काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

विराटनगर। कोसी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाको बिर्तामोडस्थित निधि सेकेन्डरी स्कुलले जितेको छ।

विराट खेलकुद क्लब विराटनगरको आयोजनामा भूमिप्रशासन चोकस्थित विराट खेलकुद भलिबल प्रशिक्षण केन्द्रको परिसरमा आइतबार सम्पन्न फाइनल खेलमा निधि सेकेन्डरी स्कुलले कान्तिपुर कलेज विराटनगरलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

एकपक्षीय जस्तो देखिएको फाइनल खेलमा निधि सेकेन्डरी स्कुलले कान्तिपुर कलेजमाथि लगातार २५-१२, २५-१५ र २५-१३ को सेटमा जित निकाल्दै उपाधि सुरक्षित गर्‍यो।

उपाधिसँगै निधि सेकेन्डरी स्कुलले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको कान्तिपुर कलेजले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

प्रतियोगितामा निधि स्कुलका योगेश मगर ‘प्लेयर अफ द सिरिज’ र मिलन लिम्बू ‘बेस्ट कोच’ घोषित भए। त्यस्तै कान्तिपुर कलेजका शिव शर्मा बेस्ट स्पाइकर र आविष्कार विश्वकर्मा बेस्ट सर्भर चुनिए।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई आयोजक विराट खेलकुद क्लबका अध्यक्ष मोहम्मद नसरुल र विराटनगर महानगरपालिका १० का वडाध्यक्ष अर्जुन गिरीले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

७ साउनदेखि सुरु भएको प्रतियोगितामा कोसी प्रदेशका विभिन्न उच्च मावि तथा कलेजका १२ वटा टोलीको सहभागिता रहेको विराट खेलकुद क्लबका सचिव वीरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।