काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आसन्न निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष तथा मानवअधिकारको सम्मान हुने वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै सरोकारवालालाई आह्वान गरेको छ।
बुधबार (फागुन १२) राजधानीमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अवधिमा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न तथा नगराउन ध्यानाकर्षण गराउँदै नागरिकका मौलिक अधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। उनले निर्वाचन प्रक्रियालाई भयमुक्त बनाउन राजनीतिक दल, उम्मेदवार, राज्य संयन्त्र र नागरिक समाज सबै पक्षको जिम्मेवारी रहेको धारणा व्यक्त गरे।
अध्यक्ष मगरले निर्वाचनको सन्दर्भमा संयम अपनाउन, अरूलाई लक्षित अपमानजनक वा घृणास्पद अभिव्यक्ति नगर्न तथा सामाजिक र सांस्कृतिक सद्भावमा असर पर्ने सामग्री प्रकाशन तथा प्रसारणबाट टाढा रहन सम्बन्धित निकायहरू सचेत हुनुपर्ने बताए। उनले निर्वाचन खर्च व्यवस्थापनमा पारदर्शिता कायम गर्नु आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारहरूले बैंक खातामार्फत खर्च सञ्चालन गर्ने व्यवस्था व्यवहारिक भएको बताए।
साथै, निर्वाचन आचारसंहिताविपरीत गतिविधि गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता वा सञ्चालकलाई समेत कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए। सक्षम र योग्य जनप्रतिनिधि छनोट गरी राज्य सञ्चालनमा योगदान पुर्याउने दायित्वमा नागरिकको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो।