प्रसंग
चिनियाँ विकासको मोडल बुझाउन कोसी प्रदेशका पालिकामा मात्रै सात हजार प्रति द गभर्नेन्स अफ चाइना वितरण
मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक द गभर्नेन्स अफ चाइना जलेको प्रकरण छानबिन गर्न सरकारले पाँचसदस्यीय समिति गठन गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा गठित छानबिन समितिले शुक्रबारदेखि काम सुरु गरेको छ।
समितिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछाने, कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सुनील रेग्मी, जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहन्यायाधिवक्ता नवराज घिमिरे र जिल्ला शिक्षा समन्वय इकाइका शाखा अधिकृत प्रकाश गुरुङ छन्। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल भन्छन्, “छानबिन समितिलाई १५ दिनको समय दिइएको छ। सत्यतथ्य के हो, दोषी को हो र आगामी दिनमा यस्ता घटना हुन नदिन के गर्ने भन्ने विषयमा छानबिन गरेर विस्तृत प्रतिवेदन बुझाइनेछ।”
कसरी जल्यो चिनियाँ किताब?
विराटनगरको मुख्य बजार ट्राफिक चोकबाट करिब १० किलोमिटर उत्तर लागेपछि मोरङको बुढीगंगा–४, हात्तीमुढामा पर्छ, मनमोहन प्राविधिक विश्वविद्यालय। ३० फागुनको साँझ विश्वविद्यालयमा द गभर्नेन्स अफ चाइना पुस्तक जलेको भिडिओ सार्वजनिक भयो। नेपाली पाठकमाझ चिनियाँ विकासको मोडल पुर्याउने उद्देश्यले ती किताब पुष्पलाल स्मृति प्रतिष्ठानमार्फत मनमोहन प्राविधिक विश्वविद्यालय पुर्याइएका थिए। हुन पनि विश्वविद्यालयमा एकै पटक २९ हजार थान द गभर्नेन्स अफ चाइना पुस्तक ल्याइएका थिए। प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार कोभिड-१९ महामारीका बेला ल्याइएका पुस्तक विश्वविद्यालयमा भण्डारण गरिएका थिए।
“हामीले चिनियाँ विकासको मोडल बुझाउन सो पुस्तक ल्याएका थियौँ,” खतिवडा थप्छन्, “तीमध्ये करिब सात हजार पुस्तक कोसी प्रदेशका १३७ वटै पालिकामा वितरण गरिसकिएको छ। बाँकी पुस्तक विश्वविद्यालयकै गोदाममा थिए।”
विश्वविद्यालयभित्रका तीन वटा गोदाम अहिले पनि उक्त पुस्तकले भरिएका छन्। खतिवडाका अनुसार झन्डै १४ हजार थान पुस्तक अहिले सुरक्षित छन्। तर, सिभिल इन्जिनियरिङ विभागको पुरानो अटोमोबाइल वर्कसप खाली गर्दा ‘राम्रो’ र ‘नराम्रो’ छुट्याउने क्रममा गल्ती भएको विश्वविद्यालयका उपकुलपति सुभाष श्री पोखरेल बताउँछन्। उनका अनुसार नियतवश पुस्तक जलाइएको होइन। “विद्यार्थीका लागि वर्कसप चाहियो, त्यसैले पुराना सामान हटाउने निर्णय भयो,” पोखरेल भन्छन्, “धेरै समयदेखि थन्किएका, धमिराले खाएका र मक्किएका कागजात जलाउँदा द गभर्नेन्स अफ चाइना पनि भुलवश परेछ। नियतवश गरिएको होइन।”

मनमोहन प्राविधिक विश्वविद्यालयमा भण्डारण गरिएको चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’।
विश्वविद्यालयमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौँस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत लिखित आपत्ति जनायो। आफ्ना राष्ट्रपतिको किताब जल्नुलाई गम्भीर विषयको रूपमा लिँदै चिनियाँ दूतावासले कारबाहीको माग गरेपछि गृह मन्त्रालयले घटनाको छानबिनको जिम्मा जिल्ला प्रशासन कार्यालय मोरङलाई दिएको हो।
मनमोहन प्राविधिक विश्वविद्यालयले ‘धमिरा लागेका पुस्तक’ जलाएको दाबी गरे पनि पुस्तकलगायत पुराना सामग्री नष्ट गर्नुअघि सावधानी अपनाइएको देखिएन। घटनापछि कतिपयले यसलाई कर्मचारीको लापरवाही भनेका छन् भने कतिपयले सामान्य गल्तीका रूपमा व्याख्या गरेका छन्।
घटनापछि विश्वविद्यालयले १ चैतमा जारी गरेको विज्ञप्तिअनुसार विश्वविद्यालयको सिभिल इन्जिनिअरिङ विभागमा प्रयोगशाला बनाउन लाग्दा उक्त घटना भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘सरसफाइका क्रममा पूर्ण रूपमा बिग्रेका एवम् अन्य कवाडी सामग्रीको व्यवस्थापन गर्ने क्रममा मक्किएका, बिग्रिएका तथा धमिरा लागेका केही पुस्तकहरू नष्ट भएका हुन्। राम्रो अवस्थामा रहेका पुस्तक तथा सामग्रीहरू भने छुट्ट्याई सुरक्षित रूपमा राखिएको बेहोरा जानकारी गराउँदछौँ।’