निकुञ्जका अधिकारी भन्छन्- ‘वन्यजन्तुको वासस्थान खुम्चिएपछि बढ्यो द्वन्द्व’
बुटवल। गत २१ पुसमा गाईबस्तु चराउन गएका बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सौरीका ६१ वर्षीय मरिचमान भण्डारीको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भयो।
२३ पुसमा पनि बाघको आक्रमणबाट बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानीकी ५७ वर्षीया गंगा सारूको ज्यान गयो।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र र प्रभाव क्षेत्र आसपासका क्षेत्रमा एक महिनामा भएका यी घटना लुम्बिनी प्रदेशमा मानव-वन्यजन्तु द्वन्द्व कतिविघ्न चुनौतीपूर्ण बनिरहेको छ भन्ने देखाउने दृष्टान्त हुन्। यस प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्मका ६ महिनामै बाघलगायत वन्यजन्तुको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ। यीमध्ये बर्दियामा आठ जना तथा कपिलवस्तु र बाँकेमा एक एक जनाको मृत्यु भएको हो।
यस अवधिमा वन्यजन्तुको आक्रमणबाट १४ जना घाइते भएका छन् भने घरपालुवा ९७ वटा पशुचौपाया मारिएका प्रदेशको वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ। वन्यजन्तुतर्फको क्षति पनि उस्तै छ। साउनयताका ६ महिनामा १७ वटा वन्यजन्तुको मृत्यु भएको र ३१५ वटा घाइते वन्यजन्तुको उद्धार गरिएको वन निर्देशनालयका महानिर्देशक प्रभात सापकोटाले जानकारी दिए।
लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तु द्वन्द्व सधैँको समस्या रहँदै आएको छ। खासगरी वनविनाश, मानव अतिक्रमणबाट वन्यजन्तुको वासस्थानमा संकुचन र जैविक मार्ग अवरोधका कारण वन्यजन्तुहरू मानव बस्तीमा प्रवेश गर्दा दुवै पक्षबीच द्वन्द्व र क्षति हुँदै आएको छ। वन्यजन्तुको आक्रमणबाट मानव मृत्यु, घाइते, घरगोठको क्षति र बालीनालीको विनाश हुने गरेको छ। जसको बदलास्वरूप मानिसहरूले वन्यजन्तुलाई निसाना बनाउने गरेका छन्।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल वन्यजन्तुको वासस्थान खुम्चिएपछि द्वन्द्व बढेको बताउँछन्। “निकुञ्जभित्र राजमार्ग, नहर, बिजुलीको हाइटेन्सन लाइनजस्ता संरचनाले वन्यजन्तुको वासस्थानमा असर परेको छ, जसका कारण वन्यजन्तु बस्ती क्षेत्रमा प्रवेश गर्न थालेका हुन्,” उनी भन्छन्।

२०७८ सालमा लुम्बिनी प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयमार्फत अध्ययन भएर सार्वजनिक गरिएको ‘लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन अध्ययन प्रतिवेदन’ ले पनि मानव-वन्यजन्तु द्वन्द्व हुनुमा दुवैले एकअर्काको वासस्थानमा गरेको अतिक्रमणलाई कारण मानेको छ। प्रतिवेदनले यस प्रदेशका १२ जिल्लामध्ये बाँके, बर्दिया, दाङ, अर्घाखाँची, गुल्मी, प्युठान, रुपन्देही र रुकुम पूर्वमा मानव-वन्यजन्तु द्वन्द्व बढिरहेको उल्लेख गरेको थियो। प्रतिवेदनका अनुसार बाँके र बर्दियामा हात्ती, बाघ, चितुवा र बँदेल तथा अर्घाखाँची र गुल्मीमा चितुवा र बँदेलसँग मानिसको द्वन्द्व छ। यस्तै, प्युठान, दाङ र पाल्पामा बाँदर, बँदेल, चितुवा र दुम्सी, रुकुम पूर्वमा ढोरपाटन सिकार आरक्ष आसपासमा बँदेल, भालु र ब्वाँसोका कारण द्वन्द्व हुने गरेको उल्लेख छ।
बर्दियामा पछिल्लो पाँच वर्षमा वन्यजन्तुको आक्रमणमा परी ५३ जनाको ज्यान गएको छ। जसमध्ये ३६ जनाको मृत्यु बाघको आक्रमणबाट भएको हो।

बाघको संख्या बढेसँगै वन क्षेत्रनजिकैका बस्तीमा मानव मृत्यु पनि बढिरहेको छ। २०७८ सालमा गरिएको चौथो राष्ट्रिय बाघ गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ भेटिएका थिए। उक्त गणनामा देशभरि बाघको संख्या ३५५ पुगेको थियो। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा, बर्दियामा १२५ वटा, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ पाइएका थिए। बाघ गणना हरेक चार वर्षमा गर्ने गरिएको छ।
वन्यजन्तुलाई बस्तीमा प्रवेश गर्नबाट रोक्न स्थानीय अधिकारी र सुरक्षाकर्मीहरूले रात्रि गस्ती गर्छन्। तर, यसले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सकेको छैन। डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदी भन्छन्, “एकातिर वन क्षेत्रमा मानव बस्ती विस्तार हुँदै गएको छ र अर्कातिर वन्यजन्तुका लागि प्राकृतिक सिकारको अभाव छ, जसले गर्दा मानव-वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ।”