काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

निरन्तर जनअनुमोदन भएर सत्ताको स्वाद चाख्दै आएका भण्डारी यसपालि किनारामा

२३ फाल्गुन २०८२
अ+
अ-

चार दशक लामो राजनीतिक यात्रामा एक पटकबाहेक निरन्तर संसदीय यात्रा तय गरेका शरतसिंह भण्डारी यस पटक फराकिलो मतान्तरले पराजय उन्मुख छन्। महोत्तरी क्षेत्र नम्बर २ मा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपककुमार साहले फराकिलो मतान्तरले पछाडि पारेका छन्।

शनिबार दिउँसो २:४५ बजेसम्मको मतगणनाअनुसार भण्डारी १६ हजारभन्दा बढी मतले पछाडि छन्। रास्वपाका साहले २३ हजार ४६० मत ल्याएका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार भण्डारीले सात हजार ४६ मत मात्रै पाएका छन्। निर्वाचन आयोगका अनुसार महोत्तरी २ मा ६४ हजार ८४५ मत खसेको थियो। हालसम्म करिब ४१ हजार मत गनिसकिएको छ। २३ हजार मत गन्न बाँकी रहँदा अहिले नै १६ हजारभन्दा बढी मतले पछाडि रहेका भण्डारीले जित्ने सम्भावना देखिँदैन। गणना भइसकेका मतमध्ये रास्वपाका साहले ५७ प्रतिशत प्राप्त गरेका छन् भने भण्डारीले १७ प्रतिशत मत मात्र पाएको देखिन्छ।

विगतमा जनअनुमोदन भएर निरन्तर सत्ताको स्वाद चाख्दै आएका नेता हुन्, भण्डारी। उनी पञ्चायतकालदेखि पुन:स्थापित बहुदल हुँदै गणतन्त्रसम्म निरन्तर सत्ताको वरिपरि थिए।

२०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यबाट उनको संसदीय यात्रा सुरु भएको थियो। २०४३ सालमा पनि राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव जितेपछि उनी मरिचमान सिंह श्रेष्ठको सरकारमा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बनेका थिए। उनले श्रेष्ठकै सरकारमा २०४५ सालमा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए। २०४६ सालको आन्दोलनसम्म उनी सोही जिम्मेवारीमा थिए।

२०४८ सालको आमनिर्वाचनमा भण्डारीले महोत्तरी ५ मा राप्रपाबाट उम्मेदवारी दिएका थिए। उनलाई नेपाली कांग्रेसका वसन्तकुमार गुरुङले पराजित गरेका थिए। २०५१ सालको निर्वाचनमा भने महोत्तरीबाटै उनी विजयी भए। त्यसबेला पनि उनी स्वतन्त्र उम्मेदवार थिए। त्यसपछि फेरि उनको सत्तायात्रा सुरु भयो। मंसिर २०५२ मा उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा विनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी पाए। असोज २०५४ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा उनी युवा, खेलकुद तथा संस्कृतिमन्त्री भए।

भण्डारीले २०५६ सालको आमनिर्वाचनमा कांग्रेसबाट टिकट लिएर महोत्तरीबाट चुनाव जिते। उक्त चुनावपछि कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए। उक्त मन्त्रिपरिषद्‌मा पनि भण्डारी छुटेनन्। उनले सुरुमा युवा, खेलकुद तथा संस्कृतिमन्त्रीको जिम्मेवारी पाए। पछि उनको जिम्मेवारी परिवर्तन गरेर स्वास्थ्यमन्त्री बनाइयो। भट्टराईको सरकार ढालेर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। उक्त मन्त्रिपरिषद्‌मा भने भण्डारीले ठाउँ पाएनन्।

२०५८ सालमा कोइरालाको सरकार ढल्यो र कांग्रेसकै शेरबहादुर देउवा प्रधानमन्त्री भए। उक्त सरकारमा भण्डारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाए।

२०६३ सालको मधेस आन्दोलनपछि भण्डारी कांग्रेस छोडेर मधेसकेन्द्रित राजनीतिमा होमिए। मधेसी जनअधिकार फोरममा आबद्ध भएका उनी २०६४ सालको पहिलो संविधानसभा चुनावमा महोत्तरी ६ बाट निर्वाचित भए। त्यसपछि फोरम, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) र  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) हुँदै अहिले उनी जसपा नेपालमा आबद्ध छन्।

भण्डारीले दल फेर्दै गए पनि सत्तामा भने पुगिरहे। २०६६ सालमा माधवकुमार नेपालको नेतृत्वमा एमालेको सरकारमा उनी पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने। २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए। त्यसबेला तराई मधेसका युवाले नेपाली सेनामा सामूहिक प्रवेश नपाए तराई टुक्रिने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भयो। त्यसपछि पदबाट राजीनामा दिन बाध्य भए।

त्यसपछिको एक दशकसम्म उनले सत्तासुविधा लिन पाएनन्। २०७० सालको संविधानसभा निर्वाचनमा उनी महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ६ बाट उम्मेदवार भएका थिए। त्यसबेला उनी राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष थिए। उनले दुवै ठाउँमा पराजय बेहोरेका थिए। कहिल्यै चुनाव नहार्ने नेताको संज्ञा पाएका भण्डारीलाई त्यसबेला क्षेत्र नम्बर १ मा तत्कालीन नेकपा (एकीकृत माओवादी)का गिरिराजमणि पोखरेल र ६ मा कांग्रेसका सीताराम भण्डारीले पराजित गरेका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि मधेसवादी ६ वटा दललाई मिलाएर राष्ट्रिय जनता पार्टी (राजपा) बनाइएको थियो। उक्त पार्टीमा रहेका उनले महोत्तरीबाट उम्मेदवारी दिएर चुनाव जिते। तर, त्यसबेला एमाले र माओवादी केन्द्रले गठबन्धन गरी चुनावमा गएको र सरकार पनि उनीहरूले नै बनाएका कारण भण्डारीले सत्तामा ठाउँ पाएनन्।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा विवाद आयो र अन्ततः पार्टी विभाजन भयो। २०७८ सालमा केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री हुँदा जसपाबाट भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए। त्यस पटक उनी १७ दिन मात्रै मन्त्री भए।

२०७९ को निर्वाचनमा महोत्तरी २ मा लोसपाका उम्मेदवार रहेका भण्डारी विजयी भए। २०७९ को निर्वाचनपछि एमालेसँगको  गठबन्धनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए। राष्ट्रपतिको निर्वाचनका क्रममा मत नमिलेपछि एमालेले सरकार छाड्यो र कांग्रेसको साथ पाएर प्रधानमन्त्रीमा दाहाल निरन्तर रहे। जसपा नेपाल पनि सरकारमा सहभागी भयो। भण्डारीले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाए।

असार २०८१ मा माओवादी केन्द्रको सरकार ढालेर कांग्रेस र एमालेले गठबन्धन गरेर ओलीको नेतृत्वमा सरकार बनाए। भण्डारी त्यसबेला पनि मन्त्री हुन छुटेनन्। फेरि पनि उनको भागमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय नै पर्‍यो।

तर, यस पटकको निर्वाचनले सत्तासँग भण्डारीको अटुट साइनो टुटाउने भएको छ। योसँगै उनी अब राजनीतिबाटै अलग हुने बाटोमा छन्। यसपालि चुनावी अभियानमा जाँदा उनले आफ्नो ‘अन्तिम चुनाव’ भन्दै मत मागेका थिए।