काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

प्रतिनिधिसभा निर्वाचन

पुराना दलप्रति जनताको आक्रोश र बालेन्द्र शाहप्रतिको आकर्षणले मधेसमा चम्कियो रास्वपा

२४ फाल्गुन २०८२
जनकपुरको तिरहुतिया गाछीमा आयोजित चुनावीसभामा रवि लामिछाने र बालेन्द्र शाह। तस्बिर : बालेनको सचिवालय
अ+
अ-

जनकपुर। मधेस प्रदेशका जनताले यसपटक मधेसकेन्द्रित दलभन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा अभिमत जाहेर गरे। उनीहरूले घण्टीलाई रोजेपछि पहिलोपटक मधेसकेन्द्रित दल शून्यको स्थितिमा पुगे।

मधेसको ३२ सिटमध्ये ३० सिट रास्वपाले जितेको छ। आठ जिल्ला रहेको मधेस प्रदेशमा हरेक जिल्लामा चारवटा प्रतिनिधिसभाको सिट छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेसमा करिब एक लाख मत मात्रै भएको रास्वपा अहिले पहिलो दल बनेको छ। योसँगै स्थापित पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र मधेसकेन्द्रित दललाई झन्डै शून्यको अवस्थामा पुर्‍याएको छ। कांग्रेसले एक सिटमा भने जित हासिल गरेको छ। अन्य दलहरू भने शून्यमा छन्।

धनुषा १ मा कांग्रेस र नेकपा झिनो मतान्तरले अगाडिपछाडि छन्। यो क्षेत्रमा रास्वपाका किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनको चुनाव चिह्न कायम रहेकाले मत पाए पनि बदरसरह हुने गरी गणना थालेपछि नेकपा कांग्रेसका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको हो।

पुरानो दलप्रति जनताको आक्रोश र बालेन्द्र शाहप्रतिको आकर्षणले मधेसमा रास्वपालाई फाइदा पुगेको छ। मधेसका जनताले सबै राजनीतिक दललाई अहिलेसम्म मत दिएको र यसपटक नयाँलाई मौका दिनुपर्छ भन्दै रास्वपालाई मत दिए। कतिपय मतदाताले प्रत्यक्षमा अन्य पार्टीलाई दिए पनि समानुपातिकतर्फ भने रास्वपालाई नै मत दिए।

गगन लड्दा पनि कांग्रेसलाई भएन फाइदा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टी परिवर्तन भएको भन्दै मधेसबाट निर्वाचन लड्ने निर्णय गरेका थिए। कांग्रेस अब परिवर्तन भयो भन्दै उसले मधेसबाट लडेर मधेसमा कांग्रेस बलियो रहेको सन्देश दिने गरी सर्लाही ४ मा उम्मेदवारी दिए। उम्मेदवारी दिएदेखि नै कतिपले उनी यो क्षेत्रमा विजयी हुने आकलन गरेका थिए। तर उनले पराजय भोग्नुपर्यो। मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै रास्वपाका अमरेशकुमार सिंह निर्वाचित भए। थापाले २२ हजार ८३१ मतमै चित्त बुझाए। जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे। उता यसपटक मधेस झरेर चुनाव लडेका गगनको संसदीय यात्रामा ब्रेक लाग्यो। गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए।

पराजय भोगेका मधेसी नेताले भने– जनताको निर्णय स्वीकार छ

पहिलोपटक समानुपातिक प्रणालीबाट सांसद बनेका उनी पछिल्लो तीनपटक काठमाडौँ ४ बाट निर्वाचित भएका थिए। जस्तोसुकै प्रतिकूल परिस्थितिमा कांग्रेसलाई मधेसले निराश बनाएको थिएन। यसपटक भने मधेसमा कांग्रेस एक सिटमै खुम्चियो। रौतहट २ मा कांग्रेसका मोहम्मद फिरदोश आलमले साख जोगाए।

उनले २९ हजार ५२८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाका किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे। यो क्षेत्रमा रास्वपाका उम्मेदवार सेख सगिरले नौ हजार ३२५ मत, जसापा नेपालका रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो र नेकपा एमालेका उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरे। कांग्रेसका अधिकांश उम्मेदवारले मधेसमा आफ्नो जमानतसमेत जोगाउन सकेनन्।

मधेसकेन्द्रित दललाई नसोचेको परिणाम
यसपटकको निर्वाचनमा सबैभन्दा ठूलो धक्का मधेसकेन्द्रित दललाई लागेको छ। मधेसकेन्द्रित दलका अध्यक्षहरू नै निर्वाचनमा पराजय भोगे। २०४८ यता मधेसकेन्द्रित अहिलेजस्तो कमजोर अवस्थामा पुगेका थिएनन्। मधेस आन्दोलनअघि नेपाल सदभावना पार्टी स्थापित थियो।

यो पनि…

सीके राउत : मधेसको वैकल्पिक शक्तिका सूत्रधारको पराजय

यसपटक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३‚ जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउत सप्तरी २ मा पराजय भोगे। रौतहट ३ मा आम जनता पार्टीका प्रभु साह पराजित भए। मधेसकेन्द्रित दलका धेरैजसो उम्मेदवारको जमानत नै जफत भयो। आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी गठन गरेर सर्लाही २ मा उम्मेदवार रहेका राजेन्द्र महतोसमेत तेस्रो स्थानमा खुम्चिए। उनले त आफ्नो धरौटीसमेत जोगाउन सकेनन्।

नेकपा एमाले र नेकपा शून्य
जेन-जी आन्दोलनपछि नेकपा एमालेप्रति सबैतिर आक्रोश थियो। त्यसमा पनि अध्यक्ष केपी ओली र सोही पार्टीका नेता महेश बस्नेतको मधेसप्रतिको बेलगाम बोलीले एमालेप्रति जनता रुष्ट बने। ओलीले बालेनलाई आलोचना गर्दै महोत्तरी र धनुषालाई गुइँठेयुगको संज्ञा दिए। महेशले छाउरा भनेर हेपे। यसले मधेसको जनतालाई एमालेप्रतिको आक्रोश बढाउने काम गरियो।

ओली र बस्नेतको भनाइलाई रास्वपाले प्रचारको माध्यम बनायो। जनतामा एमालेप्रतिको आक्रोश अभिमतमा व्यक्त भयो। पछिल्लो निर्वाचनमा नौ सिट जितेर पहिलो पार्टी रहेको एमाले शून्यमा पुग्यो। एमालेका अधिकांस स्थापित नेता पराजित भए। एमालेका स्थापित नेतामा रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ, किसान श्रेष्ठ, ज्वालाकुमारी साह सबै पराजित भए। यस्तै अवस्था नेकपामा पनि देखियो। माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ,गिरिराजमणि पोखरेल,रामचन्द्र झासहितका नेता पराजित भए।