काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। केन्द्रीय सुरक्षा समितिले निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको जनाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार (२१ फागुन) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ।

गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोहीअनुरूप सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो।

बैठकले संवेदनशील क्षेत्रमा हेलिकोप्टरबाट पेट्रोलिङ (गस्ती) गर्ने, निर्वाचनविरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानुनविपरीतका गतिविधि भए/गरेको पाइए तुरुन्त कारबाही गर्नेलगायत निर्णय गरेको छ।

यस्तै बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्त बनाइएकाले सबैलाई भोलि हुने निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गर्ने निष्कर्ष पनि निकालेको छ।

बैठकमा गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो।