काठमाडौँ। काठमाडौँको एक होटेलमा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले एकजनाको उद्धार गरेको छ।
काठमाडौँ महानगरपालिका १२‚ टेकुस्थित रोडलाइन प्यालेस होटेलमा पूर्णबहादुर बोहोरालाई बन्धक बनाई कुटपिट गरी घाइते अवस्थामा रहेको विशेष सूचना पाएपछि प्रहरी उद्धारमा जुटेको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मंगलबार बोहोराको सकुशल उद्धार गरिएको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट सुर्खेत वीरेन्द्रनगर ५ का फपेन्द्र न्यौपाने, कास्की माछापुच्छ्रे ७ का शिवबहादुर घर्ती र जुम्लाको तिला गाउँपालिका ८ का धनराज बस्नेतलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्कीले जानकारी दिए।