्रकाशन गरेको ‘नेपालमा महिलाको अवस्था’ नामक अध्ययनले महिला र समावेशितालक्षित नीतिगत व्यवस्था तथा कार्यक्रमको नतिजास्वरूप सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला प्रतिनिधित्व, नेतृत्व र योगदान क्रमशः सुधारोन्मुख रहेको देखाएको छ। महिलाहरूको आर्थिक सशक्तीकरणले घरको नेतृत्व र निर्णयमा स्थान पाउन थालेको छ।

यसैगरी, परिवारका पुरुष सदस्य वैदेशिक रोजगारीमा जाने दर बढी भएकाले पनि घरमा हुने महिला सदस्यहरू घरव्यवहार धान्नेदेखि पेसा, व्यवसाय र उद्यममा संलग्न हुन थालेको घोराही उपमहानगरपालिकाका मेयरसमेत रहेका चौधरी बताउँछन्। “सदियौँदेखि घरको निर्णय, आम्दानी र खर्चमा पुरुषकै हात रहँदै आयो,” उनी भन्छन्, “पुरुषहरू विदेश जान थालेपछि छोराछोरी हुर्काउने, बढाउने, पढाउने र खर्च जुटाउने काम महिलाले गरिरहेका छन्, केही न केही आयआर्जनमा लाग्ने र परिवार धान्ने अवसर पाएका छन्।”