प्रतिनिधिसभा निर्वाचन
संसद् पहिलो पटक नेमकिपाविहीन
२१ फागुनको चुनावअघिसम्म भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाहेक अरू कसैले जित्न सक्दैन भन्ने मान्यता थियो। २०४८ सालयताका सात निर्वाचनमा नेमकिपाले मात्र चुनाव जितेको क्षेत्र हो, भक्तपुर १। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको बसोबास रहेको यस क्षेत्रलाई नेमकिपाले करिब ‘कम्युन’ शैलीमा सञ्चालन गरेको थियो। शिक्षा र स्वास्थ्यको क्षेत्रमा कतिपय राम्रा काम भएका थिए भने नेमकिपाप्रति जनताको आकर्षण निरन्तर कायम थियो।
तर, यस पटक देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको चुनावी सुनामीले नेमकिपाको भक्तपुर कम्युन भत्किएको छ। २०७४ सालमा ३३ हजार ७६ मत र २०७९ सालमा ४२ हजार ७६१ मतसहित भक्तपुर १ बाट विजयी भएका नेमकिपाका नेता प्रेम सुवाल यस पटक पराजित भएका छन्। रास्वपाका रुकेश रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत मात्र पाएका छन्। रन्जितले सुवाललाई पराजित मात्र गरेका छैनन्, नेमकिपाको एक मात्र लालकिल्ला ढालिदिएका छन्।
नेमकिपाको इतिहास रोचक छ। २०३१ सालमा रोहित समूह, सर्वहारा क्रान्तिकारी संगठन नेपाल र किसान समिति एकीकरण भएर नेमकिपा बनेको हो। स्थापनाकालदेखि हालसम्म पार्टीको अध्यक्षमा गएको ५१ वर्षदेखि निरन्तर नारायणमान बिजुक्छे (रोहित) छन्। भक्तपुरका किसानसँग मिलेर विभिन्न आन्दोलन गरेको नेमकिपाले २०३६–३७ सालको जनमतसंग्रह र २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेको थियो।
जनतासँग घनिष्ठ सम्बन्ध भएकै कारण हरेक निर्वाचनमा भक्तपुरका मतदाताले रोहितको दल नेमकिपालाई नै रोज्दै आएका थिए। भक्तपुर १ बाट २०४८ देखि २०७० सालसम्मका पाँच वटा चुनावमा नेमकिपाका अध्यक्ष बिजुक्छे नै जित हात पारेका थिए।
जनतासँग घनिष्ठ सम्बन्ध भएकै कारण हरेक निर्वाचनमा भक्तपुरका मतदाताले रोहितको दल नेमकिपालाई नै रोज्दै आएका थिए। भक्तपुर १ बाट २०४८ देखि २०७० सालसम्मका पाँच वटा चुनावमा नेमकिपाका अध्यक्ष बिजुक्छे नै जित हात पारेका थिए। उनले २०४८ सालमा २० हजार १६३ मत पाएका थिए भने २०५१ सालमा १६ हजार ७७० र २०५६ सालमा १६ हजार ५३३ मत ल्याएका थिए।
२०६२/६३ को दोस्रो जनआन्दोलन र त्यसअघि तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्धको संघर्षमा सहभागी नेमकिपालाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मतदाताले पहिलेभन्दा बढी मत दिएका थिए। २०६४ सालको चुनावमा बिजुक्छेले १९ हजार ९७० मत ल्याएका थिए। पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि बीचमै विघटन भयो। तर, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा बिजुक्छेले अझ बढी २० हजार ४४६ मत ल्याए।
पाँच पटक निर्वाचन जितेपछि बिजुक्छेले २०७४ को आमचुनावमा विश्राम लिए। बिजुक्छेकै उत्तराधिकारीका रूपमा नेमकिपाका प्रेम सुवाल त्यस क्षेत्रमा उम्मेदवार बने। उनले पनि ३३ हजार ७६ मत ल्याएर विजय हासिल गरे। २०७९ सालमा पनि सुवालले नै जिते। दोस्रो पटक उनले ४२ हजार ७६१ मत ल्याएका थिए। त्यस वर्ष भक्तपुर क्षेत्र नम्बर १ मा खसेको ७१ हजार ७०९ मतमध्ये सुवालले ५९.६३ प्रतिशत मत पाएका थिए।

नारायणमान बिजुक्छे।
२०७२ सालमा नयाँ संविधान जारी भएसँगै देश संघीयतामा गयो। त्यसपछि बनेको प्रदेशसभाको भक्तपुर १ (ख) मा नेमकिपाले लगातार जित हासिल गर्यो। २०७४ र २०७९ सालका दुइटै प्रादेशिक चुनावमा नेमकिपाकै सुरेन्द्रराज गोसाईंले जितेका थिए। भक्तपुर नगरपालिकामा पनि नेमकिपाले विजय हासिल गर्दै आएको छ। हुन पनि भक्तपुर १ बाट तीनै तहका सरकारमा नेमकिपाकै वर्चस्व थियो। तर, जेन-जी आन्दोलनपछि भएको प्रतिनिधिसभा चुनावमा भक्तपुर १ मा नेमकिपाको वर्चस्व तोडिएको छ।
पछिल्लो समय नेमकिपा भक्तपुर १ मा मात्रै सीमित थियो। त्यसअघि यस पार्टीको प्रभाव कर्णालीसम्म फैलिएको थियो। २०४८ सालमा भक्तपुर १ बाट बिजुक्छे विजयी भएका थिए भने जुम्लाबाट डिल्लीबहादुर महतले जितेका थिए। २०५१ सालमा भक्तपुर १ बाट बिजुक्छे, जुम्लाबाट भक्तबहादुर रोकाया, भक्तपुर २ बाट आशाकाजी बासुकला र दैलेख २ बाट विनोदकुमार शाहसहित नेमकिपाले चार सिट जितेको थियो।
नेपाललाई समाजवाद-उन्मुख राज्य बनाउने संविधानको परिकल्पनालाई व्यवहारमा उतार्न नेमकिपाले संसद्मा पनि निरन्तर आवाज उठाउने गरेको थियो। एक्लो सांसद भए पनि नेमकिपाको संसदीय प्रस्तुति अलग हुन्थ्यो।
२०५६ सालमा भने भक्तपुर १ मा बिजुक्छेले मात्र जिते। त्यसैबेलादेखि नेमकिपा भक्तपुरमा मात्र खुम्चियो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ भक्तपुर १ बाट बिजुक्छेले जिते भने भक्तपुर २ बाट सुनील प्रजापतिले विजय हासिल गरे। त्यतिबेला समानुपातिकमा नेमकिपाका नवराज कोइराला र लीला न्याईच्याईं सांसद बनेका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर १ बाट बिजुक्छेले प्रत्यक्षबाट जिते भने समानुपातिकतर्फ प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगर सभासद् भएका थिए। २०७४ र २०७९ सालमा भक्तपुर १ बाट प्रेम सुवाल सांसद भए।
आफूलाई कम्युनिस्ट विचारधाराको सच्चा पहरेदार मान्ने दल हो, नेमकिपा। यस दलले मार्क्सवाद, लेनिनवाद र माओत्सेतुङको विचारधारालाई आदर्श मान्छ। माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने, विश्वविद्यालय शिक्षालाई सहज बनाउनुपर्ने, शिक्षामा बजेट वृद्धि गर्नुपर्ने, नि:शुल्क स्वास्थ्योपचारको व्यवस्था हुनुपर्ने आवाज नेमकिपाले सदनमा पनि निरन्तर उठाउँदै आएको छ। त्यस्तै, गोर्खा भर्ती खारेजी, नेपालमै रासायनिक मल कारखाना स्थापना, नेपालको पुँजी देशकै विकासमा लगानी गर्नुपर्नेलगायत मुद्दामा पनि नेमकिपाको खरो पैरवी छ। नेपाललाई समाजवाद-उन्मुख राज्य बनाउने संविधानको परिकल्पनालाई व्यवहारमा उतार्न नेमकिपाले संसद्मा पनि आवाज उठाउने गरेको थियो। एक्लो सांसद भए पनि नेमकिपाको संसदीय प्रस्तुति अलग हुन्थ्यो। नेमकिपा सदनमा प्राय: प्रतिपक्षको भूमिका रहने गरेको थियो। तर, अबको संसद् नेमकिपाविहीन भएको छ।