कला
कलाको व्याकरण वा स्थापित भइसकेका मान्यताको कसीमा हेर्दा यी कलामा नमिलेका कैयौँ कुरा देखिन्छन्, तर ‘बौद्धिक अपांगता भएकाले बनाएको चित्र हो यो’ भनेर सोच्दै गर्दा कलाको अर्को पाटोलाई हेर्न सकिन्थ्यो र यसैमा आनन्द लिन सकिन्थ्यो।
‘मिखा क्रिएटिभ बिगिन्स’ संस्थाको आयोजनामा ‘सपनाका पाइला’ शीर्षकको चित्रकला प्रदर्शनी भर्खरै (१४-१८ मार्च २०२६) सम्पन्न भयो, ललितपुरको पाटनस्थित पाटन म्युजियममा। अन्य प्रदर्शनीको भन्दा भिन्न र गहिरो अर्थ बोकेको शीर्षकले नै संकेत गर्थ्यो कि यस प्रदर्शनीमा राखिएका कलाले व्यक्तिविशेषका सपनालाई अभिव्यक्त गरिरहेका थिए।
प्रदर्शित कला झट्ट हेर्दा केटाकेटीले बनाए जस्ता र अपरिपक्व जस्ता देखिन्थे, यद्यपि यी कला बनाउने कलाकार वयस्क थिए, यस अर्थमा कला अलि अनौठा देखिन्थे। कलाको व्याकरण वा स्थापित भइसकेका मान्यताको कसीमा हेर्दा यी कलामा नमिलेका कैयौँ कुरा देखिन्छन्, तर ‘बौद्धिक अपांगता भएकाले बनाएको चित्र हो यो’ भनेर सोच्दै गर्दा कलाको अर्को पाटोलाई हेर्न सकिन्थ्यो र यसैमा आनन्द लिन सकिन्थ्यो। चित्रले जे-जस्ता विषय उठान गरेका थिए, तिनमा कलाकारकै सपना प्रतिविम्बित भएको महसुस हुन्थ्यो। यस अर्थमा यी चित्रले बेग्लै सौन्दर्य छरिरहेका थिए।
समा वज्राचार्य, सन्ध्या सिंह, श्राभा श्रेष्ठ, वर्षा दाहाल, गुञ्जना श्रेष्ठ, रिता दुवाल, निर्वाणा शाक्य, समृद्धि शाक्य र लिजला श्रेष्ठका प्रदर्शित कलामा मानवले मानवलाई गर्नुपर्ने सहयोग अनि राख्नुपर्ने सद्भाव व्यक्त भएका थिए। कलाकार सरिता डंगोलले खोलेको संस्था (मिखा क्रियटिभ बिगिन्स)ले विगत चार वर्षदेखि यस्ता कार्यक्रम गर्दै आएको छ। यसपालिको प्रदर्शनीमा सरिता कलाकारको दोभासेका रूपमा समेत थिइन्।
कलाकारकै भोगाइ र अनुभव
प्रदर्शित कलामा कलाकारले बाँचिरहेको जिन्दगीका पाटा झल्किएका थिए। कलाकारले सपनामा उनेका खुसीका क्षण, कल्पनामा बुनेका इच्छा र आकांक्षालाई चित्रमा महसुस गर्न सकिन्थ्यो।
समा वज्राचार्यले हरियो नदीमाथि खैरो रङका कागजका डुंगा बनाइन् र आकाशमा हवाईजहाज उडिरहेको दृश्य देखाइन्। उनका लागि आकाशको रङ पहेँलो र बादलको रङ नीलो छ। उनले आफ्नो मनका रङलाई चित्रमा पोखेको देखिन्थ्यो।

लिजला श्रेष्ठले आकाशमा उड्दै र रमाउँदै गरेका कीराफट्यांग्रा बनाएकी छन्। पातैपातको थुप्रोमा बसेको फट्यांग्राले सिधा अर्थमा केही भन्न खोजिरहेको देखिँदैनथ्यो, यद्यपि यस चित्रमा लिजलाका मनका भावनालाई राम्रैसँग पढ्न सकिन्थ्यो।
गुञ्जना श्रेष्ठले पहेँलो र रातो मिश्रित रमाइलो हाँस बनाएकी छन्। यस्तै, सन्ध्या सिंहले फूलहरूमाथि हाँस आनन्दसँग पौडिरहेको देखाएकी छन्। पानीमाथि ठुल्ठूला हरिया पात अनि गुलाबी रङका कमलका फूल त्यसै पनि मनोरम देखिन्थे। त्यसमाथि हाँस खेल्दै गरेको देख्न सकिन्छ, यस चित्रले दर्शकलाई प्रकृतिसँग जोडिएको एउटा उन्मुक्त सपनाको संसारमा पुर्याउँछ। सपना त जोकोहीसँग हुन्छ, तथापि यी कलाकारका सपना विशेष प्रकारका छन्।

यी कलाकारले मनभित्रका सपना र चाहनालाई चित्रमार्फत व्यक्त गरेका छन्। कलाको शीर्षक र कलाकारबारे बुझेपछि यस्तो लाग्थ्यो, यी कलाकारका लागि क्यानभास नै सपना सजाउने स्थान हो। व्यक्त गर्नुपर्ने थुप्रै भावना उनीहरूभित्र गुम्सिएका छन्, किनकि उनीहरू आफ्ना भावना शब्दमा व्यक्त गर्न सक्दैनन् र कतिपयले कम सुन्छन् वा सुन्नै सक्दैनन्। उनीहरूले आफ्ना सुख र दुःखलाई कलामार्फत व्यक्त गर्न खोजेको देखिन्थ्यो। मूलतः उनीहरूले क्यानभासमा रमाइलो संसार कल्पेका थिए।
चित्रमार्फत भावना व्यक्त गर्दा उनीहरूले मानसिक रूपमा सहज महसुस गर्दा रहेछन्। यसैले उनीहरूको कामलाई ‘आर्ट थेरापी’ (कला उपचार)का रूपमा हेर्ने चलन छ। प्रदर्शनी चलिरहँदा र दर्शकले कला नियालिरहँदा यी कलाकार असाध्यै खुसी देखिन्थे। ‘आर्ट थेरापी’ लाई प्रायः सबै रोगमा र विशेषगरी मानसिक रोगका लागि प्रयोग गर्ने अभ्यास छ। यसकारण पनि यो कला प्रदर्शनी विशेष बनेर आयोजना भएको थियो।

सहभागी कलाकारमध्ये मैले सन्ध्यालाई सोधेको थिएँ, ‘यो के बनाएको?’ उनले के बुझिन् थाहा छैन, तर हातको इसाराले खुसी हुँदै केही बताइन्। पछि कलाकार सरिता डंगोलले उनको अभिव्यक्तिलाई शब्दमा उल्था गरिदिइन्। सन्ध्याको भनाइ रहेछ, ‘मैले जलरङ माध्यमबाट यो चित्र बनाएकी हुँ।’ उनी पारदर्शी जलरङसँग यति रमाएकी थिइन् कि चित्रको अर्थबारे उनलाई खासै चासो थिएन; जलरङको बहाव र त्यसको कोमलतामा उनी रमाएको देख्दा लाग्थ्यो, उनका लागि चित्र कोर्नु नै एक प्रकारको ‘आर्ट थेरापी’ हो।
शान्त र खुसी भावमा उभिइरहेका यी कलाकारले मौन भाषामा यही भनिरहेझैँ लाग्थ्यो, ‘भनिदिनुहोस् न, मैले कस्तो चित्र बनाएँ?’
यस कार्यक्रमको उद्घाटनको दिन समूहगत कला प्रदर्शनी मात्र भएन, नृत्य प्रदर्शनसमेत भयो, ‘र्याम्प वाक्’ भयो, अनि अतिथि कलाकारबाट विशेष प्रस्तुति पनि भए। विशेषगरी राज सायमीको गायनसँगै सेक्सोफोन कलाकार मनीषमान महर्जनबाट गज्जबको प्रस्तुति भयो। त्यो सांगीतिक प्रस्तुति कला हेर्न आउने दर्शकका लागि मात्र थिएन, सहभागी कलाकारलाई रमाइलो महसुस गराउनका लागि समेत थियो।
अर्कातिर चित्र हेर्न आउने भावकलाई समेत सांगीतिक प्रस्तुतिले मनोरञ्जन दिइरहेको थियो। भावकले कलालाई प्रशंसा गरिरहेको सुनिन्थ्यो, कतिपयले कला किन्न खोजिरहेको देखिन्थ्यो। बिक्री भएको कला तुरुन्तै लैजाने हुँदा त्यो स्थान रिक्त हुन्थ्यो। खाली ठाउँ देखेपछि कसैले ‘यहाँ खाली किन?’ भन्ने भाव व्यक्त गर्थे, त्यो भाव बुझेर कलाकार स्वयं अगाडि आउँथे र इसारामै भन्थे, ‘यो मेरो चित्र थियो, बिक्री भएर गयो।’ यो सन्देश दिइरहँदा उनीहरू असाध्यै खुसी देखिन्थे। प्रदर्शनीका क्रममा बिक्री भएका कलालाई प्रदर्शनी नसकिँदासम्म राख्ने चलन हुन्छ। यहाँ भने यी कलाकारको खुसीका लागि बिक्री भएका कलालाई तत्कालै लैजान दिइएको रहेछ।
शारीरिक वा मानसिक अपांगता भएकै कारणले वा महिला भएकै कारणले हेपिनु वा अवहेलित हुनु हुँदैन भन्ने एउटा गहकिलो भाष्य निर्माण गर्नु पनि यो कार्यक्रमको लक्ष्य रहेको देखियो। यी महिला कलाकार आममान्छेभन्दा फरक थिए र यो फरकपनलाई हटाएर ‘हामी सबै एकै हौँ’ भन्ने भावना कायम गर्न पनि यो कार्यक्रम भएको रहेछ।

बौद्धिक अपांगताले पढ्न, लेख्न, सम्झन वा सिक्न गाह्रो हुने अवस्थालाई जनाउँछ। बुझिने भाषामा भन्दा यसलाई डाउन सिन्ड्रोम, अटिज्म जस्ता अवस्थासँग जोडेर हेर्ने गरिन्छ। यस्ता समस्या भोगिरहेका महिलालाई समाजको मूल प्रवाहमा जोड्न र उनीहरूलाई पनि आममानिससरह महसुस गराउन यो कार्यक्रम आयोजना गरिएको रहेछ।
कलाकार सरिता डंगोलले ज्वागलस्थित आफ्नो ‘क्लासिक कला दीर्घा’ मा यी कलाकारलाई कला सिकाउँदै आएकी रहिछन्। यी युवतीलाई आयमूलक कला वा सीपसँग जोड्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको रहेछ। कला कोर्ने प्रशिक्षण लिँदै गर्दा उनीहरूले केही कला कोर्न भ्याएका थिए, तिनै कलालाई प्रदर्शनीमा राखिएको हो। आफूले कोरेका चित्रलाई अरूले चासो दिएको र किनेको देख्दा उनीहरू खुसी देखिन्थे। यी कलाकारमा आत्मविश्वास जगाउन मात्र होइन, बाह्य मान्छेसँग वा बाहिरको समाजसँग उनीहरूलाई घुलमिल गराउन पनि यो कार्यक्रम सफल देखिन्थ्यो।
कलाबारे कसैले चासो दिँदा यी कलाकारले हातको इसाराले आफ्ना अभिव्यक्ति दिन्थे। शान्त र खुसी भावमा उभिइरहेका यी कलाकारले मौन भाषामा यही भनिरहेझैँ लाग्थ्यो, ‘भनिदिनुहोस् न, मैले कस्तो चित्र बनाएँ?’
कला अवलोकन गरिरहँदा मैले हातको इसाराले ‘अति राम्रो’ भनिरहेको थिएँ, उनीहरू औधी खुसी देखिन्थे।
यो प्रदर्शनी पाटन म्युजियममा हुनुले बेग्लै अर्थ राखेको थियो। यहाँका पुरातात्त्विक कला, सम्पदा, मठमन्दिर, अर्थात् वास्तुकला अवलोकन गर्न आन्तरिक र बाह्य पर्यटक आउने गर्छन्। थुप्रै स्वदेशी-विदेशी दर्शक उनीहरूको कला हेर्न आएका थिए, उनीहरूले आफ्ना प्रतिक्रिया दिएका थिए, अनि कतिले चित्र किनिदिएको पनि देखिन्थ्यो।
(मल्ल कलाकार तथा कला समीक्षक हुन्।)