काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको गढ मानिँदै आएको काठमाडौँ क्षेत्र नम्बर १ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने (दर्शना) ले प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छिन्। पहिलो हुने निर्वाचन हुने तर्फको मतगणना सकिएपनि आधिकारिक रुपमा विजयी घोषणा हुन बाँकी छ।

यस क्षेत्रमा २०६४ सालमा भएको संविधानसभा निर्वाचनयता नेपाली कांग्रेसले जित्दै आएको थियो। यस अघि नेपाली कांग्रेसका प्रकाशमान सिंहले चुनाव जितेका थिए।

संघीयता पछिको पहिलो स्थानीय चुनाव २०७४ सालमा काठमाडौँ महानगरपालिकामा प्रमुखमा उम्मेदवार बनेर चर्चामा आएकी रञ्जु विद्यासुन्दर शाक्यसँग हारेकी थिइन्।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट समानुपातिक उम्मेदवारको बन्दसूचिमा निर्वाचन आयोगमा नाम दर्ता भएको थियो। काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्‌काका अनुसार प्रत्यक्ष तर्फ खसेको २९ हजार ३७४ मत गणना सकिएको छ। रञ्जुले सबैभन्दा बढी मत १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छिन्। ‘प्रत्यक्ष तर्फको मत गणना सकिएर समानुपातिक गणना हुँदैछ। निर्वाचन प्रक्रिया अनुसार विजयी घोषणा गर्न बाँकी छ’ प्रमुख निर्वाचन अधिकृत खड्‌काले भने।

दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले ६ हजार २६४ मत प्राप्त गरेका छन्। तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्।

यस अघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्र उपबिजेता बनेका थिए। मिश्रले तेस्रोपटक यस क्षेत्रबाट हार व्यहोरेका छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेनका भण्डारीले ३४५ मत प्राप्त गरेकी छिन्।