काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक कार्यक्रम पलेँटी सम्पन्न भएको छ।

यसपालिको पलेँटी दार्जिलिङका विस्मृत रचनालाई अभिलेखमा ल्याउने उद्देश्यले गत शुक्रबार र शनिबार साँझ सांगीतिक कार्यक्रम गरिएको आयोजकको भनाइ छ।

१७ वर्षपहिले पलेँटीमा आफ्नो पहिलो प्रस्तुति दिएका खरेलले गत वर्ष पनि ‘आर’शाला गुञ्जायमान बनाएका थिए। विगतका कार्यक्रममा आफ्ना सांगीतिक सहयात्री बद्री खरेल दाइका साथ प्रस्तुत हुने गरेका दुर्गा यसपालि भने पलेँटीकी कण्ठ शिल्पी अभिज्ञा घिमिरेका साथ प्रस्तुत भएका थिए।

यसपालिको कार्यक्रममा दार्जिलिङका बिर्सिएका गीतहरू प्रस्तुत भएका थिए। कार्यक्रममा प्रस्तुत गरिएका गीतहरूको छनोट दुर्गाले आफ्नो बाल्यकालको सम्झनाका आधारमा गरेका थिए।

कार्यक्रमको शुभारम्भ बद्री-दुर्गाकै लोकप्रिय गीत ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर…’बाट भएको थियो। त्यसपछि भने दार्जिलिङका अनेकौँ पुराना स्रष्टाको गीति पाना खोलिएका थिए। जुन पाना दुर्गाको मस्तिष्कमा जोगिएर रहेका सांगीतिक पाना थिए।

दुर्गाले आफ्नो सम्झनाको पाना पल्टाउँदा संगीतकार अम्बर गुरुङलाई अग्रस्थानमा राखेका थिए। अम्बर गुरुङका धुन सम्झने क्रममा सबैभन्दा पहिले उनले ‘पहाड सुक्यो जस्तो लाग्छ…’ गीत प्रस्तुत गरे। गीत प्रस्तुतिका क्रममा दुर्गाले यो गीत धुनको कारणले मात्र होइन शब्दको कारणले पनि मौलिक लागेर आकर्षित भएको र मनमा रहिबसेको बताएका थिए।

‘चौतारीमा बाटो खोज्दा खोज्दै मरेँ जस्तो लाग्छ, चौतारीको भूतको कथा मेरै मेरै जस्तो लाग्छ…’। अम्बर गुरुङकै शब्दमा रहेको यो गीत गुरुङ दार्जिलिङमा हुँदा नै लोकप्रिय भएको थियो।

दुर्गाले अम्बर गुरुङले दार्जिलिङमा हुँदै अरुणा लामासँग गाएको हो कि? भन्ने धुमिल सम्झना गर्दै ‘घामजुन पञ्च राखी वाचा मार…’ प्रस्तुत गरेका थिए। दुर्गाको सहगायनमा अभिज्ञाको साथ थियो।

त्यसपछि गोपाल योञ्जन आफ्नो संगीतको पहिलो गुरु रहेको स्मरण गर्दै दुर्गाले उनका दुईवटा गीत प्रस्तुत गरेका थिए। पुराना सिर्जना सम्झने क्रममा संगीतकार शान्ति ठटालका सिर्जनालाई पनि समेटिएको थियो।

प्रस्तुतिमा ६० को दशकभन्दा अगाडि नै दार्जिलिङमा लोकप्रिय बनेका एमबी सुन्दासका गीतहरू परेका थिए। सुन्दासको ‘स्वर्णिम सपनासाथ अँगाली तिमी निदायौ होली…’ आधुनिक शैलीमा आधारित गीत थियो भने ‘फूल फुल्यो पहेँली ए साइँली, याद आउँछ झलझली…‚ लोक शैलीको गीत थियो।

यसपालिको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), पारशमणि सुवेदी र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी), कृपेश लोहनी (रिदम गिटार) र सुदीप खत्री (बेस गिटार) को सहभागिता थियो।

अंग्रेजी महिनाको अन्तिम शुक्रबार, शनिबार प्रस्तुत हुने पलेँटीमा आउँदो महिना दार्जिलिङका गायक पवन गोले संगीतकार रमेश गुरुङका साथ प्रस्तुत हुनेछन्। पवन गोलेको गीत ‘हावासँगै बगुँ भन्छ…’ नेपाली संगीत जगतमा लोकप्रिय छ।