झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताएका छन्।
दमकमा सोमबार आयोजित कार्यक्रममा उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए।
अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गरे। नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उनको भनाइ छ।
अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए। नेकपा (एमाले) ले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स गठन गरेको उनको भनाइ छ। उनले चुनावी सभालाई सम्बोधन गर्दै देशभरका जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडिसकेको बताए।
कोशी प्रदेशको ताप्लेजुङबाट ओलचुंगोलसम्मको सडक खोलिएको र कालोपत्रे हुँदै गइरहेको बताउँदै अध्यक्ष ओलीले भने, “हाम्रो काम भनेको विकास गर्ने हो, यस ठाउँबाट मात्र होइन हरेक स्थानमा पुल बाटा बनाइएको र कृषिलाई आधुनिकरण गरिएको छ।”