विश्वविद्यालय
प्रधानमन्त्रीको अनुकूल समयमा त्रिविको दीक्षान्त समारोह गर्ने विगतका अभ्यासविपरीत यसपटक प्रमुख अतिथिको समयतालिकामा सम्पन्न
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहको तयारी हुँदै थियो। प्रमुख अतिथिका रूपमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितालाई निम्ता गर्ने टुंगो लाग्यो। काजिताको समयतालिका बुझ्दा उनले एउटा दिन तोकेर त्यो समयमा मात्र आफू सहभागी हुने खबर पठाए।
त्रिविले हरेक अंग्रेजी वर्षको अन्तिम महिनामा दीक्षान्त समारोह आयोजना गर्छ। प्रधानमन्त्रीको समयअनुकूल समारोह गर्नुपर्ने विगतका अभ्यास भएकाले समारोह गर्ने दिनको टुंगो लगाइएको हुँदैन। त्रिवि परीक्षा नियन्त्रकले प्रधानमन्त्री र विदेशी पाहुनाको उपलब्धता बुझेर मात्रै समारोह आयोजना गर्ने दिनको टुंगो लगाउँछन्।
प्रमुख अतिथिका रूपमा नोबेल पुरस्कार विजेता काजिताले १० पुसको समय तोकेका थिए। तर, उक्त दिन प्रधानमन्त्री एवम् त्रिविकी कुलपति सुशीला कार्कीको समय मिल्ने हो कि होइन भन्ने कुराले विश्वविद्यालय प्रशासन तनावमा थियो। विगतमा प्रधानमन्त्रीको व्यस्तताका कारण दीक्षान्त समारोहको मिति तय गर्न त्रिविलाई हम्मे पर्थ्यो। प्रधानमन्त्रीको समय मिलाएर मात्रै त्यसैअनुसार समारोह गर्ने दिनको टुंगो लगाएर प्रमुख अतिथिलाई निम्ता गर्नुपर्थ्यो।

नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता। तस्बिर : नेपाल फोटो लाइब्रेरी
तर, यसपटक प्रमुख अतिथि काजिताले निश्चित दिनबाहेक सहभागी हुन नसक्ने बताएका थिए। त्यसअघि दीक्षान्त समारोहको चाँजोपाँजो मिलाइरहेका त्रिविका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले प्रधानमन्त्री कार्कीसँग भेटेर समारोह आयोजना गर्ने अनुमानित मिति मात्रै तय गरेका थिए।
त्यस्तो स्थितिमा प्रधानमन्त्री एवम् कुलपतिले १० पुसका लागि समय नदिए के गर्ने भनेर त्रिवि प्रशासन अन्योलमा थियो। प्रधानमन्त्रीको समय टुंगो लगाउनुपर्ने यस्तो अन्योल र तनाव हरेक वर्ष दोहोरिन्छ।
त्रिविबाट उच्च शिक्षा उत्तीर्ण गरेका १६ हजार ३०० भन्दा बढी विद्यार्थी १० पुसमै नोबेल पुरस्कार विजेता काजिताको प्रमुख आतिथ्यमा दीक्षित भए।
तर, यस पटकको दीक्षान्त समारोहमा कुलपतिको समय व्यवस्थापनको सकसमा त्रिवि प्रशासनले टाउको दुखाउनै परेन। परीक्षा नियन्त्रक पौडेलले प्रमुख अतिथिको व्यस्तता र उनले दिएको समयबारे प्रधानमन्त्री कार्यालयमा जानकारी गराए। प्रधानमन्त्री कार्की प्रमुख अतिथि काजिताकै समयतालिकाबमोजिम दीक्षान्त समारोह गर्न सकारात्मक भइन्।

११ माघमा आयोजित खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी। तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल प्रधानमन्त्री कार्कीले प्राज्ञिक संस्था र प्रमुख अतिथि रहेका विदेशी पाहुनाको समयतालिकालाई सम्मान गर्दै सोहीअनुकूल समारोहमा सहभागिता जनाएको बताउँछन्। “पहिलेका दीक्षान्त समारोहमा पनि बल्लतल्ल प्रमुख अतिथिको समय मिलायो, यता प्रधानमन्त्रीको नमिल्ने वा प्रधानमन्त्रीकै समयमा गर्नुपर्ने, समय मिलाउनै सकस पर्ने गरेको रहेछ, यसपालि पनि यही तनावमा पर्नुभएछ,” उनी भन्छन्, “प्रधानमन्त्रीज्यू निर्देशित हुनु हुँदैन, शैक्षिक तथा प्राज्ञिक क्यालेन्डर तलमाथि पार्नुहुँदैन भन्ने पक्षमा हुनुभएकाले ‘जापानबाट आउनेको समय मिल्छ भने मेरो समय नमिल्ने भन्ने हुन्छ र’ भन्दै सहमति दिनुभयो।”
कुलपतिले दीक्षान्त समारोहमा उपस्थित हुनुपर्ने नियमित प्रक्रिया भए पनि यसअघिका प्रधानमन्त्रीले भने आफ्नो अनुकूलको समयमा कार्यक्रम गर्नुपर्ने अड्डी कस्थे। यति मात्र होइन, समारोहबारे छलफलका लागि प्रधानमन्त्रीसँग भेट गर्ने समय पाउनै धौधौ पर्थ्यो। यही बहानामा प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरूका आसेपासेलाई लाभको पद दिलाउनुपर्ने, जागिर खुवाउनुपर्नेजस्ता बार्गेनिङ हुन्थे।
अन्ततः त्रिविबाट उच्च शिक्षा उत्तीर्ण गरेका १६ हजार ३०० भन्दा बढी विद्यार्थी १० पुसमै नोबेल पुरस्कार विजेता काजिताको प्रमुख आतिथ्यमा दीक्षित भए।
त्रिविका परीक्षा नियन्त्रक पौडेलका अनुसार करिब पाँच घण्टासम्म सञ्चालन भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले पूरै समय उपलब्ध गराएकी थिइन्। “यस हिसाबले यस वर्षको दीक्षान्त समारोह विशेष भयो,” उनी भन्छन्।
हालसम्म शैक्षिक र प्राज्ञिक निकायका प्रस्तावित कार्यक्रमअनुसार नै प्रधानमन्त्री कार्की उपस्थित भइरहेको रावल बताउँछन्।

८ फागुनमा आयोजित पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहमा कुलपति सुशिला कार्की विद्यार्थीलाई दीक्षित गर्दै। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने प्रावधान छ। कुलपतिले दीक्षान्त समारोहमा उपस्थित हुनुपर्ने नियमित प्रक्रिया भए पनि यसअघिका प्रधानमन्त्रीले भने आफ्नो अनुकूलको समयमा कार्यक्रम गर्नुपर्ने अड्डी कस्थे। यति मात्र होइन, समारोहबारे छलफलका लागि प्रधानमन्त्रीसँग भेट गर्ने समय पाउनै धौधौ पर्थ्यो। यही बहानामा प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरूका आसेपासेलाई लाभको पद दिलाउनुपर्ने, जागिर खुवाउनुपर्नेजस्ता बार्गेनिङ हुन्थे।
प्रधानमन्त्री कार्कीले विगतमा दीक्षान्त समारोहलाई प्राथमिकता नदिने विगतका अभ्यास अन्त्य गरेकी छन्।
विद्यार्थी संगठनबीचको भाँडभैलोका कारण त्रिविको दीक्षान्त समारोह वर्षौंसम्म ठप्प भएको शिक्षाविद् तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा सम्झन्छन्। “मैले कार्यभार सम्हालेपछि दीक्षान्त समारोह फेरि गर्न थालेका थियौँ, १० वर्षजति हुन नसकेको दीक्षान्त सुचारु गर्दा विद्यार्थीको प्रमाणपत्रमा हस्ताक्षर गर्न मलाई १० दिनजति रातिसमेत समय लागेको सम्झना छ,” उनी बताउँछन्। त्रिविका पूर्वउपकुलपति पुष्पराज जोशीले प्रधानमन्त्रीकै कार्यतालिका टुंगो लागेपछि मात्रै दीक्षान्त समारोहको मिति तय गर्ने गरिएको सम्झन्छन्। “एक महिनाअघिदेखि नै हामीले फलोअप गरिरहनुपर्थ्यो,” उनी भन्छन्। जोशीका अनुसार प्रधानमन्त्री आउन नभ्याउने भए समारोहको अध्यक्षता ग्रहण गर्न शिक्षामन्त्रीलाई पठाउँथे। कतिपय प्रधानमन्त्री समारोहलाई सम्बोधन गरेर चाँडै निस्कने पनि गर्थे।
प्रधानमन्त्री कार्कीले विगतमा दीक्षान्त समारोहलाई प्राथमिकता नदिने विगतका अभ्यास अन्त्य गरेकी छन्। प्रधानमन्त्रीले रुचि र चासोका साथ विश्वविद्यालयका दीक्षान्त समारोहमा सहभागी हुनुले सकारात्मक सन्देश जाने माथेमा बताउँछन्। “पहिले विद्यार्थीको झमेलामा किन फस्ने भनेर पनि होला, प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई पठाउने गर्थे, अहिले प्रधानमन्त्री नै उत्सुकतापूर्वक सहभागी हुनुले उच्च शिक्षाप्रति चासो बढेको देखिन्छ,” माथेमा भन्छन्।
प्रधानमन्त्री कार्कीले गत ४ मंसिरमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (पहिलो चरण), ११ माघमा खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह र ८ फागुनमा पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागिता जनाइन्। गत १२ मंसिरमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)को ४९औँ प्राज्ञसभा र ३० पुसमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ सभामा पनि कार्की स्वयं उपस्थित भइन्।

गत ११ माघमा आयोजित खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको साथमा अतिथिहरू। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
नास्टका मुख्य प्रशासकीय अधिकृत शिवप्रसाद उपाध्याय यस पटकको प्राज्ञसभा आफूहरूले प्रस्ताव गरेकै समयमा नास्ट परिसरमा सम्पन्न गर्न सफल भएको बताउँछन्। “प्रधानमन्त्री कस्तो हुनुहुन्छ, को हुनुहुन्छ भन्नेमा भर पर्छ, विगतमा अस्वस्थताका कारण प्रधानमन्त्री कार्यालय बालुवाटारमा कार्यक्रम गर्थ्यौं,” उपाध्याय भन्छन्, “यसपालि हामीले प्रस्ताव गरेकै समयावधिमा नास्ट परिसरमा नै प्रधानमन्त्रीज्यूको उपस्थितिमा प्राज्ञसभा गर्यौँ।”
नास्टले विगतमा प्राज्ञसभाको मिति प्रधानमन्त्रीको समयअनुकूल टुंगो लगाउनुपर्थ्यो। नास्टको ४९औँ प्राज्ञसभा त तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अनुकूलताअनुसार गत २४ भदौमा प्रधानमन्त्री निवास बालुवाटारमै गर्ने तय भएको थियो। तर, जेन-जी आन्दोलनका कारण स्थगन हुन पुगेको थियो।