गोरखा। गोरखा २ मा नेपाली कांग्रेस र बाबुराम भट्टराई प्रमुख संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को संयुक्त घरदैलो अभियान सञ्चालन भएको छ।
गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको प्रलोपाले कांग्रेससँग मिलेर चुनावी प्रचारलाई तीव्र बनाएको हो। प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पालुङ्टार नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्। संयुक्त टोलीले मतदातासँग भेटघाट गर्दै समर्थनका लागि आग्रह गरिरहेका छन्।
प्रचार अभियानमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘रुख’ चिह्नमा मत मागिरहेको छ। प्रलोपाले प्रत्यक्षतर्फ ‘रुख’ र समानुपातिकतर्फ ‘आँखा’ चिह्नमा मतदान गर्न अनुरोध गरिरहेको छ। संयुक्त टोलीमा प्रलोपाका समानुपातिक उम्मेदवार लालबहादुर विक, केन्द्रीय सदस्य यानप्रसाद भट्ट, अमृत आचार्य तथा जिल्ला अध्यक्ष नारायण खत्री सहभागी छन्। कांग्रेसका तर्फबाट उम्मेदवार दवाडी अभियानमा सहभागी भएका छन्।

प्रचारका क्रममा अध्यक्ष खत्रीले विगतमा कांग्रेसले ‘आँखा’ चिह्नमा सहयोग गरेको प्रसंग स्मरण गराउँदै यसपटक ‘रुख’ मा मतदान गर्न आग्रह गरेका छन्। साथै स्थानीय तह र प्रदेश तहसम्म कांग्रेससँग सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै मतदातालाई गठबन्धनको पक्षमा उभिन अनुरोध गरेका छन्।
यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्तिलाई कांग्रेसले सहयोग गरेर बाबुराम भट्टराईलाई सांसदका रूपमा निर्वाचित गराएको थियो।