गण्डकी। निर्वाचनका बेला पत्रकारितालाई थप जिम्मेवार र मर्यादित बनाउन गण्डकी प्रदेशका पत्रकारलाई निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसहिंताका विषयमा अभिमुखीकरण गरिएको छ।
नेपाल पत्रकार महासंघद्वारा आज पोखरामा आयोजित उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमला बेल्वासेले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए। निर्वाचनको पारदर्शिताका लागि पत्रकारले सूचनाको पहुँच र व्यापकता वृद्धिमा ध्यान दिनुपर्ने उनले बताए।
“निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रामक सूचना प्रवाह भइरहेकाले त्यसलाई चिर्दै सत्यतथ्य सूचना नागरिकसामु पुर्याउने दायित्व आमसञ्चारमाध्यम र पत्रकारको हो”, मुख्य निर्वाचन अधिकृत बेल्वासेले भने, “लोकतन्त्रको आधारशिला निर्वाचन भएकाले यसलाई हामी सबै मिलेर सफल पार्नुपर्छ।” नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसंहिता पालनामा पत्रकार सजग हुनुपर्ने धारणा राखिन्।
आचारसंहिता पालनाको विषय पेसागत मर्यादासँग जोडिएको विषय भएकाले यसको उल्लंघन हुँदा पत्रकारको पेसा नै संकटमा पर्ने उनको भनाइ छ। अध्यक्ष शर्माले पत्रकारले समाचार लेख्दा जहिल्यै सत्यतथ्य, सन्तुलित र विश्वसनीयतालाई ध्यान दिनुपर्ने बताइन्। उनले पत्रकारलाई निर्वाचनका अवधिमा रिपोर्टिङका लागि सहज पहुँच दिलाउन निर्वाचन आयोगलगायत सम्बद्ध निकायमा समन्वय भइरहेको बताइन्।
प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले निर्वाचनका बेला सञ्चारमाध्यम र पत्रकारबाट भएका आचारसंहिता उल्लंघनका घटनामा परेका उजुरीको छानबिन गरी सम्बन्धित पक्षलाई स्पष्टीकरण सोधिएको बताए।
पत्रकारहरूले सामाजिक सञ्जालमार्फत पनि आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै काउन्सिलमा उजुरी र गुनासो आउनेक्रम बढेको उनको भनाइ छ। “आचासहिंता उल्लंघनका घटनामा काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ”, सदस्य लामिछानेले भने।
प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले समाचार संकलनमा पत्रकारलाई मतदानस्थलमा सहज पहुँचको व्यवस्था गरिने बताए। निर्वाचनको स्वच्छता र पारदर्शिताका लागि पत्रकार र आमसञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ। प्रदेशका ११ वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए। निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइ मतदानस्थलमा खटाउने तयारी भइरहेको प्रमुख ढकालले बताए।
कार्यक्रममा महासंघका अध्यक्ष शर्मा र सचिव प्रकाश धौलाकोटीले निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसहिंताका विषयमा सहजीकरण गरेका थिए। पत्रकार सधैँ आचारसंहितामा बस्नुपर्ने भए पनि निर्वाचनकाबेला रिपोर्टिङ गर्दा पत्रकारले थप संवेदनशीलता अपाउनुपर्ने सचिव धौलाकोटीले बताए।
कार्यक्रममा सामाजिक सञ्जालको सही प्रयोगका सम्बन्धमा पनि पत्रकारलाई अभिमुखीकरण गरिएको थियो। सहभागी पत्रकारले आचारसहिंतालगायत विषयमा समूहगत अभ्यास गरी प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा पोखरामा क्रियाशील पत्रकारसहित महासंघका प्रदेश र जिल्ला शाखाका अध्यक्ष, पदाधिकारीलगायतको सहभागिता रहेको थियो।
महासंघले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरेको अध्यक्ष शर्माले जानकारी दिइन्।