काठमाडौँ। वरिष्ठ गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ।
दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए। मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो।
बाँकेका पत्रकार नमस्कार शाहका अनुसार शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अवस्था सुधार नभएपछि निर्मोहीलाई सोमबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।
भेरी अस्पतालबाट आज (मंगलबार) निवास ल्याइएका निर्मोहीको निधन साँझ भएको हो। मिर्गौला रोगबाट पीडित उनकी पत्नी हेरमदेवी विकको गएको २३ माघमा निधन भएको छ।