काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
अ+
अ-

काठमाडौँ। मिटरब्याजपीडित र गृह मन्त्रालयबीच वार्ता सुरू भएको छ।

मिटरब्याजपीडितसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ आफैँ बारा निजगढ पुगेका हुन्।

जनकपुरबाट २५ असारमा पैदल काठमाडौँ हिँडेका पीडितहरू मंगलबार निजगढ आइपुगेका थिए। गुरुङलाई पीडितले आफ्ना ६ बुँदे माग राखेका छन्।

गृहमन्त्री गुरुङले उक्त माग प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाएका छन्। उक्त मागबारे प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवस्तरीय बैठक बसिरहेको छ।

“मुख्यसचिवस्तरीय बैठकले के निर्णय दिन्छ, त्यसपछि यहाँ थप वार्ता अघि बढ्छ,” मिटरब्याजपीडित संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले भनिन्।

मिटरब्याजपीडित ६ बुँदे माग राख्दै सरकारलाई दबाब दिन पैदलै काठमाडौँ हिँडिरहेका थिए। ६ बुँदे माग अन्तर्गत फर्जी लिखत खारेज, मिटरब्याजविरूद्ध शक्तिशाली विशेष ऐन निर्माण, मिटरब्याजविरूद्ध न्यायाधीकरण गठन, सुदखोरको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित हुनुपर्ने छन्।

“न्यायाधीकरण गठन र ऐन निर्माणमा हाम्रो विशेष जोड छ, सोही विषयमा प्रधानमन्त्री कार्यालयमा बैठक चलिरहेको बुझिएको छ,” घिमिरेले भनिन्।