काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

आवरण

बिहार चुनावको बुथ कब्जामा एउटा कालखण्डमा नेपाली गाँजा तस्करीबाट हुने कमाइको प्रयोग हुन्थ्यो, कसरी?

१८ फाल्गुन २०८२
अ+
अ-

चुनावमा निष्पक्षतासँग जोडिएर आउने विषय हो, ‘बुथ क्याप्चर’ अर्थात् मतदान केन्द्र कब्जा। नेपालमा बहुदलीय व्यवस्था पुन:स्थापनापछि भएका केही चुनावमा कतिपय ग्रामीण क्षेत्रमा बुथ कब्जा, हुलदंगा, मतपेटिका लुटपाट जस्ता घटना सुनिन्थे।

नेपालमा यस्तो चुनावी रोगको स्रोत भारतको बिहार राज्यलाई मानिन्छ। तर रोचक के छ भने, बिहारको राजनीतिमा झाँगिएको बुथ कब्जाको इतिहास हेर्दा त्यसको साइनो नेपालसँग जोडिएको देखिन्छ। त्यो पनि नेपाली गाँजाको तस्करीसँग।

भारतमा सन् १९५७ मा भएको लोकसभा निर्वाचनमा बिहारको बेगूसराय जिल्लास्थित रचियारी गाउँमा बुथ कब्जा भएको थियो। भारतीय निर्वाचन आयोगका अनुसार भारतमा भएको पहिलो बुथ कब्जा त्यही हो। त्यो काम बिहारका गाउँटोलमा डकैतीको काम गर्दै आएका कामदेव सिंहले गरेका थिए, सत्तारूढ दल भारतीय राष्ट्रिय कंग्रेसका उम्मेदवार सरयुप्रसाद सिंहका लागि। बेगूसराय जिल्ला कामदेवको गढ थियो।

बिहारको बेगूसराय जिल्लाको रचियारी गाउँ, जहाँ पहिलोपटक सन् १९५७ मा कामदेव सिंहले बुथ कब्जा गरेका थिए। तस्बिर स्रोत : इटीभी भारत

तर, बुथ कब्जाबाट पनि सरयुले जित्न सकेनन्। भारतीय कम्युनिस्ट पार्टी (सीपीआई)का चन्द्रशेखर सिंहले जित हात पारे।

भारतको राजनीतिमा पैसा र शक्तिको प्रयोगबारे मिलन वैष्णवले लेखेको पुस्तक ह्वेन क्राइम पेज (सन् २०१७) का अनुसार त्यो घटना भारतीय चुनावमा पहिलो बुथ कब्जा मात्र थिएन, भारतीय राजनीतिमा अपराधीकरणको सुरुआत पनि थियो। र, त्यो अपराधकर्ममा जोडिएर भारतको चुनावमा बुथ कब्जाको सुरुआतकर्ताका रूपमा बदनामी कमाउने पात्र बने, कामदेव।

सन् १९५७ पछिका चुनावमा पनि उनको अग्रसरतामा बुथ कब्जा जारी रह्यो। यसकै आडमा कालान्तरमा राजनीतिक पहुँच र संरक्षण पाएर उनले आफ्नो अपराध साम्राज्य विस्तार गर्दै लगे। त्यो अपराधको परिचालनमा नेपालमा उत्पादित गाँजाको कारोबार पनि प्रत्यक्ष रूपमा गाँसिएको छ।

वैष्णवको पुस्तकका अनुसार सन् १९६० र १९७० को दशकमा कामदेव बिहारको राजनीतिक वृत्तमा चर्चित थिए। ‘उनी भाडाका अपराधीमध्ये सबैभन्दा कुख्यात थिए र कंग्रेस पार्टीको खुंखार ग्याङ लिडर थिए। उनलाई बुथ कब्जाका लागि प्रयोग गरिन्थ्यो,’ पुस्तकमा उल्लेख छ।

ह्वेन क्राइम पेजका अनुसार सन् १९७१ को चुनावसम्म आइपुग्दा बुथ कब्जा बिहारमा मात्रै सीमित रहेन। निर्वाचन आयोगका अनुसार त्यस वर्ष भएको चुनावमा हरियाणा, जम्मु तथा काश्मीर, नागाल्यान्ड, उडिसा र उत्तर प्रदेशजस्ता राज्यमा बुथ कब्जा भएका थिए।

भारतका पूर्वपत्रकार हरिवंश नारायण सिंहले रविबार पत्रिकामा कामदेवका बारेमा विस्तृत लेख लेख्दै बिहारमा माफिया शासन सुरु गर्ने व्यक्ति भएको बताएका छन्। सिंह अहिले भारतको माथिल्लो सदन राज्यसभाका उपाध्यक्ष छन्।

सुरुमा बुथ कब्जा मतदान केन्द्रमा धाकधम्की दिएर, कुटपिट गरेर आफ्नो पक्षमा भोट हाल्न लगाउने बाहुबलको प्रयोगमा मात्रै सीमित थियो, तर पछि स्वरूप परिवर्तन हुँदै गयो। पछि मतपत्रमा छाप लगाउने, मतदाताहरूलाई मतदान केन्द्रमा जानबाट रोक्ने र आफ्नो पकड भएको क्षेत्रमा मात्र मतदान केन्द्रहरू राख्न सरकारी अधिकारीहरूलाई प्रभाव पार्ने काम हुन थाले।

ह्वेन क्राइम पेजका अनुसार सन् १९७१ को चुनावसम्म आइपुग्दा बुथ कब्जा बिहारमा मात्रै सीमित रहेन। निर्वाचन आयोगका अनुसार त्यस वर्ष भएको चुनावमा हरियाणा, जम्मु तथा काश्मीर, नागाल्यान्ड, उडिसा र उत्तर प्रदेशजस्ता राज्यमा बुथ कब्जा भएका थिए। आजतकमा प्रकाशित एक समाचारअनुसार सन् १९६९ र १९७१ को लोकसभा चुनावमा उनले बेगूसरायका ३४ वटा बुथ कब्जा गरेर कंग्रेसका श्यामनन्दन मिश्रालाई जिताएका थिए।

कामदेवले सुरु गरेको बुथ कब्जाको अभ्यास उनको जीवनकालपछि झनै विकराल बन्यो। सन् १९८९ को लोकसभा चुनावमा त एक हजार ६७० बुथमा कब्जा भएकाले निर्वाचन आयोगले पुन: चुनाव गराएको थियो। बिहारमा बुथ कब्जा झनै व्यापक थियो। त्यहाँ सन् १९९१ को चुनावमा एक हजार ४६ र सन् १९९६ मा एक हजार २७३ बुथमा पुन: मतदान गरिएको थियो।

बिहारको चुनावमा बाहुबल कतिसम्म चल्थ्यो भने, एउटा भनाइ चर्चित थियो, ‘बिहारमा चुनाव लड्न कम्तीमा सय जना बन्दुकधारी चाहिन्छ।’ चुनावमा उम्मेदवारका लागि सय बन्दुकधारी जम्मा गर्ने काम कामदेव सिंहजस्ता बाहुबलीहरूले गर्ने गरेका थिए। नेपालसँग सीमा जोडिएको बिहारमा हुने बुथ कब्जा उनैले गर्थे।

कामदेवले बुथ कब्जा गर्ने शक्ति नेपालबाट गर्ने गाँजा तस्करीका लागि बनाएको गिरोहबाट पूर्ति गर्थे। र, त्यो गिरोह परिचालन गर्ने आर्थिक स्रोत थियो, गाँजा तस्करीबाट प्राप्त अकुत कमाइ।

नेपाली गाँजाको कनेक्सन

‘गाँजा सम्राट्’ को नामले चिनिने कामदेवलाई अल बिहारका ‘पाब्लो इस्कोबार’ भनिन्छ। कोलम्बियाका इस्कोबार सन् १९८० र ९० को दशकको सुरुआतमा विश्वकै नामुद लागुऔषध तस्कर थिए।

सप्तरी, राजविराजका पुराना पत्रकार अनिलकुमार अनल (७५)को स्मृतिमा पाँच दशकअघि कामदेवले गरेका गतिविधि ताजै छन्। उनका अनुसार २०२८-३० सालतिर वीरगन्जबाट राजविराज आउने बसहरूका छतमा स्टिलका भाँडाकुँडा टन्न लादिएर आउँथ्यो। भारतमा उतिबेला अहिलेजस्तो विदेशी वस्तुको आयात सहज नभएकाले स्टेनलेस स्टिलका भाँडा, नाइलनको कपडादेखि डोरीसम्म तस्करी हुन्थ्यो। तस्करी गर्ने व्यक्ति थिए, कामदेव। नेपालबाट यी सामानको भारतमा तस्करी गर्न कामदेव राजविराजको इनर्वालाई केन्द्र बनाएर गतिविधि सञ्चालन गर्थे। यी सामग्री इनर्वामा संकलन गरिन्थे र त्यहाँबाट पारि लगिन्थे।

नेपाली कानुनले लागुऔषधप्रति कठोर नीति लागु गर्नुअघि कामदेवले नेपालमा गाँजाखेती नै गरेका थिए। भारतीय सञ्चारमाध्यमहरूले कामदेवका परिवारका सदस्यहरूलाई उद्धृत गर्दै दिएको विवरणमा उनले नेपालमा लाइसेन्स लिएर २०० बिघामा गाँजाखेती गरेको उल्लेख गरेका छन्।

उतिबेला राजविराज जान अहिले चल्तीमा रहेको रूपनीको सडक बनिसकेको थिएन, सबै सवारीसाधन हनुमाननगर हुँदै राजविराज जान्थे। बसमा ल्याइएको भाँडाकुँडा हनुमाननगरबाट केही किलोमिटर दूरीमा रहेको इनर्वामा झारिन्थे। “भाँडाकुडा मात्रै कहाँ हो र, इनर्वामा गाँजासहितका तस्करीका सामानहरू संकलन हुन्थ्यो, सिराहातिरबाट कसैले बोकेर, कसैले ट्रकमा र कसले जीपमा गाँजा इनर्वा ल्याउँथे। त्यहाँबाट डुंगाबाट कोसी नदी तारेर भारत लगिन्थ्यो।”

अनलका अनुसार त्यस कामका लागि कामदेवले इनर्वालगायत क्षेत्रमा करिब २०० मानिसलाई खटाएका थिए। हनुमाननगर र भारतको भीमनगरमा कामदेवका ठूला गोदाम र प्रशस्त गाडी थिए। “इनर्वा उनको मुख्यालयजस्तो थियो, त्यहीँ मैले एक पटक उनलाई भेटेको थिएँ,” उनी भन्छन्, “कामदेव पहलमानजस्तै ठूलो दारका थिए।”

३० बैसाख २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा रौटहटको यमुनामाइ गाउँपालिका वडा २ का स्थानीय मतपेटिका लिएर भाग्दै। तस्बिर : सञ्जय कुमार मिश्र

सन् १९७२ मा भएको एउटा हत्याको अभियोग लागेपछि कामदेव अधिकांश समय राजविराज आसपासकै क्षेत्रमा लुकेर बसेका थिए।

“२०३० सालतिर उनलाई राजविराजमा गाँजाको ट्रकसहित पक्राउ गरिएको थियो,” अनल भन्छन्, “लामो समयसम्म त्यो ट्रक अञ्चलाधीश कार्यालयको चौरमा थियो।” उक्त घटनामा कामदेव जेल परेका थिए र १८ लाख रुपैयाँ जरिवाना पनि तिर्नुपरेको थियो।

कामदेव सिंहले सन् १९६० को दशकदेखि १५ मे १९८० मा मारिनुअघिसम्म नेपाल-भारत सीमाक्षेत्रमा समानान्तर सत्ता चलाएका थिए। उनले आफ्ना लागि मार्ने र मर्नेहरू युवाहरूको ठूलो फौज खडा गरेका थिए।

नेपाली कानुनले लागुऔषधप्रति कठोर नीति लागु गर्नुअघि कामदेवले नेपालमा गाँजाखेती नै गरेका थिए। भारतीय सञ्चारमाध्यमहरूले कामदेवका परिवारका सदस्यहरूलाई उद्धृत गर्दै दिएको विवरणमा उनले नेपालमा लाइसेन्स लिएर २०० बिघामा गाँजाखेती गरेको उल्लेख गरेका छन्। २०३३ सालमा आएको लागुऔषध नियन्त्रण ऐनले गाँजालाई कडा प्रकृतिको लागुऔषधमा राखेको थियो।

सीमामा समानान्तर सत्ता

कामदेव सिंहले सन् १९६० को दशकदेखि १५ मे १९८० मा मारिनुअघिसम्म नेपाल-भारत सीमाक्षेत्रमा समानान्तर सत्ता चलाएका थिए। उनले आफ्ना लागि मार्ने र मर्नेहरू युवाहरूको ठूलो फौज खडा गरेका थिए।

कामदेव भने नेपालमै बसेर गाँजा तस्करीको काम गर्थे। त्यस समयमा उनी संलग्न वा सहयोगविना कुनै पनि वस्तुको तस्करी सम्भव थिएन। नेपाल-भारत सीमापार तस्करी उनको नियन्त्रणमा थियो। भारतीय पत्रकार तथा लेखक सन्तोष सिंहले कामदेव आफ्नो समयका उत्तर भारतको ‘स्मगलिङ किङ’ भएको उल्लेख गरेका छन्। कामदेव सिंह : द ओरिजिनल गड फादर अफ इन्डियन पोलिटिक्स पुस्तकमा सन्तोषले लेखेका छन्, ‘कामदेव सिंह उत्तर भारतको स्मगलिङका किङ थिए भन्ने सबैभन्दा ठूलो प्रमाण उनको नेटवर्क थियो, जुन उत्तर प्रदेश (हाल उत्तराखण्ड)को पिथौरागढदेखि पश्चिम बंगालको सिलिगुडीसम्मको नेपाल-भारत सीमामा विस्तारित थियो। कामदेवको अनुमतिविना कुनै पनि संगठित तस्करले नेपाल-भारत सीमामा काम गर्न सक्दैनथ्यो।’

नेपालमा बसेर उनले नेपालबाट गाँजादेखि अन्य सामान तस्करी गरेर भारत पुर्‍याउँथे। उनले नेपालबाट तस्करी गरेर लगेको गाँजासहितका सामग्री आफ्नै गाउँ लावामा जम्मा पार्थे। प्रहरी प्रशासनको पहुँचभन्दा बाहिर रहेको गंगा नदीको किनारामा रहेको सो गाउँबाटै पश्चिम कोलकातादेखि मुम्बईसम्म तस्करीको सामान पठाउँथे। ‘सुरुमा उनले गाँजाकै तस्करीबाट तस्करीको नेटवर्क बनाए, त्यसपछि तस्करीका अन्य क्षेत्रमा पनि हाल हाले,’ सन्तोषले लेखेका छन्।

गाँजा तस्करीका लागि कामदेवले आफ्नो गाउँ र वरिपरिका युवाहरूको ठूलो समूह खडा गरेका थिए। ‘तस्करीमा उनले राखेका युवाहरू बेगूसरायबाट नेपालको सीमासम्म बसमा जान्थे, त्यहाँबाट सानोतिनो काम गर्ने श्रमिक बनेर नेपाल छिर्थे र व्यापारीहरूबाट गाँजा संकलन गरी रातभर हिँडेरै लावा गाउँ फर्कन्थे,’ पुस्तकमा भनिएको छ। त्यस काममा मात्रै उनले ३०० युवाको समूह बनाएका थिए।

कामदेवले आफ्नो भेगका मानिसहरूमा सहयोगी र उदार दिलको व्यक्तिका रूपमा आफ्नो छवि बनाएका थिए। जसका कारण कमजोर आर्थिक अवस्थाका मानिसहरू उनीसँग आर्थिक सहयोगको अपेक्षा राख्थे। उनले आफ्नो गाउँ आसपासका मानिसको जन्मदेखि मृत्युसम्ममा सहयोग गर्ने गरेका थिए। जसका कारण गाउँलेहरूलाई उनीप्रति बफादार बनाएको थियो। उनका लागि मर्न र मार्न पछि नपर्नेहरू प्रशस्त थिए। त्यसकै आडमा उनले आफ्नो धन्दा बढाउँदै लगे।

गाँजा तस्करीका लागि कामदेवले आफ्नो गाउँ र वरिपरिका युवाहरूको ठूलो समूह खडा गरेका थिए। ‘तस्करीमा उनले राखेका युवाहरू बेगूसरायबाट नेपालको सीमासम्म बसमा जान्थे, त्यहाँबाट सानोतिनो काम गर्ने श्रमिक बनेर नेपाल छिर्थे र व्यापारीहरूबाट गाँजा संकलन गरी रातभर हिँडेरै लावा गाउँ फर्कन्थे,’ पुस्तकमा भनिएको छ। त्यस काममा मात्रै उनले ३०० युवाको समूह बनाएका थिए।

सन् १९६५ मा कामदेवले ४० वटा गाउँका ६ हजार मानिसलाई रोजगारी दिएको सन्तोषको पुस्तकमा उल्लेख छ। यो जनशक्ति बेगूसरायदेखि भारत-नेपाल सीमा क्षेत्रका सहरहरू र कोलकाता र मुम्बईसम्म फैलिएको थियो। ‘त्यसबेला भारतमा सामान्य सरकारी कर्मचारीको तलब ६०० रुपैयाँ थियो, तर उनीसँग काम गर्नेहरूले मासिक ६ हजार रुपैयाँसम्म कमाउँथे,’ पुस्तकमा उल्लेख छ।

कामदेवसँग १०० सार्पसुटर थिए। जसमध्ये केही व्यक्ति भारतीय सुरक्षाफौज छाडेर आएकाहरू थिए। उनीहरूलाई सामान ढुवानीका क्रममा सुरक्षा दिन, बुथ कब्जा गर्न र व्यक्तिगत सुरक्षाका लागि खटाइन्थ्यो।

उनी प्रहरी-प्रशासनका मानिसलाई मासिक रूपमा निश्चित रकम बुझाउँथे। जसका कारण उनको तस्करी कर्म निर्बाध रूपमा चलेको थियो। उनको काममा भाँजो हाल्नेहरूलाई मार्नसमेत पछि पर्दैनथे।

२०४६ सालको जनआन्दोलनको ठीक अगाडि नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लको सरुवा सिरहामा भएको थियो। त्यसबेला कामदेव मारिएको एक दशक हुन लागिसकेको थियो, तर उनले प्रहरी र जनसाधारणबाट कामदेवका किस्साहरू सुनेका थिए। “गाँजा तस्करीको रुटमा प्रहरीले टोपी मात्रै राखिदिँदा पनि बुझाउनुपर्ने पैसा छाडेर जान्छन् भनिन्थ्यो,” मल्ल सम्झन्छन्।

प्रहरी कारवाहीमा मारिएका कामदेव सिंह।

चुनावमा गर्ने बुथ कब्जाका कारण राजनीतिक नेताहरूसँग उनको प्रगाढ सम्बन्ध थियो। “तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी आफ्नी छोरीजस्ती भएकीले मलाई केही हुँदैन भन्ने विश्वास कामदेवमा थियो,” अनल भन्छन्।

१५ मे १९८० मा लावागाउँमा प्रहरीसँगको मुठभेडमा कामदेव मारिएका थिए। परिवारका सदस्यहरूले भने गैरन्यायिक हत्या भएको बताउने गरेका थिए। उनीविरुद्ध बेगूसराय जिल्लामा मात्रै ७४ वटा आपराधिक मुद्दा दर्ता थियो।

सन् १९३० मा जन्मिएका सिंह सुरुआतमा सानोतिनो डकैतीमा संलग्न रहने गरेका थिए। सन् १९५९ मा बिहारकै मुंगेर जेलमा परेपछि केही गाँजा तस्करसँग उनको भेट भएको थियो। उनीहरूबाटै गाँजा तस्करीको विद्या सिकेका थिए। जेलबाट छुटेपछि त्यसैलाई प्रयोग गरेर उनी छोटो समयमै शक्तिशाली भए।

कामदेव मारिए पनि उनले बनाएको तस्करीको बिरासत अहिले पनि बिहारको राजनीतिमा कायम छ। अहिले पनि नेपालमा हुने गरेको तस्करी कामदेवले तयार पारेको जगमै सञ्चालन भइरहेको डीआईजी मल्लको बुझाइ छ। “अन्य व्यवसायमा जस्तै यसमा पनि पुस्तान्तरण हुँदै जान्छ, आफ्नै सन्तान नभए पनि नजिकका नातेदार र साथीहरूले त्यसलाई अघि बढाउँछन्,” उनी भन्छन्। उनका अनुसार नेपालमा बरामद हुने ठूलो परिमाणको गाँजा अधिकांश बिहार राज्यसँग सीमा जोडिएकै क्षेत्रमा भेटिने गरेको छ।

प्रहरी कारवाहीमा मारिएका कामदेव सिंहसँग उनका छोरा।

१९औँ शताब्दीमा एसियाको भूराजनीतिलाई आकार दिन अफिमले जस्तो भूमिका खेलेको थियो, बिहारको राजनीतिमा नेपाली गाँजाको भूमिका त्यस्तै छ। औपनिवेशिक व्यापार र वित्तसँग जोडिएको अवैध अफिम व्यापारले युद्धसमेत निम्त्याएको थियो। करिब २०० वर्षअघि अफिम युद्धमा हारेपछि शक्तिशाली चीन ओरालो लागेको थियो। त्यसपछि एसियामा अंग्रेजहरू शक्तिशाली भए।

बिहारमा नेपाली गाँजासँग जोडिएको अवैध अर्थतन्त्रले सन् १९६० र ७० को दशकमा अपराध, तस्करी र स्थानीय राजनीतिक संरचना परिवर्तन गरिदिएको थियो। तस्कर र राजनीतिकर्मीबीचको साँठगाँठले बिहारको राजनीति मात्र प्रभावित भएन, त्यो प्रवृत्ति नेपाल भित्रिएपछि ‘बिहारी राजनीति’ भनेर बदनाम बन्न पुग्यो। लोकतन्त्रको सौन्दर्य भनिने चुनावमा बाहुबलको खेलले प्रजातान्त्रिक प्रणालीप्रति मानिसहरूको विश्वासलाई कमजोर बनाएको छ।

यो पनि पढ्नुहोस् :

पूर्वमा गाँजा, मध्य र पश्चिम नेपालमा चरेस र अफिम