काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

१३ फाल्गुन २०८२
अ+
अ-

गुल्मी । फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न नपाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए ।

निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन प्रतिबद्ध जनाउँदै यस अवधिमा मदिराजन्य पदार्थको कारोबार र सेवनमा कडाइका साथ निगरानी गरिने उनले बताए ।

प्रशासनले निर्णय उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने जनाएको छ । जिल्ला प्रहरी कार्यालयले नियमित अनुगमन तथा संयुक्त गस्ती परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गैह्रे ले बताए ।

सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनको मर्यादा र शान्तिपूर्ण वातावरण कायम राख्न प्रशासनको निर्णयमा सहमति जनाएका थिए ।

जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण उद्योगी–व्यवसायी तथा सर्वसाधारण नागरिकलाई निर्णयको पालना गर्न अपिल गर्दै सहयोग गर्न अनुरोध गरेको छ ।

निर्वाचन अवधिभर जिल्लाभित्र शान्ति-सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको प्रशासनले जनाएको छ ।