कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का चयन भएका छन् । आइतबारदेखि जारी सुर्खेतको वीरेन्द्रनगरमा जारी रास्वपा कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट खड्का पुनः सभापति चयन भएका छन्।
मंगलबार साँझ भएको मतदानमा खड्काले सभापतिका लागि अरु उम्मेदवार स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेतलाई भारी मतान्तरले पछि पारे ।
खड्काले २८८ मत प्राप्त गरी सभापति चुनिँदा अर्का उम्मेदवार उपाध्ययले ६३ पाईन्। बस्नेतले ३५ मत प्राप्त गरे।
सभापति दोहोरिएका खड्काले कर्णालिमा रास्वपाको संगठन विस्तार र सदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन्।
पराजित भएकी अर्का उपाध्याय रास्वपाको निवर्तमान कोषाध्यक्ष हुन् ।
सभापतिमा पराजित भएका अर्का उम्मेदवार बस्नेतले गत बर्षको फागुनमा मात्र रास्वपा प्रवेश गरेका हुन्। त्यसअघि नेकपा एमालेमा रहेका उनले फागुन २१ को चुनावमा दैलेखबाट प्रत्यक्ष चुनाव लड्न खोजेका थिए।
अन्तिममा टिकट नपाएपछि उनी रास्वपा प्रवेश गरेका थिए। दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाबाट टिकट लिएर प्रतिनिधिसभा सदस्यको निर्वाचन लडेका बस्नेतलाई नेपाली कांग्रेसकी वासना थापाले पराजित गरेकी थिईन् । बस्नेतले उक्त निर्वाचनमा लोकप्रिय मत ल्याएर दोस्रो स्थानमा थिए।