काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

अनुभूति

छोरी, म छाती फुलाएर आफ्नो मतदानको नियति तिमीलाई सुनाउन सक्ने अवस्थामा छैन। तर, तिमीले आफ्ना सन्तानलाई निर्धक्क भएर आफ्नो मतदानको इतिहास सुनाउन सक्नुपर्छ।

१४ फाल्गुन २०८२
अ+
अ-

‘‘मामू! यो पटक हजुर केमा भोट हाल्ने? ए! साँच्चै हजुर कुन पार्टीको हो रे? थाहा छ हजुरलाई, म त यसपटक… लाई भोट दिन्छु। हजुर पनि त्यही भोट दिस्यो है। सुटुक्क भनिस्यो त मामू हजुरले आजसम्म आफ्नो मत परिवर्तन गर्नुभएको छ कि छैन? अनि हजुर सन्तुष्ट हुनुहुन्छ आफूले विजयी बनाएका जनप्रतिनिधिसँग?”

यति भनिरहँदा आरामले सुनिरहेकी म अबको उसको कुराले भने थोरै झस्किएँ। भन्दै थिई, “हजुरबारे त मैले गोप्य कुरा थाहा पाएँ नि! हजुर खुब नाराबाजी गर्दै जुलुसको अगाडि–अगाडि भोट माग्दै, माइकिङ गर्दै हिँड्नुहुन्थ्यो रे हो? नेता बनेर?’’

‘‘हैन तँलाई कसले भन्यो यो कुरा?’’ छोरीलाई सोधेँ।

‘‘चाचुबाबाले (कान्छा ससुरा)। भिमानमा हजुरलाई नारा लगाउँदै जुलुसको अगाडि–अगाडि माइक बोकेर हिँडेको देख्नुभएको थियो रे ! तेरी आमा त नेता बन्नुपर्ने मान्छे भन्दै हुनुहुन्थ्यो। साँच्चै हजुर त राजनीतिक परिवारबाट आएको मान्छे किन नेता नबनेको?’’ उसले एकैफेरोमा जवाफ र प्रश्न दुवै दिई।

छोरीको कुरा सुनेर केहीबेर त म रुख भएँ। उत्तर दिन सकिनँ। म किन बाहुन परिवारमा जन्मिएँ, जन्मजात हिन्दू भएँ, जवाफ मसँग छैन। सबै कुराको जवाफ हामीसँग नहुँदो रहेछ।

म खास राजनीतिक आस्था भएको परिवारमा जन्मिएँ। दुर्भाग्य, परिवारभित्र राजनीतिको नाममा ठूलो क्षति मैले भोग्नुपर्‍यो। आमाको गर्भमा आउनेबित्तिकै पिता गुमाउनु मेरो भाग्य र रहर थिएन, राजनीतिले दिएको घात थियो। मजस्ता कैयौँ टुहुराले कलिलैमा यो क्रूर वास्तविकता आत्मसात् गर्नुपरेको थियो। अझ कतिका त पिताको मात्र हैन माताको पनि साथ छुटेको थियो।

छोरीको जिज्ञासा सुनेर पढ्दै गरेको किताब थन्क्याएर म अतीतको चुनावी मैदानमा पुग्छु। आँगनभरि नेता र कार्यकर्ता छन्। सहिद परिवारप्रति सबैको सद्भाव छ। आमा महिला संघकी केन्द्रीय सदस्य। चुनावको तरंग अलि हुने नै भयो। मान्छेहरूले हात–हातमा ब्यानर बोकेका छन्। निधारमा टाँस्न चुनाव चिह्नको स्टिकर छ। टोपी छ। हातमा बाँध्ने पट्टी पनि छ। पार्टीको झण्डा छ। पार्टीका शीर्ष नेताहरूको फोटो। नमुना मतपत्र । चुनाव चिह्नलाई जोडतोडका साथ प्रचार गरिँदै छ।

हिँडेका छौँ रानीचुरीको उकालो, डाँडाकाँडा, ओरालो, भिरपाखा सबैतिर। कुन उत्साहले डोर्‍यायो त्योबेला मलाई। के हो पार्टीको सिद्धान्त? के हो नीति र कार्ययोजना, केही थाहा छैन। घर–घर गएर गाउँलेलाई भोट हाल्न सिकायो। राति खुट्टा टट्याउँथ्यो। चिच्याउँदा–चिच्याउँदा घाँटी सुकेर खस्रो हुन्थ्यो।

हरेकचोटिको विजय जुलुसमा उत्सव हुन्थ्यो। म हरेकचोटि त्यसरी नारा पुनः घन्काउँथे– यो जित कसको? हिप हिप हुर्रे ! माला र अबिरले अनुहार रातै हुन्थ्यो। उमंग र उत्साहले शरीर फूलजस्तै हुन्थ्यो। 

म छोरीलाई भनिरहेकी छु…

भिमान बजारमा आएपछि एकजनाले लेखेर दिएको नारा माइकमा बोलेछु। उसै त तिखो र ठूलो स्वर, झन् माइक नै भिरेपछि मेरो आवाज चुरे कटेर बर्दिबाससम्मै पुगेको थियो होला। अनि तेरो चाचुबाबाले सुन्नुभयो होला। तर बिहेभन्दा अगाडि मैले मतदान गरिनँ ! उमेर नै पुगेको थिएन।

एक दिन हाम्रो जुलुस भिमान स्कुलबाट चुरेको बाटो पूर्वतिर हिँडेको थियो। जुलुसमा साइँलीआमा र आमा पनि हुनुहुन्थ्यो। साइँलोबुबा, दाजुहरू, छिमेकी दिदीबहिनी र साथीहरू सबै थिए। सोचेकै थिएनौँ जुलुसमा यो किसिमको झगडा हुन्छ भनेर। गल्ती कसको थियो त्यो पनि थाहा थिएन। एकैचोटि हानाहान, पिटापिट भयो। भिडको आँखा हुँदैन रहेछ। ढुंगा, मुढा, लाठीको चोट खेप्दै हामी भागेका थियौँ। म गणेश दाइको होटेलभित्र छिरेकी थिएँ। दमिनी ठूलीले खाटमुनि तानेर लुकाएकी थिइन्। निकैबेरसम्म सास दबाएर लुकेकी थिएँ।

खाटबाट निस्किँदा त हाम्रो गाउँकै रामहरि दाइको टाउको फुटेको रहेछ। जनकपुर लैजान ठिकठाक पार्दै थिए। दाइको निधारबाट बगेको रगतको धारा देखेर म चिच्याएकी थिएँ। त्यो बेला मेरो मनमा उठेको आँधी अझ पनि महसुस गर्छु।

हरेकचोटिको विजय जुलुसमा उत्सव हुन्थ्यो। म हरेकचोटि त्यसरी नारा पुनः घन्काउँथे– यो जित कसको? हिप हिप हुर्रे ! माला र अबिरले अनुहार रातै हुन्थ्यो। उमंग र उत्साहले शरीर फूलजस्तै हुन्थ्यो। पार्टीले राम्रो काम गर्छ, हाम्रो नेताको विचार महान् छ, नेपालीले सुख पाउनेछन् भन्नेजस्ता कुराले दिमाग भरिएको थिए। पत्याएकी पनि थिएँ।

तर समयको उकालो चढ्दै गर्दा विश्वासका पर्खाल भत्किँदै गए। भरोसाका धर्ती भासिँदै गए। महान् सिद्धान्त र विचार बोकेर हिँडेकाहरूले नै छल गरेको आभास हुँदै गयो। आफैँले नायक बनाएर पठाएका प्रतिनिधि खलनायकजस्ता देखिन थाले। विश्वासघात गर्दै गए। छद्मभेषीहरूले सोझासाझा नेपालीमनलाई झुक्याए। उनीहरू आफू मात्र बदनाम भएनन् इतिहास र विचारलाई पनि अपवित्र बनाउने दुस्साहस गर्दै गए। निजी स्वार्थमा डुब्दै गए। आफैँप्रतिको विश्वास ढल्नुजस्तो पीडादायी क्षण केही हुँदैन।

अहिले म स्तब्ध छु। सचेत छु। पार्टी भन्ने कुरा निकै सानो रहेछ देशभन्दा। राष्ट्रियताभन्दा ठूलो सिद्धान्त हुँदैन रहेछ। विश्वास, विकास, विज्ञान, समृद्धि, शान्ति र अमनचैनभन्दा ठूलो उपलब्धि केही पनि हुँदो रहेनछ। अहिले गर्व लाग्छ, मेरो परिचयपत्रमा नेपाली नागरिकता मात्र छ। म स्वतन्त्र छु। म कुनै पार्टीको मान्छे हैन। सदस्यता पनि धारण गरेकी छैन।

२००७ सालयता हामी नित्य प्रयोगमै बाँच्न अभ्यस्त छौँ। देशको मुख्य मुद्दा र समस्या सबैको साझा हो। कुनै पार्टीको निजी होइन। वैदेशिक रोजगारी सौभाग्य कि दुर्भाग्य? वैदेशिक ऋण र सहयोग दुःख कि सुख? रेमिट्यान्स विकास कि विवशता? पलायन रहर कि बाध्यता? हामी सबैतिरबाट आहत छौँ तर पनि विभाजित छौँ। समस्यामै अल्झिएका छौँ। समाधानको विमर्श कहिले गर्ने? विश्वासको घाम कहिले उदाउने? अब त मेरो मतदानको कदर होला भनेर ढुक्कको श्वास कहिले फेर्ने हामी नेपाली नागरिकले?
वर्षौंदेखि मैले दिएको अमूल्य मतदानको स्मरण हुन्छ। विजयी उम्मेदवारहरूको अनुहार सम्झिँदा पनि रिस उठ्छ। स्थानीयतहमा सन्तोषी छु। पार्टीभन्दा माथि उठेरै काम गरेका छन् जनप्रतिनिधिहरूले।

अहिले म स्तब्ध छु। सचेत छु। पार्टी भन्ने कुरा निकै सानो रहेछ देशभन्दा। राष्ट्रियताभन्दा ठूलो सिद्धान्त हुँदैन रहेछ। विश्वास, विकास, विज्ञान, समृद्धि, शान्ति र अमनचैनभन्दा ठूलो उपलब्धि केही पनि हुँदो रहेनछ। अहिले गर्व लाग्छ, मेरो परिचयपत्रमा नेपाली नागरिकता मात्र छ। म स्वतन्त्र छु। म कुनै पार्टीको मान्छे हैन। सदस्यता पनि धारण गरेकी छैन।

विश्वास लुटिएको मान्छेलाई पुनः विश्वासी हुन ठूलै परिवर्तन चाहिन्छ। यहाँ त आफैँलाई पनि विश्वास गर्ने माहोल बनेकै छैन। भ्रम र धोकाको जालोले हामीलाई ढाकेको छ। छल, कपट र भ्रष्टाचारको दलदलमा विचार र सिद्धान्तहरू भासिएका छन्। विचार र सिद्धान्त त कसका पो नराम्रा छन् र !

परिवर्तनको बिगुल फुकेका नयाँ अनुहारप्रति पनि अविश्वासको धामन त बेरिएकै छ छोरी ! तर पनि मन परिवर्तन चाहन्छ। फेरि प्रयोगमा त जाँदैन मत, बडो दोधारमा छु। हिजो पनि मत फेरेर हालेकी थिएँ ठूला–ठूला सपना बाँड्ने अभिनेताजस्ता नेतालाई।

छोरी नजिकै आएर भन्छे, ‘‘मामू आफैँलाई मूल्यांकन गर्ने समय आएको छ, आफूलाई प्रश्नको घेरामा राखेर पर्गेल्ने समयको टाइफुनमा छौँ हामी। निकै सचेत भएर मतदान गर्नुहोला।

छोरीको चिन्तन देखेर गौरवान्वित भएकी छु, छोरीको उमेरमा म यति सचेत थिइनँ। तर, पनि मनको घाउ दुखिनै रहेको छ। भन्न सक्दिनँ, ‘‘छोरी मैले फलानो पार्टीलाई आफ्नो अमूल्य मत दिएर जिताएँ तर अहिले म त्यो पार्टीको हुँ भनेर छाती फुलाएर भन्ने आँट पनि छैन मसँग। मेरो जस्तो विचारहीन नेता, जो आफ्नै सिद्धान्त जलाएर खरानी घस्छ अनि भ्रष्ट र कुशासन जन्माउँछ त्यस्तो समय र शासक तिमीले देख्नु नपरोस्।’’

परिवर्तनको बिगुल फुकेका नयाँ अनुहारप्रति पनि अविश्वासको धामन त बेरिएकै छ छोरी ! तर पनि मन परिवर्तन चाहन्छ। फेरि प्रयोगमा त जाँदैन मत, बडो दोधारमा छु। हिजो पनि मत फेरेर हालेकी थिएँ ठूला–ठूला सपना बाँड्ने अभिनेताजस्ता नेतालाई। जमिन छोडेर सपना बाँड्नेहरूको आरती गरेको पनि देखेकी थिएँ। भनिन्छ, भोकले सीमा नाघेपछि मान्छेले स्वाद बिर्सिन्छन्। आशा गर्छु, अब नेपालीहरूको भोकमाथि राजनीति नहोस्। नयाँबाट पनि पीडाको पिरो धुवाँ नउठोस्।

मैले स्विकार्दै आएको सिद्धान्तको जरा पीपलको जरा हो। आशा गर्छु, जराबाट नयाँ पीपल ठडिनेछ। छोरी समझदार छे। इमानदारी उसको धर्म हो। जिज्ञासु उसको स्वभाव हो। निर्णय उसको अधिकार हो।

छोरी, म छाती फुलाएर आफ्नो मतदानको नियति तिमीलाई सुनाउन सक्ने अवस्थामा छैन। तर, तिमीले आफ्ना सन्तानलाई निर्धक्क भएर आफ्नो मतदानको इतिहास सुनाउन सक्नुपर्छ।