काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

आवरण

कोसी प्रदेशमा पछिल्लो समय लागुपदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढ्दा जोखिममा यात्रु

२९ चैत्र २०८२
अ+
अ-

विराटनगर महानगरपालिका-१६ का ३५ वर्षीय सिटी सफारी चालक अमृतकुमार कामत यही १७ चैतमा यात्रु लिएर रानी नाका पुगेका थिए। त्यहाँ सफारी पार्किङ गरी लागुपदार्थ सेवन (लापसे)का लागि उनी भारतको जोगबनी छिरे। लागुपदार्थले लट्ठिएका उनी रानी नाकाबाट चार जना यात्रु बोकेर विराटनगर बजारतर्फ फर्कंदै थिए, नजिकैको हुलास चोकमा प्रहरीले उनलाई रोक्यो।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोलीले सञ्चालन गरेको ‘क्यान सेन्टर’ मा स्वास्थ्य परीक्षण हुँदा उनले लापसे गरेको पुष्टि भयो। प्रहरीले यात्रुलाई अर्को सफारीमा सारिदियो र कामतलाई नियन्त्रणमा लियो।

त्यसदिन हुलास चोकमा गरिएको चेकिङका क्रममा अमृतकुमार कामत मात्र होइन, अरू सात जना सिटी सफारी चालक र एक जना मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जसमा विराटनगर वडा १५ का ३१ वर्षीय सन्नीकुमार थापा, वडा ६ का २४ वर्षीय शिवम साह र २७ वर्षीय सुराज पासवान, वडा ८ का ४५ वर्षीय प्रमोद पासवान, वडा १३ का २८ वर्षीय शंकर महतो नुनिया र वडा १ का २९ वर्षीय मो. इम्तियाज थिए। सोही दिन कटहरी-२ का ४२ वर्षीय सुरेश मण्डल र रतुवामाई गाउँपालिका-४ का ३२ वर्षीय मञ्जिल हाङ लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय रानी नाकाले मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाएको छ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा कारबाहीमा पर्नु देशभरि सामान्य छ, तर कोसी प्रदेशमा पछिल्लो समय कारबाहीमा परेकाहरूमध्ये लापसे गरेर सवारी चलाउनेहरूसमेत छन्।

विराटनगर-१६ रानीमा सवारीचालकहरूको लापसे जाँच गर्दै प्रहरी र स्वास्थ्यकर्मी। सबै तस्बिर : अनिल श्रेष्ठ

लापसे गर्नेलाई २४ पुस २०८१ मा मोरङको बूढीगंगा गाउँपालिका-४ नेमुवामा गरिएको आकस्मिक जाँचले झनै झस्काउने तथ्य बाहिर ल्यायो। ५४ चालकको परीक्षण हुँदा ११ जनाले लापसे गरेको पाइयो। जसमा आठ जना मोटरसाइकल चालक, दुई जना बस चालक र एक ट्यांकर चालक थिए। यस्तै, ३ असोज २०८० मा हुलास मेटलअगाडि नौ जना सिटी सफारी चालक लापसे जाँचमा परेका थिए। २० चैत २०८१ मा मोरङको बेलबारी-१ मा सार्वजनिक यातायात चलाउने ५५ चालकको स्वास्थ्य परीक्षण गर्दा ११ जनाले लापसे गरेर सवारी चलाएको पाइएको थियो। यसरी सानादेखि ठूला सवारीसाधनका चालकले नै लापसे गर्नुले सर्वसाधारण यात्रुको सुरक्षामा प्रश्न उब्जाएको छ।

चालु आवमा मात्रै लापसे गरी सवारी चलाउने २० सवारी चालकलाई मोरङ अदालतमा मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याएको मोरङ प्रहरी प्रमुख कवित कटुवाल बताउँछन्। “मापसे गरेर सवारीसाधन चलाएको पाइए चालकलाई जरिवाना गर्छौं र लाइसेन्स भएका आफन्त वा अरू व्यक्ति बोलाएर जिम्मा लगाउँछौँ। लागुऔषध सेवन गरेर सवारी चलाएको पुष्टि भएमा चाहिँ लागुऔषध मुद्दाकै प्रक्रियामा कारबाही अगाडि बढाउँछौँ,” उनी भन्छन्।

लापसे गर्ने बढे

कोसी प्रदेशका १४ जिल्लामा पछिल्ला वर्ष लापसे गरेर सवारी चलाउने बढिरहेका छन्। ट्राफिक प्रहरीको अभिलेखअनुसार पछिल्लो तीन वर्ष ९ महिना (आव २०७९/८० देखि २०८२/८३ को १७ चैतसम्म)मा ९०१ चालकको स्वास्थ्य परीक्षण गर्दा ३३७ जनाले लापसे गरेको पुष्टि भएको थियो।

आव २०७९/८० मा ६२ चालकलाई परीक्षण गर्दा २६ जना, आव २०८०/८१ मा १९४ चालकलाई परीक्षण गर्दा ११० जना र आव २०८१/८२ मा ४८० चालकलाई परीक्षण गर्दा १५२ जनाले लापसे गरेको पुष्टि भएको थियो।

चालु आव २०८२/८३ को १७ चैतसम्म मात्रै १६५ चालकलाई परीक्षण गर्दा ४९ जना लापसेमा परेका छन्।

आव २०७८/७९ मा मापसे गरी सवारी चलाउने पाँच हजार १२० चालकलाई कारबाही हुँदा ५१ लाख २३ हजार ५०० रुपैयाँ जरिवाना उठेको थियो। यस्तै, आव २०७९/८० मा मापसे गरी सवारी चलाउने आठ हजार ३६३ चालकलाई कारबाही हुँदा ८३ लाख ९३ हजार रुपैयाँ जरिवाना उठेको थियो। आव २०८०/८१ मा मापसे गरी सवारी चलाउने ६ हजार ३८८ चालकलाई कारबाही हुँदा ६४ लाख २१ हजार ५०० जरिवाना रकम उठेको थियो।

सवारीचालकहरूको पिसाबको नमुना बट्टामा हालेर लापसे जाँचको तयारी गर्दै प्रहरी।

आव २०८१/८२ मा मापसे गरी सवारी चलाउने १० हजार ५०६ चालकलाई कारबाही हुँदा ६४ लाख दुई हजार ५०० जरिवाना रकम उठेको थियो। आव २०८२/८३ चैत २२ सम्म मापसे गरी सवारी चलाउने तीन हजार ९६५ चालकलाई कारबाही हुँदा २१ लाख ३० हजार जरिवाना रकम उठेको थियो।

अर्कातर्फ, आव २०७८ देखि हालसम्म (चार वर्ष नौ महिनामा) कोसी प्रदेशमा २१ हजार ९६ वटा सवारी दुर्घटना भएका छन्, जसमा परी दुई हजार ८५ जनाले ज्यान गुमाएका छन् भने ३५ हजार २५० जना घाइते भएका छन्। यी दुर्घटनाको एउटा मुख्य कारण चालकले गर्ने नशाजन्य पदार्थको सेवन रहेको प्रहरीको विश्लेषण छ।

मापसेको साटो लापसे

ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि चालकले विकल्पमा लापसे रोज्न थालेको ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी, इटहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपक गिरी बताउँछन्। “मापसे त गन्ध र हाउभाउले सजिलै थाहा हुन्छ, तर लापसे गरेको गन्ध आउँदैन, परीक्षण नगरी थाहा हुँदैन। त्यसैले चालकले प्रहरीलाई छल्न लागुऔषध सेवन गर्ने प्रवृत्ति बढेको पाइएको छ,” उनी भन्छन्।

प्रहरीका अनुसार धेरैजसो चालकले गाँजा, प्रतिबन्धित ‘पिल्स’ र ‘कफ सिरप’ सेवन गर्ने गरेका छन्। विशेषगरी लामो दूरीका चालकले निद्रा भगाउने बहानामा वा नशाको तलतल मेटाउन यस्तो जोखिम मोल्ने गरेका छन्। सेवनकर्ताले लागुऔषध प्रयोग गरेको सहजै पहिचान नहुने भएका कारण पनि यो प्रवृत्ति बढेको हो। “रक्सी खाएपछि हाउभाउ र गन्धले नै थाहा हुन्छ, तर लागुपदार्थ प्रयोग गरेको गन्ध आउँदैन। परीक्षण गरेपछि मात्रै थाहा हुने कुरा हो,” एसपी गिरी भन्छन्, “मापसे जस्तो हाऽऽ गरेर श्वासबाट मात्रै थाहा हुने होइन यो। लापसेका लागि पिसाब जाँच गर्नुपर्छ, परीक्षण किटहरू चाहियो, प्रयोगशाला प्राविधिकको टोली चाहियो।”

लापसे गरेर सवारी चलाउनु हुँदैन वा त्यस्तो चालकले चलाएको गाडीमा बस्नु हुँदैन भनी मानिसलाई सचेत गराउने उद्देश्यले नमुना स्तरमा मात्रै लापसे परीक्षण गरेको एसपी गिरी बताउँछन्। “गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनु हुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन,” उनी भन्छन्, “यसरी सवारी चलाउँदा आफू त जोखिममा पर्छन् नै, उनीहरूका कारण यात्रु पनि जोखिममा हुन्छन्।”

लागुऔषध रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले प्रहरीसँग मिलेर काम गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय (कोसी प्रदेश)का सचिव अस्मान तामाङ बताउँछन्। उनका अनुसार लागुऔषध नियन्त्रणका लागि विनियोजित बजेट हाल रोक्का छ। “हामीले रोक्का भएको बजेट फुकुवा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमा पत्राचार गरिसकेका छौँ। बजेट प्राप्त हुनासाथ पूर्वनिर्धारित सबै कार्यक्रम सञ्चालन हुनेछन्,” उनी भन्छन्।

कसरी गरिन्छ परीक्षण?

प्रहरीका अनुसार चालकले लागुपदार्थ सेवन गरे वा नगरेको जाँच गर्न मापसे जाँच जस्तो छिटो हुँदैन। लापसे जाँचका लागि ‘मल्टिड्रग युरिन टेस्ट किट’ को प्रयोग गरिन्छ। चालकलाई एउटा सानो डिब्बामा पिसाब भर्न लगाइन्छ र उक्त पिसाबलाई किटमा राखेर १० देखि १५ मिनेटभित्र नतिजा निकालिन्छ। किटले कुन प्रकारको लागुऔषध सेवन गरेको हो भन्ने पनि देखाउँछ।

अहिले परीक्षण गर्दा सबैभन्दा बढी सवारी चालकले गाँजा सेवन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सन्तोष न्यौपाने बताउँछन्। “खुला सीमाको फाइदा उठाउँदै जोगबनी गएर पिल्स र कफ सिरपको प्रयोग गरेको पनि पाइएको छ,” उनी भन्छन्।

प्रहरीलाई लापसे जाँच गर्न निःशुल्क किट वितरण गर्दै औषधि व्यवसायी देशबन्धु ढकाल।

न्यौपाने दुर्घटना न्यूनीकरण गर्न लापसे परीक्षण अभियान तीव्र पारेको बताउँछन्। “मापसे जाँचमा जस्तो सबै चालकलाई नभई शंका लागेका व्यक्तिलाई मात्रै परीक्षण गर्ने गरिएको छ। सबै चालकलाई परीक्षण गर्न आर्थिक रूपमा सम्भव हुँदैन,” उनी भन्छन्।

किनकि, लापसे परीक्षण खर्चिलो छ, एउटै किटको मूल्य करिब ५०० रुपैयाँ पर्छ। नेपाल औषधि व्यवसायी संघ मोरङले सामाजिक उत्तरदायित्वअन्तर्गत विगत पाँच वर्षमा ५०० थान किट प्रहरीलाई सहयोग गरेको संघका अध्यक्ष देशबन्धु ढकाल बताउँछन्।

कानुनी कारबाही र चुनौती

मापसेमा सामान्य जरिवाना र सचेतना दिएर छाडिने भए पनि लापसेमा भने कडा कानुनी प्रावधान छ। कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार लापसे गरेको पुष्टि भए लागुऔषध सेवनको मुद्दा चलाउने गरिएको छ। घिमिरे भन्छन्, “चालकको लापरवाही र नशा सेवन नै दुर्घटनाका मुख्य कारण हुन्। हामीले चेकजाँचलाई अझ कडा बनाउने रणनीति लिएका छौँ। यात्रुको जीवनसँग खेलबाड गर्नेलाई कुनै हालतमा छाडिनेछैन।”

लागुपदार्थ सेवन गरेकाहरूलाई काउन्सिलिङ गर्दै ट्राफिक प्रहरी निरीक्षक सुनील श्रेष्ठ।

लागुऔषध विरुद्धका अभियन्ता सञ्जीव चापागाईं भने राज्य र यातायात व्यवसायी दुवै जिम्मेवार बन्नुपर्ने सुझाव दिन्छन्। “अहिले मापसेभन्दा लापसेको समस्या डरलाग्दो छ। यातायात व्यवसायीले चालक नियुक्त गर्दा नै लागुऔषध सेवन नगर्ने प्रतिबद्धता गराउनुपर्छ,” उनी भन्छन्, “प्रहरीको सक्रियता मात्र पर्याप्त छैन, चालकको नैतिकता र यात्रुको सजगता पनि उत्तिकै जरुरी छ। अन्यथा, नशाको तालमा गुड्ने सवारीले जुनसुकै बेला सडकलाई रक्ताम्मे बनाउन सक्छ।”

के छ कानुनी व्यवस्था?

लागुऔषध नियन्त्रण ऐन, २०३३ ले लागुऔषध सेवन र यसको प्रभावमा गरिने कार्यलाई गम्भीर अपराधका रूपमा व्याख्या गरेको छ। ऐनको दफा १४ मा लागुऔषध सेवन गरेर सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

यस्तै, अफिम, कोकिन वा सोबाट बनेका लागुऔषध (ब्राउन सुगरसहित) सेवन गर्नेलाई एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनको दफा १४ (घ)मा छ।

सञ्जीव चापागाईं।

यस्तै, प्राकृतिक वा कृत्रिम लागुऔषध तथा मनोद्दीपक पदार्थ सेवन गर्नेलाई दुई महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुने ऐनको दफा १४ (झ)मा व्यवस्था छ।

अधिवक्ता पेरिस सुवेदीका अनुसार मोरङ अदालतमा दर्ता हुने मुद्दामध्ये करिब ८० प्रतिशत मुद्दा लागुऔषधसँगै सम्बन्धित हुने गरेका छन्। गत २५ चैतमा मोरङ जिल्ला अदालतमा नौ वटा मुद्दाको पेसी चढेर थुनछेक बहस भएकामा तीमध्ये सात वटा लागुऔषधकै थिए। बहसपछि सातैवटा मुद्दाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। “यसले के देखाउँछ भने, समाजमा लागुऔषधको लत भयावह रूपमा फैलिइरहेको छ। विशेषगरी युवाहरू यसको सिकार भइरहेका छन् र उनीहरू कानुनी कठघरामा उभिनुपर्ने अवस्था बढ्दो छ,” मोरङ जिल्ला अदालतमा लामो समयदेखि वकालत गर्दै आएका अधिवक्ता सुवेदी भन्छन्।

अभियन्ता सञ्जीव चापागाईंका अनुसार विराटनगरनजिकको सीमाक्षेत्र जोगबनीबाट आउने मानिसलाई लक्षित गरी लापसे जाँच गर्ने गरिएको छ। “लापसे जाँचका क्रममा गाँजा मात्र नभई विभिन्न प्रकारका ‘सिन्थेटिक ड्रग्स’ (पिल्स, कफ सिरप) र अन्य अवैध लागुऔषध समेत भेटिएका छन्,” उनी भन्छन्, “यस समस्यालाई जरैदेखि निर्मूल गर्न सम्बन्धित सरकारी निकाय, प्रहरी र यातायात व्यवसायी संघ-संगठनबीच बलियो सहकार्य हुनुपर्छ। यातायात क्षेत्रका सरोकारवालालाई यस विषयमा नियमित अभिमुखीकरण जरुरी छ।”