काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

प्रतिनिधिसभा निर्वाचन

कार्यकाल बाँकी छँदै राजीनामा दिएर संघीय संसद् ताक्नेहरूको हार

२४ फाल्गुन २०८२
उम्मेदवारहरू (माथि दायाँबाट) असिम राई, भक्तिप्रसाद सिटौला, रणबहादुर राई, सूर्यबहादुर भट्टराई, मेजर कुमार राई, दिलिप कुमार अग्रवाल, अस्मिता थापा।
अ+
अ-

विराटनगर। कोसी प्रदेशमा कार्यकाल बाँकी छँदै प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख पदबाट राजीनामा दिएर संघीय संसद् (प्रतिनिधिसभा) छिर्ने दाउमा रहेका उम्मेदवारहरू नराम्ररी पछारिएका छन्। जनताले सुम्पिएको पाँच वर्षको जनादेशलाई बीचैमा लत्याएर शक्ति र ओहोदाको लोभमा संघीय सांसदको दौडमा निस्किएकाहरूलाई मतदाताले यस पटक पराजित गरेका छन्।

प्रदेशसभा छाडेका सिटौला पाँचौँ स्थानमा सीमित

गएको माघ ४ गते भक्तिप्रसाद सिटौलाले प्रतिनिधिसभा निर्वाचनमा उठ्ने घोषणा गर्दै कोसी प्रदेशसभा सदस्यबाट राजीनामा दिए। झापा निर्वाचन क्षेत्र नम्बर ४ (२)बाट प्रत्यक्ष निर्वाचित सिटौलाको कार्यकाल अझै बाँकी थियो। तर, राप्रपाबाट झापा ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सिटौलाको नतिजा सोचेभन्दा निकै खराब आयो। उनी आफ्नो निर्वाचन क्षेत्रमा पाँचौँ स्थानमा खुम्चिएका छन्। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल ४३ हजार ६३९ मतका साथ विजयी हुँदा सिटौलाले दुई हजार ८० मत मात्र पाए।

मेयर पद त्यागेर चुनाव लड्दा पराजय

जनादेश लत्याएर संघीय संसद्को यात्रामा लाग्दा हार बेहोर्ने अर्का पात्र हुन्, मोरङको रंगेली नगरपालिकाका निवर्तमान प्रमुख दिलीपकुमार अग्रवाल (बगडरिया)। रंगेलीको नगर प्रमुख पदबाट राजीनामा दिएर नेकपा (एमाले)बाट मोरङ २ मा चुनाव लडेका उनी १५ हजार ६२४ मत ल्याएर पराजित भए। यस क्षेत्रबाट रास्वपाका कृष्ण कार्की ४० हजार ९२४ मतका साथ विजयी भए। रोचक कुरा त के छ भने, २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट मेयर जितेका अग्रवाल २०७९ सालमा एमालेबाट पुनः नगर प्रमुख निर्वाचित भएका थिए।

उपप्रमुख र गाउँपालिका अध्यक्षको पनि बिचल्ली

ओखलढुंगाको लिखु गाउँपालिकाकी उपप्रमुख अस्मिता थापाले पनि प्रतिनिधिसभा चुनाव लड्न पदबाट राजीनामा दिएकी थिइन्। एमालेबाट उम्मेदवार बनेकी उनी १० हजार ७२० मत ल्याएर चौथो स्थानमा सीमित भइन्। यस क्षेत्रमा रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतका साथ विजयी भए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए।

यस्तै, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षबाट राजीनामा दिएर उदयपुर २ बाट स्वतन्त्र उम्मेदवार बनेका मेजरकुमार राईको त जमानत नै जफत भएको छ। तत्कालीन माओवादी केन्द्रबाट अध्यक्ष जितेका उनले प्रतिनिधिसभामा जम्मा ९० मत मात्रै प्राप्त गरे। जमानत जोगाउन कुल खसेको मतको १० प्रतिशत ल्याउनुपर्नेमा उनले ११औँ स्थानमा रहँदै लज्जास्पद हार बेहोरे। सो क्षेत्रबाट रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मत ल्याएर विजयी भए।

थुलुङ दूधकोसी गाउँपालिकाबाट राजीनामा दिएर नेकपाबाट सोलुखुम्बुमा उठेका असीम राई नौ हजार ४१ मत ल्याएर पराजित भए। उनको क्षेत्रबाट कांग्रेसका प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत ल्याएर विजयी भए।

इलामको सूर्योदय नगरपालिकाको प्रमुखबाट राजीनामा दिएर नेकपाबाट इलाम १ को चुनावी मैदानमा उत्रेका रणबहादुर राई पनि पछिल्लो मतगणना अपडेटअनुसार दुई हजार ४३२ मत ल्याएर पाँचौँ स्थानमा छन्। हाल सो क्षेत्रमा एमालेका काजीमान कागते सात हजार ३९ मतका साथ अग्रस्थानमा छन् भने कांग्रेसका विनोद लिम्बू ६ हजार १४१ मतका साथ पछ्याइरहेका छन्।

उता, धरान उपमहानगरपालिका-१७ को वडाध्यक्ष पदबाट राजीनामा दिएर नेकपाबाट सुनसरी १ मा उम्मेदवार बनेका सूर्यबहादुर भट्टराई चौथो स्थानमा खुम्चिएका छन्। उनले ६ हजार १८५ मत मात्र प्राप्त गरे। यस निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ३५ हजार ७४१ मतका साथ विजय भएका छन्।