प्रदूषण
पश्चिम पहाडमा दिउँसै अँध्यारो
डडेल्धुरामा अरू बेला छर्लंगै देखिने हिमाल देखिन हम्मे भएको छ। आइतबार बिहानै बुटवल भएर पहाड पसेको मौसमी प्रक्रियाका कारण पश्चिम पहाड दिउँसै अँध्यारो भएको छ भने तराईमा यसको असर बढी देखिएको छ। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराका सहायक मौसमविद् मेघराज शर्माका अनुसार तराई र भारतमा रहेका कलकारखानाको प्रदूषण पहाड भित्रिएकाले अँध्यारो भएको हो।
डडेल्धुराजस्तो हरियालीपूर्ण जिल्लामा समेत सोमबार दिउँसो वायु प्रदूषण मापन ‘एयर क्वालिटी इन्डेक्स’ १५३ पुगेको छ, जुन स्वस्थकर होइन।
मुलुकको आफ्नो कुनै मौसम प्रणाली छैन। छिमेक र परदेशमा उत्पन्न हुने मौसमी प्रणालीले यहाँको मौसमलाई प्रभावित गर्छ।
शर्माका अनुसार नेपालसँग जोडिएको भारतका उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालजस्ता राज्यको बढ्दो जनघनत्व र औद्योगीकरणले १९८० को दशकदेखि भारत-नेपाल हुँदै बाङ्लादेशको मैदानी क्षेत्रमा आफ्नो प्रभाव देखाउँदै आएको छ।
चिसो मौसममा तराईमा बाक्लो हुस्सु लाग्ने र धुलोधुवाँले आकाश कालै हुने अवस्था छ।
उद्योगबाट निस्कने धुलोधुवाँका कण ‘डस्ट पार्टिकलहरू’ सफा वातावरणमा मिसिँदा प्रदूषण बढ्ने गरेको छ।
यो प्रदूषणलाई विकास निर्माणबाट आउने धुलो र किसानका खेतबाट आउने धुवाँले समेत प्रभावित गरिरहेको हुन्छ। बालबालिका र वृद्धवृद्धा यो मौसमबाट बढी प्रभावित हुने गर्छन्।
अचानक भित्रिएको यो प्रणाली हराउन या त हावा चल्नुपर्छ या पानी नै पर्नुपर्छ। सोमबार कर्णाली र मंगलबार सुदूरमा हल्का पानी पर्ने प्रणाली पनि विकसित भएको शर्मा बताउँछन्।