काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको बताएका छन्।
महालेखापरीक्षकको कार्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा उनले बेरुजु कुनै पनि संस्थाका लागि गौरवको कुरा हुन नसक्ने धारणा राखे।
उनले सार्वजनिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखापरीक्षण प्रणाली पनि समयअनुकूल परिमार्जित हुँदै जानु आवश्यक रहेको बताए।
सभामुख अर्यालले महालेखाले औँल्याइएका बेरुजुको समयमै फर्स्योटका साथै आवश्यक सम्परीक्षण तथा भविष्यमा बेरुजु नै नआउने गरी वित्तीय व्यवस्थापन सुधार गर्नु तीनै तहका सरकारलगायत सरोकारवाला सबैको साझा जिम्मेवारी भएको बताए।
उनले सरकारी लेखा परीक्षणमान तथा सोअनुरूप जारी भएका मार्गदर्शन र निर्देशिकाको प्रभावकारी कार्यान्वयनबाट लेखा परीक्षणको गुणस्तर, विश्वसनीयता तथा अन्तर्राष्ट्रिय स्तरसँगको सामञ्जस्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
सभामुख अर्यालले सार्वजनिक स्रोतको प्राप्ति, परिचालन र उपयोगको स्वतन्त्र मूल्यांकन गरी सुधारका विषय औँल्याउने भएकाले महालेखा परीक्षकको कार्यालयप्रति राज्यका सबै निकाय तथा नागरिकको उच्च अपेक्षा रहेको बताए।