राजनीति
औपचारिक संवाद सुरु भएसँगै विवादका मूलभूत विषयमा सहमति हुने संस्थापनको विश्वास
नेपाली कांग्रेसमा संस्थापन र इतर समूहबीच संवादको ढोका खुलेको छ। संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार इतर समूहमध्ये नेता शेखर कोइरालासँग भेट गरेर औपचारिक वार्ता सुरु गरेका हुन्। आज (शुक्रबार) विराटनगरस्थित कोइरालाको निवासमै पुगेर घिमिरेले उनीसँग संवाद गरे।
व्यक्तिगत कामको सिलसिलामा भारत गएर फर्केपछि आफूले कोइरालासँग औपचारिक छलफल थालेको घिमिरे बताउँछन्। “भारत जानुअघि पनि भेटेको थिएँ, फर्केपछिको भेट सकारात्मक दिशामा अघि बढेको छ,” घिमिरे भन्छन्।
कोइराला-घिमिरे दुवै विराटनगरका हुन्। घिमिरे १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। १५औँ महाधिवेशनअघि पार्टीले सुरु गरेको प्रक्रियामा संस्थापन-इतर समूहमा गम्भीर मतभेद छ। विशेषगरी, सदस्यता अद्यावधिक गर्ने संस्थापनको निर्णयपछि दुवै पक्षमा तिक्तता बढेको छ।
घिमिरेले कोइरालाबाट सुरु गरेको भेटघाटपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग पनि कुरा गर्ने बताए। “पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग टेलिफोनमा कुराकानी गरेको छु,” घिमिरे भन्छन्, “काठमाडौँ आएलगत्तै भेटघाट गर्छु।”
पार्टीका महामन्त्रीले इतर समूहसँग संवाद सुरु गरेसँगै वैशाखदेखि जारी संवादहीनता अन्त्य भएको ठानिएको छ। यसले दुवै पक्षलाई मिलाउने कार्य सुरु गरेको घिमिरेको बुझाइ छ। “मैले इतर समूहसँग वार्ता सुरु गरेको कुरा उपसभापतिमार्फत सभापतिकहाँ पुर्याएको छु,” घिमिरे भन्छन्।
सभापति गगन थापाले ६ वैशाखमा देउवा पक्षका नेता खड्कासँग भेटेयता दुई पक्षबीच औपचारिक संवाद भएको छैन। यस्तै, सभापति थापा र नेता कोइरालाबीच २२ वैशाखमा भेट भएको थियो। त्यसयता उनीहरूबीच न भेटघाट भएको छ, न त औपचारिक संवाद। कोइरालाले इतर मतलाई समेट्नुको सट्टा संवादमै नआएको भन्दै सभापति थापासँग असन्तुष्टि जनाउँदै आएका थिए।
वार्तामा के भयो कुरा?
१५ दिनअघि नै कांग्रेसले इतर समूहसँग वार्ता गर्ने निर्णय गरिसकेको थियो। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलबीच इतर समूहसँग वार्ता गर्ने निर्णय भएको थियो। त्यसैको प्रयत्नका रूपमा घिमिरेले भारत जानुअघि कोइरालालाई एक पटक भेटेका थिए।
आज भएको भेटमा कोइरालाले अघि सारेका पाँच बुँदा र संस्थापनले ल्याएका सात बुँदालाई केन्द्रबिन्दुमा राखेर वार्ता भएको घिमिरे बताउँछन्। “मैले सातबुँदेको कुरा गरेँ, उहाँको कुरा पनि सुनेँ,” घिमिरे भन्छन्, “आफूले पाँचबुँदे प्रस्ताव राखेपछि सभापतिसँग भेट हुन नसकेको उहाँले बताउनुभयो।”
कांग्रेसले इतर समूहलाई पठाएको सातबुँदे प्रस्ताव ३१ जेठमा सार्वजनिक गरेको थियो। भेटमा संस्थागत मतभन्दा बाहिर देखिएका इतर मतहरूलाई कसरी समेट्ने र १५औँ महाधिवेशनमा सँगै लिएर कसरी जाने विषयमा कुराकानी भएको घिमिरे बताउँछन्।
पाँचबुँदेमा कोइरालाले राखेका अन्य दुई प्रस्तावमा छलफल भएको छ। १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई समायोजन गर्ने कोइरालाको प्रस्ताव थियो। “कि दुवै समिति समायोजन गर्ने, कि समायोजन गर्दै नगर्ने भन्ने उहाँको प्रस्ताव छ,” घिमिरे भन्छन्।
कोइराला र देउवा समूह गत वर्षको पुसमा भएको विशेष महाधिवेशनमा गएको थिएन। आफूले राखेको प्रस्तावविपरीत सभापति थापाले केन्द्रीय समिति मनोनयन गरेपछि कोइराला रिसाएका थिए। थापाले देउवा पक्षका १८ र कोइराला पक्षका ११ नेतालाई मनोनीत गरेका थिए। “अब कि सबै गर्ने, कि गर्दै नगर्ने प्रस्ताव आएको छ,” घिमिरे भन्छन्, “यसबारे नेतृत्वसँग कुराकानी हुन्छ।”
कोइरालाको अर्को प्रस्ताव अनुशासन, निर्वाचन, क्रियाशील र छानबिन समितिमा सबै पक्षको प्रतिनिधित्व गराउने थियो। भेटमा कोइराला-घिमिरेबीच उक्त प्रस्तावमा पनि छलफल भएको छ। “ती समितिमा सबैको प्रतिनिधित्व गराएर महाधिवेशनको वातावरण विश्वसनीय बनाउने कुरा भयो, यो गाह्रो कुरा होइन,” घिमिरे भन्छन्।
उनका अनुसार, छलफलमा सदस्यता अद्यावधिकको विषय भने प्रवेश भएन। अद्यावधिकको कुरामा कोइरालाको विमति छ। यसमा देउवा-कोइराला दुवै समूहको समान धारणा छ। उनीहरूले १४औँ महाधिवेशनको नवीकरणलाई नै आधार मानेर १५औँ महाधिवेशन गर्नुपर्ने र अद्यावधिकलाई अनिवार्य सर्त बनाउन नहुने अडान राख्दै आएका छन्।
घिमिरे भने अद्यावधिकको विषय सर्वस्वीकार्य बन्दै गएकाले नेताहरू प्रक्रियामा आउने विश्वास गर्छन्। “प्राय: सबै कार्यकर्ताले अद्यावधिक गर्नुभएको छ, ठूला नेताहरू मात्रै बाँकी हुनुहुन्छ। यो पार्टीको विधानको कुरा भएकाले यसलाई मिचेर जाने कुरा हुँदैन,” घिमिरे भन्छन्, “अद्यावधिकका लागि अझै समय छ। यस अवधिमा प्रक्रियामा नआउनेहरू १५औँ महाधिवेशनमा छुट्नुहुन्छ।” मूलभूत विषयमा सहमति भएपछि अद्यावधिकमा विमति रहँदैन भन्ने विश्वास रहेको उनी बताउँछन्।
कोइराला पक्षले भने वार्ताको विषयमा धारणा बाहिर ल्याएको छैन। कोइराला ३१ जेठदेखि विराटनगरमा छन्। काठमाडौँ फर्केपछि उनले आफ्नो समूहमा छलफल गर्ने बुझिएको छ। देउवा-कोइराला समूहले ३१ जेठमा विराटनगरमा कोसी प्रदेशस्तरीय भेला गरेको थियो।
२७ पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। महाधिवेशनबाट निर्वाचित समितिले १५औँ महाधिवेशन असोजमा गर्ने तयारी गरिरहेको छ। सोही तयारीस्वरूप कांग्रेसले २ जेठबाट नयाँ सदस्यता वितरण, नवीकरण र अद्यावधिक सुरु गरेको थियो।
यस प्रक्रियाका लागि २१ जेठसम्मको समय तोकिएको थियो। २१ जेठपछि कांग्रेसले सदस्यताको समय एक साता थपेर २८ जेठ मध्यरातिसम्म पुर्यायो। थपेको समयमा समेत सदस्यताको विषय टुंगिएन। ३१ जेठमा फेरि कांग्रेसले ७ असारसम्म समय थपेको थियो। यस अवधिमा पनि अद्यावधिक प्रक्रिया पूरा नभएपछि नयाँ समयसीमा २० असारसम्म तोकिएको छ। क्रियाशील सदस्यता विवाद चर्किरहेका बेला कांग्रेसले संस्थापन इतर समूहलाई १० असारमा स्मरण तालिका सार्वजनिक गर्दै सदस्यता अद्यावधिकको विषय सम्झाएको छ।
विशेष महाधिवेशनले कांग्रेसको संगठनात्मक संरचनामा दूरगामी प्रभाव पार्ने गरी सदस्यता व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था गरेको थियो। विधान संशोधनमार्फत धारा ४ को उपधारा १४ मा समावेश गरिएको विशेष प्रावधानले पार्टीभित्रको शक्ति सन्तुलनलाई समेत पुन:परिभाषित गर्ने आधार तयार गरेको थियो। उक्त प्रावधानअनुसार विशेष महाधिवेशनपछिको परिस्थितिलाई ध्यानमा राख्दै केन्द्रीय कार्यसमितिले एक पटकका लागि विशेष निर्णय गरी पार्टीमा आबद्ध सबै सदस्यलाई पुनः क्रियाशील सदस्यताको फाराम भर्न लगाउन सक्नेछ। त्यसमार्फत सदस्यताको अभिलेख अद्यावधिक गरिने र अद्यावधिक प्रक्रियापछि कायम रहेका सदस्यलाई परिचयपत्र (एनसी आईडी) प्रदान गरिने व्यवस्था छ।