काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

साप्ताहिक सेयर बजार

सातामा एक दिन ओरालो लागेको सेयर बजार बाँकी चार दिन बढ्यो‚ अपी पावरको कारोबार सबैभन्दा उच्च

१४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से झिनो अंकले बढेको छ।

यो साता नेप्से पाँच कारोबार दिन नै खुल्यो। जसमा साताको पहिलो दिन ओरालो लागेको सेयरबजार बाँकी चार कारोबार दिन भने उकालो लागेको छ। नेप्से आइतबार २७.५९ अंकले घट्दा सोमबार २.४१‚ मंगलबार २१.६२ र बुधबार १०.३० अंकले उकालो लाग्यो।

आज (बिहीबार) पनि नेप्से ६.०३ अंकले उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.२२ प्रतिशतले बढ्दै २६५४.९३ विन्दुमा अडिएको छ।

बिहीबार सेन्सिटिभ इन्डेक्स पनि १.९३ अंकले बढेर ४५६.५१ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.४२ प्रतिशतले बढेको हो। नेप्सेमा बिहीबार ३३५ कम्पनीको ४४ हजार २०४ पटकको कारोबारमा एक करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच भए।

जसमा अनुसार बिहीबार नेप्सेमा चार अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको कारोबार भएको थियो भने सोमबार पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँबराबरको कारोबार भएको थियो। यसैगरी मंगलबार चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ रुपैयाँबराबरको कारोबार हुँदा बुधाबार भने नेप्सेमा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा चार समूहका सेयरमूल्य घटे। बाँकी नौ समूहका सेयरमूल्यमा हरियाली छाए। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.६४‚ विकास बैंक ०.१३ तथा फाइनान्स समूहको सूचक ०.७१ प्रतिशतले उकालो लाग्दा होटेल तथा पर्यटन समूह भने ०.१६ प्रतिशतले ओरालो लाग्यो।

यसैगरी जलविद्युत् ०.०५‚ लगानी ०.३५‚ जीवन बिमा ०.०३ प्रतिशतले बढे। आज उत्पादन तथा प्रशोधन ०.४१‚ लघुवित्त समूह ०.२८ र म्युचुअल फन्ड समूह ०.२५ प्रतिशतले घट्यो।

यसैगरी निर्जीवन बिमा १.०९‚ अन्य ०.०५ प्रतिशतले र व्यापार समूह ०.४६ प्रतिशतले बढ्यो।

नेप्सेमा बिहीबार १३७ कम्पनीको सेयर मूल्य बढ्यो भने ११८ कम्पनीको ओरालो लाग्यो। यसैगरी सात कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा बिहीबार पनि सबैभन्दा बढी साल्पा विकास बैंक लिमिटेडकै लगानीकर्ताले कमाए। साल्पाका लगानीकर्ताले बिहीबार ९.९९ प्रतिशतले सेयरमूल्य आर्जन गरे। साल्पाको सेयरमूल्यमा आइतबार‚ मंगलबार र बुधबार पोजेटिभ सर्किट लागेको थियो। अर्थात् सेयरमूल्य १० प्रतिशतले बढेको थियो। सोमबार र बिहीबार भने साल्पाको सेयरमूल्य समान ९.९९ प्रतिशतले उकालो लागेको हो। हिजो बुधबार रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्यमा पनि सकारात्मक सर्किट लगेको थियो। साल्पाको अन्तिम कारोबार मूल्य भने ५८४ रुपैयाँ कायम रह्यो।

यसैगरी बिहीबार एनआईबीएल डिबेन्चरका लगानीकर्ताले सेयरयुनिटको मूल्य गुमाए। यसको सेयरयुनिट ३.६० प्रतिशतले ओरालो लाग्यो।

बिहीबार सबैभन्दा धेरै कारोबार हुनेमा अपी पावर कम्पनी लिमिटेड रह्यो। अपीको आज ३२ करोड ६८ लाख ३२ हजार ५७४ रुपैयाँको कारोबार भयो। यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३१२ रुपैयाँ कायम रह्यो।